PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रहरीभित्र नखुलेको पर्दाः हजारमा आदर्श छाँट्ने, लाखैमा र्‍याल काढ्ने?



सविन ढकाल

प्रहरीभित्र नखुलेको पर्दाः हजारमा आदर्श छाँट्ने, लाखैमा र्‍याल काढ्ने?

काठमाडौँ: बुधबार दिउँसो बुद्धनगर युएन पार्क नजिकै प्रहरीको टोलीले बा २ ख ८१२९ नम्बरको निशान गाडीलाई रोक्यो। गाडी निर्माण सामग्रीको ढुवानी गर्ने कतैतिर हुइँकिरहेको थियो गाडी। ड्युटीमा रहेका एक प्रहरीले गाडीको कागजपत्र मागे।

गाडीमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा ९ घर भएका चालक जितबहादुर तामाङ र सहचालक सुजन घले थिए। सायद, उनीहरूसँग गाडीको आवश्यक कागजात थिएन। त्यसको विकल्पमा खल्तीमा भएको हजारको नोट झिके अनि प्रहरीलाई थमाए। बिल बुक र लाइसेन्सको विकल्पमा हजारको नोट चल्छ भन्ने उनीहरुलाई लाग्यो।

आवश्यक कागजपत्र नहुँदा सवारी चालकहरुले दिने यस्तै नोट हो। उनीहरूले कसैबाट सिकेका थिए या दिने बानी नै परिसकेकाले भुक्तभोगी, भन्न सकिन्न। कति पटक यसरी प्रहरीबाट जोगिए पनि होलान्। अथवा, पहिलो प्रयास नै पनि हुनसक्छ। तर, जे भए पनि उनीहरुका लागि दुर्भाग्य नै बन्यो, यो घटना।

तामाङ र घलेलाई घुस दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लियो। घुस दिने दुई युवकलाई हातमा हजारको नोट बोकाएर गाडीको छेउमा राखेर फोटो खिचियो। अनि प्रहरीले सबै समाचार संस्थामा खबर पठाए। चारैतिर समाचार आयो- 'प्रहरीलाई एक हजार घुस दिने पक्राउ।'

0000
दुबै जनालाई घुस दिएको अभियोगमा प्रहरीले पक्राउ गरिरहँदा विशेष अदालतमा भने अर्कै दृश्य थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्याम राईविरुद्ध एक लाख ४० हजार रुपैयाँ बिगोसहित मुद्दा दर्ता गराउँदै थियो। रोचक त यो थियो कि आयोगले होइन, स्वयम् प्रहरीले नै घुस दिनेलाई समातेको थियो। साँचै प्रहरीको आचरणमा सुधार भएकै हो? या प्रहरी सङ्गठनमा पनि घुस नलिने कर्मचारी छन् भन्ने प्रोपागान्डा?

डिएसपी राई बिहीबार धरौटी बुझाएर छुटिसकेका छन्। उनको मुद्दाले अब कुन मोड लिन्छ भन्न सकिन्न।

प्रहरीको आचरण नै सुध्रिएको भए खुशी नै हुनुपर्छ। तर, प्रहरीले 'जात फाल्नु गुन्द्रुकको झोलमा' भन्ने उखानलाई चरित्रार्थ गरेको हो भने चाहिँ झनै डरलाग्दो अवस्थाको संकेत गर्छ। हुन पनि अहिलेसम्म तपाईँले प्रहरीलाई लाखौँ रुपैयाँ घुस दिने फलानो वा ढिस्कानोलाई प्रहरीले नै पक्राउ गर्‍यो भन्ने सुन्नु भएको छ? बरु लाखै रुपैयाँ घुस लिँदालिँदै प्रहरीका हाकिम समातिएका प्रशस्त उदाहरण छन्। संगठित अपराध मानिने सुन तस्करी मुद्दामा प्रहरीका उच्च अधिकारी तारेखमा छुटेको भर्खरै हो। फौजदारी मुद्दा अनुसन्धानमा लापरबाही गरेको भन्दै उच्च अधिकारी बर्खास्त भएको घटना सेलाएकै छैन।

अनि सस्तोमा आदर्श र महँगोमा र्‍याल काढ्ने प्रवृत्तिले सङ्गठनप्रतिको छवि कहाँ पुग्ला?

 

प्रहरीभित्र नै आर्थिक चलखेल

गत कार्तिक १८ गते बैङ्किङ कसुरमा पक्राउ गरेका रवीन्द्र ढुङगाना प्रकरणले प्रहरीको आर्थिक लेनदेनलाई छताछुल्ल बनायो। प्रहरी अस्पतालमा कार्यरत असई सुरेन्द्र कार्कीले मिटर ब्याजमा लगाएको पैसा नउठेपछि ढुङगानालाई नियन्त्रणमा लिइएका थियो।

नियन्त्रणमा लिएपछि बिरामी भएका ढुङ्गानको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भयो। तर, मृतकका परिवारले प्राकृतिक मृत्यु नभएको भन्दै शव बुझ्न मानेन्। परिवारले शव नबुझेर मिडिया आएपछि मिटर ब्याजमा पैसा लगाउने प्रहरीको कर्तुत बाहिरिने भएपछि प्रहरी नै आर्थिक हिसाब किताब मिलाउन जबर्जस्त लाग्यो। प्रहरीको रोहवरमा नै २२ लाख रुपैयाँ दिएपछि घटना 'तैँ चुप मैँ चुप' भयो।

मिटर ब्याजको चर्चा प्रहरीभित्र नौलो हैन। फौजदारी घटनाहरु प्रहरीकै मध्यस्ततामा मिलाइएका घटना गन्ती गरेर भ्याइन्न। संगठनको छवि र करिअर नै दाउमा लगाउनु पर्ने यस्तो बाध्यता उच्च अधिकारीमाथि दबावमा सिर्जना हुन्छ वा प्रभावमा यकिन भन्न सकिन्न।

गत भदौ ३० गते अख्तियारले एकै दिन ९ जना प्रहरीलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको थियो। मनहरा खोलाको बालुवा निकाल्न ठेकेदारहरूसँग घुस लिइरहेको अवस्थामा दुई जना असई, तीन जना हवल्दार र चार जना जवानलाई पक्राउ गरिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मेवारी अहिले एसएसपी वसन्त लामाले सम्हालेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले अहिले लेनदेन गर्ने प्रहरीको निगरानी गर्न छुट्टै टोली गठन गरेको छ। टोलीले लेनदेन गर्ने, सेवाग्राहीलाई दुःख दिने प्रहरीमाथि गोप्य अनुसन्धान तथा निगरानी गरेको प्रहरीको दाबी छ।  तर, यसको रिजल्ट देखिन सकेको छैन।

प्रहरीले बुधबार समातेका दुई युवक नै यसको रिजल्ट हुन पनि सक्छन् तर विश्वास कसरी गर्ने?

प्रहरीको मुख्य दायित्व सुरक्षा हो। सुरक्षा नागरिकले गर्ने अनुभूति हो। अनुभूति राज्य संयन्त्रले नागरिकलाई गराउने विश्वस्तता हो। नागरिकलाई यतिबेलामात्र यस्तो विश्वास प्राप्त हुन्छ जब संगठनमाथि भरोसा हुन्छ। संगठनले विश्वास तब आर्जन गर्छ जब विधि र विधानभित्र संस्था रहन्छ।

थितिमा संगठन चले व्यक्तिका केही गतिविधि 'क्षम्य' हुन्छन्। तर, प्रहरी संगठनका पछिल्ला दुर्दशा यस्ता छन् जहाँ संस्था र प्रणालीभन्दा बढी केही व्यक्तिमाथि विश्वास बढिरहेको छ। विधानको मियो लरखराउँदा 'सस्तोमा आदर्श र महँगोमा र्‍याल' एउटा ट्रेलर न हो!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell