PahiloPost

Dec 11, 2018 | २५ मंसिर २०७५


'अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ' : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव  


उमेश श्रेष्ठ

'अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ' : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव  

आर यु मिस्टर रञ्जित?

अमेरिकाको बिभर्टनस्थित घरमा वर्दीधारी प्रहरीले डोरबेल बजाउँदा ५१ वर्षीय शुद्धोदन रञ्जित गाडीबाट ५/६ मिनेट टाढा पर्ने आफ्नो स्कूलमा तेक्वान्दो सिकाउँदै थिए। 

घरमा अङ्ग्रेजी बोल्न नजान्ने उमेर ढल्किसकेका सासु र ससुरामात्र थिए। घरमा कसैले घण्टी बजाए अटोमेटिक मोबाइलमा अलर्ट र भिडियो कल आउने बनाइएको थियो। उताबाट आफैलाई खोजेको आवाज आएपछि उनले कारण सोधे।   

'वि ह्याभ अरेस्ट वारेन्ट फर यु'

उनी झसङ्ग भए। केका लागि? उनले बुझ्न खोजे। तर उताबाट कठोर आवाज आयो, हामी अहिले भन्न सक्दैनौँ। तपाईँ आफै आउनु हुन्छ कि हामी तपाईँ भएको ठाउँमा आउँ?

२३ वर्षको अमेरिका बसाइमा एउटा ट्राफिक नियम उल्लंघनको चिट पनि नपाएका रञ्जित यो के भइरहेको छ बुझ्नै सकिरहेका थिएनन्। घर पुगेर 'सरेन्डर' गरे। साइरनवाला गाडीमा राखेर प्रहरीले थुनामा पुर्‍यायो। 

पोर्टल्यान्डमा राम्रै चलेर नामसहित दाम पनि कमाइरहेका युएस वर्ल्ड क्लास तेक्वान्दो स्कूलका सञ्चालक शुद्धोदन रञ्जितलाई नोभेम्बर ९, २०१७ बिहीबारको त्यो दिन बज्रपात सरह लागेको थियो। तर अझ कठिन दिन त बल्ल पो सुरु हुँदै थिए जसबारे उनले सपनामा पनि सोचेका थिएनन्। 

१५ वर्ष मुनिका तीन किशोरीहरुले उनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। कानुनी रुपमा उनलाई १५ वटा चार्ज लागेको थियो। पछि अर्का दुई आरोपी थपिएपछि कूल १९ वटा चार्ज थियो जसमध्ये एउटामात्रै दोषी साबित भएको भए ७५ महिना जेलमा बस्नुपर्थ्यो। 

उनलाई लागेको आरोप यो राज्यको 'मेजर ११' अपराध भित्र पर्थ्यो। मतलब, न न्यायाधीशले सजाय तोकिएको भन्दा कम दिन सक्ने, न राम्रो व्यवहार देखायो भन्दै घटाउन नै मिल्ने। 

दुई दशकभन्दा लामो समय अमेरिकामा बसेर राम्रै आर्थिक हैसियत र प्रसिद्धि कमाएका थिए। तर ढाडस दिनुपर्ने, अरु बेला नजिकका साथीभाइहरु यो घटनापछि टाढिँदै गए। फोनसम्म गरेनन्। 

उनले नाम चलेका टप क्रिमिनल डिफेन्स लयरहरुलाई सम्पर्क गरे। सबैले एउटै जवाफ दिएर निराश पारे, 'नो होप'। बच्चाहरुसित यौन दुर्व्यवहारको संवेदनशील विषय। १९/१९ वटा चार्ज ! अहँ। हामी केही गर्न सक्दैनौँ। 

'नेपाली वकीलहरुले त मलाई नेपाल जाऊ भन्नेसम्मका सल्लाह दिए,' उनी सम्झिन्छन्, 'भागेर!'

***

अहिले भाइमान नेपालमै छन्। शुद्धोदन उनको टोलमा भाइमान नामले बढी चिनिन्छन्। 

'मलाई एकरत्ती पनि विश्वास थिएन मेरा श्रीमानले त्यसो गर्नुहुन्छ भनेर,' काठमाडौँको जैसिदेवल नजिकैको किलाबहाल चोकको पुरानो घरको एउटा कोठामा शुद्धोदनसँग एउटै सोफामा बसेकी रीता रञ्जित  दृढ विश्वासको आवाजमा बताउँदै थिइन्। 


१८ वर्ष नेपाल प्रहरीको सेवामा रहेकी रीता पनि अमेरिकामा तेक्वान्दो सिकाउँछिन्। तेक्वान्दोबाटै उनीहरुको लभ परेको थियो। जोडी नै नेसनल च्याम्पियन भइसकेका। रीता त झन् एसियन मेडलिस्ट पनि। पाँच वर्षदेखि अमेरिकामै हुर्केकी छोरी स्मीता पनि तेक्वान्दो सिकाउँछिन्। ब्ल्याक बेल्ट सबै। तेक्वान्दो नै उनीहरुको जीवन। तर तेक्वान्दोकै कारण यस्तो दिन पनि भोग्नुपर्‍यो। । 

तिहारमा जन्मथलो फर्किएको यो परिवार हामीलाई आफूले जिन्दगीमा भोगेको सबैभन्दा त्रासदपूर्ण क्षणको बयान गर्दै थिए।

धरौटीमा छुट्दा उनको खुट्टामा जिपिएस रिङ जोडिएको थियो। त्यो लगाएपछि उनी कहाँ छन् ठ्याक्कै थाहा हुने। २४ सै घण्टा मनिटरिङ। 'बच्चाहरु हुने स्कूल, पार्क, स्टोर एरियाको १०० मिटर नजिकै गयो कि त अलर्ट पुगिहाल्ने', उनी सुनाउँछन्, 'धन्न मेरी छोरी ठूली भइसकेकी थिइन्। १८ वर्षभन्दा कम भएको भए घरमै बस्न नपाउने हुन्थ्यो।'

दुई पटक धरौटीमा छुटेका शुद्धोदनलाई तेस्रो पटक धरौटीमा छाड्न अस्वीकार गरिएको थियो। अदालतमा सुनुवाईका लागि लग्दा पहेँलो रङको जम्पसुट लगाउन दिइएको थियो। दुई वटा हातमा हत्कडीमात्र हैन जिउमा समेत चेनले बाँधिएको थियो। दुईवटै खुट्टामा पनि चेन बाँधिएको थियो। 'अलि लामो पाइला चाल्न खोज्यो भने, घाउ हुने', उनले खुट्टा देखाउँदै भने, 'अझैसम्म घाउ छन्।'

सांकेतिक तस्बिर

दुई जना पुलिस दायाँबायाँ थिए। चेन लतार्दै बिस्तारै उनी अदालतको इजलास कक्षमा प्रवेश गरिरहेका थिए। श्रीमती रीता सोफामा बसेकी थिइन्। पछाडिबाट श्रीमान आइरहेको उनलाई थाहा थिएन। जसै दुई आमने सामने भए, आँखा जुध्यो। 

'पहिलो पटक मलाई त्यस्तो हालतमा देख्दा उनी त डङ्ग्रङ्गै ढलिन्,' शुद्धोदनले सुनाए।

दुःख देख्न नसकेर बेहोस भएकी थिइन्। शायद् अझै पीडा हुन्छ। त्यसैले त श्रीमानले यो कुरा सुनाइरहँदा श्रीमतीको आँखा रसाउन थालिसकेको थियो। 


***

आँखा त त्यतिबेला पनि रसाएको थियो, जब मुद्दा चलेको एक वर्षपछि  वासिङटन काउन्टी कोर्टमा जुरीले अस्ति अक्टोबरमा  सबै आरोपमा उनलाई निर्दोष भन्दै सफाई दियो। 

'मेरी वकिलको आँखाबाट आँसु बगिरहेको थियो। मलाई 'हग' गरेर छाड्दै छाडिरहेकी थिइनन्,' शुद्धोदनले सुनाए, 'मभन्दा पनि खुसी उनी पो देखिइन्।' 

जो बेह्याम। १० वर्षसम्म त्यही अदालतमा डिए (सरकारी वकील) को काम गरिसकेकी र भर्खर मात्र क्रिमिनल डिफेन्सको काम सुरु गरेकी। पहिलो केस नै उनको। १९/१९ वटा चार्ज लागेको भएर बेह्यामले सुरुदेखि नै रन्जित परिवारलाई भन्दै आएको थियो- 'म सजाय घटाउनेसम्म प्रयास गर्छु। तर धेरै आशा नगर्नुस्।' 

लागेका आरोपहरु प्रमाणित भएको भए उनी जीवनभर जेलमै रहन्थे। त्यसैले उनलाई दुई वटा विकल्प थियो- मेरो गल्ती छँदै छैन भनेर आफ्नै अडानमा कायम रहने। वा, आरोप स्वीकार गर्ने। त्यसो गरे बरु सजाय कम गराउन सकिन्थ्यो भनेर उनलाई प्रस्ताव नआएको हैन। एक पटक त उनकै छोरीले समेत 'ड्याडी तपाईँ किन जिद्दी गर्नुहुन्छ, वकीलहरुले नै त्यस्तो सल्लाह दिइरहेका छन्' भन्दा उनले नकारे र साथमा हकारे, अहँ छोरी, मैले केही गलत गरेकै छैन भने म कसरी गल्ती स्वीकार्नु?

'मलाई पनि थाहा छ ड्याडी तपाईँले त्यसो गर्नुभएको छैन। तर यहाँको नियमै त्यस्तो छ,'  छोरीले भनिन्।  

तर उनले मानेनन्। भने, 'नियम छैन भने नियम बनाउनु पर्‍यो। मैले केही गरेकै थिइनँ। नखाएको विष त लाग्दैन नि।' 


रन्जित परिवारले बताए अनुसार काम गर्दै गएपछि बेह्यामलाई शुद्धोदन निर्दोष भएको विश्वास भयो। तर यस्ता केसलाई अदालतले कसरी ह्यान्डल गर्छ भनेर पहिलेदेखि नै त्यहीँ काम गरेकी उनलाई राम्रैसँग थाहा थियो। त्यसैले उनले सुरुमै भनेकी थिइन्- जित्न असम्भव बराबर छ। 

असम्भवलाई सम्भव बनाउन अगाडिको  'अ' मात्र हटाइदिए पुग्छ तर अमेरिकामात्र हैन विश्वभर यौन दुर्व्यवहारलाई गम्भीरतापूर्वक लिने मीटु लहर चलिरहेको बेला कसरी यो सम्भव भयो त?

'चमत्कार!'

शुद्धोदनले थपे, 'भगवानप्रतिको विश्वास'

***

अरु प्रमाण नहुने, पीडितको भनाईलाई नै प्रमाण मानिने यस्तो केसमा अदालतको जुरीले वादी र प्रतिवादी दुवैको 'नियत' को निर्क्यौल गरेको रहेछ।  

शुद्धोदनका अनुसार उनलाई आरोप लगाउने परिवार उनको पैसा देखेर लोभिएको थियो। 'पहिलो आरोप लगाउने दुई जुम्ल्याहा छोरीहरुको परिवार हाम्रो परिवारसित नजिक थियो। छोरीहरुलाई तेक्वान्दो सिकाउँदा सिकाउँदै उनीहरु मेरो बिजनेसमा इन्भल्भ हुन खोजेका थिए, पेपरवर्क गर्ने, ट्याक्स फाइल गर्ने आदिमा सघाएका थिए।'

पछि आफ्ना सबै आर्थिक कारोबार उनीहरुलाई देखाउन नहुने सल्लाह परिवारबाटै पाए। त्यसपछि त्यसो गर्न रोके। 'त्यतिबेला ती छोरीका अभिभावकहरु बेखुशी देखिएका थिए', उनी सम्झिन्छन्।

यो सन् २०१५ को कुरा थियो। त्यसपछि उनीहरुले छोरीहरुलाई पनि तेक्वान्दो सिकाउन पठाएनन्। 

त्यसको दुई वर्षपछि त्यही नौ वर्षका जुम्ल्याहा दिदीबहिनी र उनीहरुको एक जना साथीले तेक्वान्दो सिकाउने क्रममा गोप्य अंगमा छोएको आरोप लगाए। सात वर्षकी जुम्ल्याहाकै साथी भने उनको विद्यार्थी पनि थिएन। 

लाखौँ डलर धरौटी तिरेर बाहिरै बसी मुद्दा लड्ने अनुमति पाउनुअघि दुई हप्ता उनी थुनामा बस्नु पर्‍यो। 

त्यसको ४ महिनापछि घरमा टिभी हेर्दै गर्दा फेरि घरमा पुलिस आएर भन्यो, हामीसित एरेस्ट वारेन्ट छ। 

फेरि थुनामा बस्नु पर्‍यो दुई हप्ता। 

यो पटक दिदीभाइले आरोप लगाएका थिए। पहिलो पटक पक्राउ परेपछि डिटेक्टिभहरुले टिभीमा उनको अनुहार नै देखाएर अरु कोही पीडित भए सम्पर्क गर्नू भनी सूचना बजाएको थियो। 

'त्यही हेरेर मुद्दा जिते हर्जाना रकम पाइन्छ भनेर होला उनीहरु पनि आए।'

'त्यतिबेला पाँच वर्षको भाइ सन् २००७ को एक महिना सिक्न आएका रहेछन्। बेल्ट बाँध्ने क्रममा उनीहरुले बेल्ट बाँध्न नजान्ने हुनाले मैले बाँधिदिँदा 'बट' मा छोयो रे। आरोपै यही थियो', उनी भन्छन्। 
 
फेरि धरौटी तिरेर दुई हप्तामा बाहिरिए उनी। 

तर तेस्रो पटक भने उनी धरौटी तिरेर निस्कन पाएनन्। यो पटक उनलाई देश छाडेर भाग्न लागेको आरोप लगाइएको थियो। 'मेरो पासपोर्ट तिमीहरुसँग छ, मेरो खुट्टामा जिपिएस छ, म कसरी भाग्न सक्छु', उनले अदालतमा तर्क गरे, 'अमेरिका मेरो देश पनि हो। मेरो परिवार, मेरो बिजनेस यहीँ छ। म देश छाडेर कहाँ जान्छु।' तर यस पटक उनको हारगुहारले केही काम दिएन। 

उनले गाडीको इन्स्योरेन्स एउटा कम्पनीबाट अर्कोमा सार्न खोजेका थिए। यसलाई नै उनी देश छाडेर भाग्न खोजेको प्रमाणका रुपमा लिइयो। उनी दुई महिना जेल बसे।

'सानो सेल। त्यहीँ बाथरुम, सिमेन्टको खाट। सुत्ने उठ्ने टाइम निश्चित। क्यालोरीमा हिसाब गरेर खाना खुवाउने', उनले ठट्टा गरे, 'दुई महिनामा बीस पाउन्ड घटेँ म। निस्कँदा त ह्यान्डसम भएर निस्केँ।'  

अर्को एउटा फाइदा पनि भयो उनलाई। स्कूल कलेजमा किताब पढ्नै नसक्ने उनी। किताब पढ्यो कि निद्रा लाग्ने। 'त्यहाँ बसेर मैले २०० भन्दा बढी किताब पढेँ', सुनाए, 'अरु केही कामै थिएन।'

सबभन्दा बढी फाइदा त उनलाई अमेरिकाको न्याय प्रणालीबाट भयो। अमेरिकामा नेपालमा जस्तो प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा चलाउने र मुद्दामा सुनुवाई गरेर न्यायाधीशले फैसला गर्ने नहुने रहेछ। 

त्यहाँ प्रहरीको अनुसन्धान हेरेर अपराधमा चार्ज गर्न ठीक हो कि हैन भन्ने निर्णय जुरीले गर्छ। जुरीमा नागरिकहरु हुन्छन्। वासिङटन काउन्टीमा बस्ने योग्य अमेरिकी नागरिकहरुबाट छानिएका १२ जना उनको केसमा जुरी बसेका थिए। नागरिकलाई न्याय प्रणालीमा सहभागी गराउने यस्तो व्यवस्था नेपालमा छैन। 'नेपालमा भएको भए के हुन्थ्यो भन्न सकिन्न', उनी भन्छन्, 'किनभने मेरो केस हेर्ने एक जना न्यायाधीश हैन १२ जना जुरी थिए। जसलाई मैले मेरो निर्दोषितामा विश्वस्त बनाउन सकेँ।'

१२ जना जुरीमा ९ जना महिला। तीन जना मात्रै वृद्ध पुरुष। 

'ओह माइ गड', उनी फेरि अत्तालिए, 'महिलाको त महिलाप्रति सिम्प्याथी होला।' त्यसो त जुरी ट्रायल हुँदा सबै अमेरिकी नागरिक हुने र आप्रवासीहरुप्रति उनीहरु बायस हुने, तिमी जित्दैनौ भनेर उनलाई पहिल्यै हतोत्साही बनाउन खोज्ने धेरै थिए। 

उनको सत्य नै उनको ठूलो हतियार भयो। उनले हैन भनेर ढाँटेनन्। 'सानो सानो बच्चाहरुको मैले लुगा लगाइदिँदा, बेल्ट बाँध्दा खेरी ती अङ्गहरुमा टच भयो होला,' उनले ट्रायलमा भनेको सम्झिएर सुनाए, 'यदि मैले त्यसो गरेको भए पनि ड्याट्स पार्ट अफ माइ जब।' 

उनले सिकाएका विद्यार्थीहरु, उनीहरुको परिवार डाक्टर, इन्जिनीयर अझ गभर्नरसम्म पनि छन्। धेरै प्रतिष्ठितहरुले उनको पक्षमा बयान दिए। उता आरोप लगाउनेहरुको पक्षमा बयान दिनेहरु कम भए। 'पीडितले नै राम्रोसँग बयान दिन सकेन। सिकाएको गलत कुरा कसरी सही भनोस्', उनी भन्छन्। 

सरकारी वकिलले उनलाई अँठ्याए- हो कि हैन भनेरमात्र जवाफ दिनुस्। उनले ठूलो स्वरमा प्रतिवाद गरे- 'म किन हो कि हैन मात्र भनूँ? हो भन्दा पनि त्यसमा केही कारण हुन्छन्, हैन भन्दा पनि कारण हुन्छन्।'

दुई तर्फको बहस सुनेपछि १२ जनामा १० जना जुरी सदस्यले उनले गल्ती नगरेको निर्णय दिए। नतिजा- मुद्दा चलेको एक वर्षपछि सबै १९ वटै आरोपमा सफाई। 

उनलाई अलिकति चित्त दुखाइ छ यताको मिडियाप्रति, 'उता त सबै क्लियर छन्। यता चाहिँ मान्छेले कस्तो आरोप हो बुझेका छैनन्। १९ वटा आरोप हो, यताकाले १९ जनालाई बलात्कारै गरेको, नचाहिने काम गरेको खत्तम मान्छे भन्ने ठानिरहेका छन्।'

थपे, 'अरुलाई पर्दा सधैँ मैले हेर्थेँ। तर आफैलाई पर्दा यति डाउन भएँ कि म मेरो त लाइफ एन्ड डेथको सिचुएसन थियो।'

सबै कुरा आफ्नो प्रतिकूल हुँदा पनि आफ्नै अडानमा अडिग रहन उनलाई कुन चिजले यस्तो शक्ति दियो त?

उनको मुखबाट बोली फुट्नुअघि नै सँगै बसेका उनका दाइ हरिश्वरमान रञ्जितले प्वाक्क भनिहाले, 'यो सानैदेखि यता पनि यस्तै जिद्दी हरामी थियो।' 

रीताले थपिन्, 'एकदम ढीठ के !'

'विल पावर गजब हो। हामी भए लर्‍याकलुरुक्क पर्थ्यौँ होला', अलि टाढा बसेका भान्जा सुमन पनि सुनिए।

'एक वर्षसम्म मेरो जीवन नर्क जस्तै भो। मेरोमात्र हैन (श्रीमतीलाई देखाउँदै) उनीहरुको पनि,' अनुग्रहित आवाज थपियो, 'भगवान छ भनेर मलाई विश्वास भयो।'

त्यही भगवानलाई 'थ्याङ्क यु' भन्न नेपाल आइपुगेका हुन् उनीहरु। कूलदेवता, अजिमा, पशुपतिनाथ आदि ठाउँमा लाखबत्ती बाल्ने भाकल। तर अहिले चार नारायण दर्शन गर्ने कात्तिक महिनाको चतुर्मास चलनले छेकेको छ। 'यो बेला भाकलको काम गर्न हुन्न रे,' रीताले भनिन्, 'त्यसैले अमेरिका फर्कने टिकटको डेट सारेर यतै बसिरहेका छौँ।'
 



'अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ' : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव   को लागी ४ प्रतिक्रिया(हरु)

arjun bhandari [ 2018-11-23 12:12:21 ]
Good on you sir. Good luck as well for your future. Baru aba Defamation ra compensation ko case po halne ki ani thaha pauchan testa bhusya harule.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Chandra Khaki [ 2018-11-17 20:56:27 ]
एकदमै मार्मिक घटना । नखाएको विष झन्डै खानु परेको यो दुःखद घटनामा पीडित रन्जीतजी प्रति मेरो हार्दिक समर्थन र सहानुभूति । के त्यस्तो नक्कली आरोप लगाएर फसाउन खोज्नेहरुबाट भएको मानसिक, शारीरिक र सामाजिक क्षतिका विरुद्ध कुनै कानूनी कारवाही हुन सक्दैन? यसबारेमा रन्जीतजीहरुको कानूनी अधिकार के रहन्छ र तत्सम्बन्धी के भइरहेको छ भन्नेबारेमा पनि उल्लेख भएको भएर अझ राम्रो हुने थियो ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


सुरेश [ 2018-11-17 19:23:04 ]
समाचार पढेर धेरै खुशी लाग्यो।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Purushotam Ranjit [ 2018-11-17 12:52:49 ]
Welcome my brother Bhai juju. Juju is always right.God is always both sides and bless u. Actually I don't know what happen to u. When I saw a news from facebook I was socked . Its the example of right is right and beleave of God.
Your Childhood Nandhaya , Puru.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट