PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दक्षिण कोरियालाई बन्द गराउने एउटा परीक्षा : किन रोकियो हवार्इ उडान?



पहिलोपोस्ट

दक्षिण कोरियालाई बन्द गराउने एउटा परीक्षा : किन रोकियो हवार्इ उडान?

काठमाडौं उपत्यकामा हुने जामले तपाईं परीक्षा दिन समयमा नपुग्न सक्नुहुन्छ। त्यसैले तपाईं कुनै परीक्षा दिन जाँदै हुनुहुन्छ भने समय भन्दा अघि नै निस्कने प्रयास गर्नुहुन्छ। यस्तै कहिलेकाहीँ बन्द, चक्काजामले त परीक्षा दिन जाने विद्यार्थीहरु हैरान नै हुन्छन्। कतिले त परीक्षा नै छुटाउँछन्। 

केही महिनाअघि भएको बिमस्टेक सम्मेलनमा भीभीआइपीको सवारीका कारण घण्टौंसम्म बाटो बन्द नै गरियो। हवार्इ उडानहरू ठप्प पारिए। स्नातकोत्तर र स्नातकको परीक्षा दिन गइरहेका विद्यार्थीहरुले निकै सास्ती बेहोर्नुपर्‍यो त्यतिखेर। 

तर, हिजो बिहीबार दक्षिण कोरियामा पनि हवाई उडानहरु रद्द गरिए। बाटोमा कम मात्रामा सवारी साधन चल्यो। यो सबै कुनै भीभीआइपीका लागि बाटो खुला गर्न भएको थिएन।  

दक्षिण कोरियामा फलामे ढोका मानिने एक प्रवेश परीक्षामा विद्यार्थीहरु सहजै सहभागी हुने वातावरण बनाउन विमान बन्द र सडक खुला गरिएको थियो।  

***

प्रश्न सुन्न हवाई उडान बन्द

बिहीवार दक्षिण कोरियामा 'कलेज स्कोलास्टिक एबिलिटी टेस्ट' (सीएसएटी) परीक्षामा करिब ६ लाख विद्यार्थीहरु सामेल भए। 

राजधानी सोलमा रहेका तीन शीर्ष विश्वविद्यालयमा भर्ना हुन लिइएको प्रवेश परीक्षाका लागि भनेर दक्षिण कोरिया नै ठप्प हुन पुग्यो।

परीक्षाको महत्वलाई ध्यानमा राख्दै दक्षिण कोरियामा संचालन हुने सबै हवाई उडानहरु रद्द गरिएको थियो। ट्राफिकका कारण विद्यार्थीहरुलाई गाह्रो नहोस् भनेर कार्यालयहरु एक-दुई घण्टा ढिलामात्र संचालन गरियो जसले सवारी चाप हलुको गरायो।  

परीक्षा दिन जाने विद्यार्थीहरु परीक्षाका लागि समयमा पुगुन् भनेर मानिसहरु घरबाट ढिला गरी निस्किए। 

हरेक वर्ष हुने यस्तो प्रवेश परीक्षालाई दक्षिण कोरियाली समाजले कति महत्व दिँदो रहेछ भन्ने यसले सहजै अनुमान गर्न सकिन्छ।

हवाई उडान रद्द गरिनुको कारण रोचक छ। यस परीक्षामा विद्यार्थीहरुले अंग्रेजी भाषामा प्रश्नहरु सुनेर त्यसको उत्तर लेख्नुपर्ने हुन्छ। त्यो समयमा विमानबाट आउने ध्वनिले विद्यार्थीहरुको ध्यान भंग नहोस् भनेर उडानहरु रद्द गरिएको थियो।

यस्तै, परीक्षा दिने सिनियर विद्यार्थीहरुलाई सहयोग गर्नका लागि जुनियर विद्यार्थीहरु बाटोमा बसेर सहायता गरेका थिए। परीक्षामा सामेल हुने विद्यार्थीका अभिभावकहरु सामूहिक रुपमा जम्मा भई आफ्ना सन्तानका लागि प्रार्थना गरेका थिए। 

८ घण्टाको परीक्षा, १ प्रतिशतमात्रै उत्तीर्ण

सामान्यतया हामी कहाँ परीक्षा तीन घण्टाको हुने गर्छ। तर, दक्षिण कोरियामा हुने सीएसएटी परीक्षा भने ८ घण्टाको हुन्छ। एउटा विषयको परीक्षा सकिने बित्तिकै अर्को विषयको प्रश्नपत्र विद्यार्थीलाई थम्याइन्छ। यही कठिन परीक्षामा उत्तीर्ण हुनसकेमात्रै विद्यार्थीहरुका लागि प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने अवसर खुल्छ। 

दक्षिण कोरियाको राजधानी सोलमा तीन प्रतिष्ठित विश्वविद्यालय छन्, सोल नेशनल युनिभर्सिटी, कोरियन युनिभर्सिटी र योन्शी युनिभर्सिटी। यी तीन विश्वविद्यालयलाई कोरियामा 'स्काई' भनेर चिनिन्छ। 

सीएसएटी परीक्षामा सहभागी हुने कूल विद्यार्थी संख्याको एक प्रतिशत विद्यार्थीलेमात्रै ती स्काई विश्वविद्यालयमा पढ्न पाउँछन्।

यस पटक उक्त परीक्षामा सामेल भएका म्यन्गजुन किमले भने, 'सबैभन्दा राम्रो विश्वविद्यालय स्काई हो। मैले एक वर्षदेखि यो परीक्षाका लागि मिहिनेत गरिरहेको छु। यसपटक उत्तिर्ण हुनेमा म आशावादी छु। स्कार्इ विश्वविद्यालयहरुमा सिट कम छ। त्यसैले नाम निकाल्न धेरै गाह्रो छ। विद्यार्थीहरुले धेरै वर्ष यो परीक्षा दिने गरेका छन्।'

सामाजिक दबाबको उपज

स्थानीय कलेज वा विश्वविद्यालयमा पढ्ने विद्यार्थीका बारेमा दक्षिण कोरियाली समाजमा नकारात्मक धारणा रहने गर्छ। त्यसैले 'स्काई' जस्ता प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुन विद्यार्थी र उनीहरुका अभिभावकलाई धेरै दबाब रहने गर्छ। 

सामाजको नजरमा प्रतिष्ठित र सफल बन्न पनि विद्यार्थीहरुले 'स्कार्इ'मा नाम निकाल्न कडा मिहिनेत गरेका हुन्छन्।

४-५ वर्षको उमेरमा विद्यार्थीहरुलार्इ समेत प्रतिष्ठित विद्यालयहरुको भ्रमण गराइन्छ।

दक्षिण कोरियामा एउटा शब्द निकै प्रचलित रहेको छ - 'इन सोल', अर्थात 'सोलको विश्वविद्यालयहरुमा भर्ना हुनु महत्वपूर्ण हो'। त्यसैले कक्षामा राम्रो अंक ल्याउने अब्बल विद्यार्थीहरुको लक्ष्य नै स्काई विश्वविद्यालयहरुमा नाम निकाल्ने हुने बताउँछिन् ह्यूनकंगु किम। 

'दक्षिण कोरियाका विद्यार्थीहरु कलेजका आधारमा हुने व्यवहारप्रति सचेत हुन्छन्। जसलाई राम्रो कलेजमा भर्ना मिल्दैन, उनीहरु आफूलाई स्वत: अरुभन्दा कमजोर ठान्छन्,' उनले भनिन्।

यस परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि धेरै ट्युसन कक्षाहरु संचालन हुने गर्छ। विद्यालय तह पार गरेपछि कलेजमा भर्ना नपाएका विद्यार्थीहरु ट्युसन सेन्टरमा आउने गरेको जोन्गरफ एकेडमीका संचालक सियोन्घो लिम बताउँछन्। 

त्यहाँ विद्यार्थीलाई विद्यालयमा जस्तै बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कक्षामा पढाइन्छ। त्यस पछि रातिको १० बजेसम्म उनीहरुलार्इ स्टडी हलमा राखेर पढ्न लगाइन्छ। स्टडी हलमा पढ्न सबैका लागि अनिवार्य हुन्छ। (बिबिसीको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell