PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'फेस्टिभल ब्रेक'पछि ए डिभिजन लिग शनिवारदेखि सुरु हुँदै, मनाङ र एनआरटी तथा आर्मी र च्यासल भिड्ने



पहिलोपोस्ट

'फेस्टिभल ब्रेक'पछि ए डिभिजन लिग शनिवारदेखि सुरु हुँदै, मनाङ र एनआरटी तथा आर्मी र च्यासल भिड्ने

काठमाडौँ : 'फेस्टिभल ब्रेक' पछि पल्सर सहिद स्मारक ए डिभिजन लिग शनिवारदेखि पुन: सुरु हुँदैछ। नेपालीहरुको ठूला चाडहरु दशैँ, तिहार अनी छठको अवधीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका खेलहरु स्थगित गरेको थियो।

त्यसअघि गत असोज १३ गते सुरु भएको लिगको पहिलो चरणका ७ खेल सम्पन्न भइसकेको छ। त्यतिबेला नेपालको राष्ट्रिय टिमले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा भाग लिएकाले पनि बीचमा केही दिन लिगका खेलहरु रोकिएका थिए।

समग्रमा भन्दा साढे चार वर्षपछि आयोजना भएको ए डिभिजन लिग तेस्रो पटक सुरु हुँदैछ। एन्फाले सुरुमा बनाएको खेल तालिकाको मितिमा केही हेरफेर गर्दै मंसिर १ गतेदेखि दवस्रो चरण सुरु गर्ने गरी खेल तालिका सार्वजनिक गरिसकेको छ।

शनिवार मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) तथा त्रिभुवन आर्मी र च्यासल युथ क्लबीच खेल हुनेछ। दुवै खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछ। मनाङ र एनआरटीबीचको पहिलो खेल ११ बजे र आर्मी र च्यासलबीचको खेल साढे २ बजे सुरु हुनेछ।

लिगको उद्घाटन खेलमै २-२ गोलको बराबरी खेलेका एनआरटी र आर्मी पहिलो जितको खोजीमा छ। यस्तै पहिलो खेल जितेको मनाङ त्यसलाई निरन्तरता दिने दाउमा छ भने च्यासल पनि पहिलो जितको खोजीमा छ। च्यासलले पनि पहिलो चरणमा बराबरी खेलेको थियो।

मनाङले पहिलो चरणमा ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले पारजित गरेको थियो। च्यासलले भने मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

राष्ट्रिय टोलीका अधिकांश खेलाडीहरु रहेकाले पनि आर्मी र च्यासलबीचको खेललाई महत्वपूर्ण खेलको रुपमा हेरिएको छ। च्यासलले बिहीवार नवलपरासीमा सम्पन्न भएको राइनो गोल्डकपमा पुलिसलाई हराएर उपाधि जितेको थियो। यस्तै च्यासलले जापानमा रहेका पूर्व राष्ट्रिय खेलाडी सन्तोष साउखलालाई समेत ए डिभिजनका लागि क्लबमा भित्र्याएको छ।

पहिलो चरणमा मनाङसँगै थ्री स्टार, संकटा र विभाऊय टोली नेपाल पुलिसले मात्र जित हात पारेका थिए।

यसैगरी मङ्सिर २ गते मछिन्द्र क्लब र नेपाल पुलिसबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच दोस्रो खेल हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।

मङसिर ३ गते जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेण्डस् क्लब र विभागीय टोली एपीएफबीच दोस्रो खेल हुनेछ। दुवै खेल एन्फा मैदानमा हुनेछ। सोही दिन सरस्वती क्बल र हिमालयन शेर्पाबीच हल्चोक मैदानमा दोस्रो चरणको अन्तिम खेल हुनेछ। त्यसपछि दुई दिन रेस्ट डे रहनेछ र तेस्रो चरणको खेलहरु मङ्सिर ६ गतेदेखि शुरु हुनेछ।

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू मनाङ, थ्री स्टार, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र , सरस्वती युथ, च्यासल युथ, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोविन लिगमा हुने लिगमा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले नगद ५० लाखसहित ए डिभिजन लिग ट्रफी जित्नेछ। यस्तै उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौँले सात लाख र छैटौँले पाँच लाख पाउनेछन्। यस्तै ‘फेयरप्ले’ टिमले नगद एक लाख पाउनेछन्। प्रत्येक खेल जितेवापत एन्फाले विजयी क्लबलाई ५० हजार तथा ‘म्यान अफ दि म्याच’ खेलाडीलाई १० हजार दिनेछन्। खेल बराबरी भएमा भने दुवै क्लबले समान १५ हजार पाउनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell