PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जीपी फाउन्डेसनले जोड्दै कोइराला परिवारका तीन उत्तराधिकारी, शशाङ्क - शेखरमा को अगाडि अझै अनिश्चित



अनन्तराज न्यौपाने

जीपी फाउन्डेसनले जोड्दै कोइराला परिवारका तीन उत्तराधिकारी, शशाङ्क - शेखरमा को अगाडि अझै अनिश्चित

विराटनगर : कोइराला परिवारबाट पार्टी सभापतिका दुई आकांक्षीलाई नजिक बनाउने उद्देश्यले बहिनी सुजाता कोइरालाले डाक्टर शशाङ्क र डाक्टर शेखरलाई आफूसँगै एकै मञ्चमा राख्ने भएकी छिन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको प्रदेश स्तरीय कार्यालयको उद्घाटनमा कोइराला परिवारका तीन उत्तराधिकारी एउटै मञ्चमा उभिने भएका हुन्।

एक हप्ताअघि सुजाताले रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी लगायतका देउवाका आलोचक शीर्ष नेतालाई राजधानीस्थित आफ्नो निवासमा लन्च बैठकमा बोलाएर पार्टीभित्रको विपक्षको राजनीतिलाई एक ढिक्का बनाउने प्रयास गरिसकेकी छिन्।

फाउन्डेसनको प्रदेश नम्बर १ का संयोजक इन्दिरा थापाले बिहीवार पत्रकार सम्मेलनमार्फत् फाउन्डेसनको प्रदेश स्तरीय कार्यालयको उद्घाटन मङसिर २ गते गरिने जानकारी दिइन्।

नेपाली काङ्ग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाले विराटनगरको कोइराला निवासमा पाएको अंश बापतको ९ कट्टा जग्गा गिरिजाको शेषपछि सुजाताले पाएकी छिन्।

उनले आधा जमिन गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नाममा राखेकी छिन्। फाउन्डेसनका नाममा राखेको जमिनमा साढे दुई तलाको भवन पनि निर्मित छ। उक्त भवनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गत वर्ष गरेका थिए। फाउन्डेसनको प्रदेश नम्बर १ को कार्यालय सोही भवनमा छ।

फाउन्डेसनका प्रदेश संयोजक थापाले बीपी पुत्र डाक्टर शशाङ्क, गिरिजापुत्री सुजाता र केशव–नोनाका छोरा डाक्टर शेखरले कार्यालयको उद्घाटन संयुक्त रूपमा गर्ने जानकारी दिइन्।

सोही दिन स्वर्गीय गिरिजाप्रसादका तस्बिर प्रदर्शनी पनि गरिने छ।

संयोजक इन्दिराले फाउन्डेसनको कार्यालयमा गिरिजाप्रसाद स्मृति सङ्ग्रहालयको निर्माण गर्ने र कुनै एक जिल्लामा अस्पताल सञ्चालन गर्ने योजना रहेको बताइन्। 

उनले फाउन्डेसन सामाजिक संस्था भएको दाबी गरिन्।

फाउन्डेसनका प्रदेश नम्बर १ का सदस्य एवम् पूर्व राज्य मन्त्री हरिनारायण चौधरीले डाक्टरद्वय शशाङ्क र शेखरको एउटै लय र ध्वनि होस् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए।

कोइराला परिवारबाट डाक्टर शेखरलाई सभापतिमा उम्मेदवार बनाउने वातावरणको सृजना गर्न प्रजातान्त्रिक विचार समाजले गत असोज १८ विराटनगरमा कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा शशाङ्क र शेखर दुवै डाक्टर सहभागी थिए।

कार्यक्रमको भोलिपल्ट मोरङ काङ्ग्रेसको कार्यालयमा उपस्थित कार्यकर्ताको ठूलो जमातमा डाक्टर शशाङ्कले सभापतिमा आफू उम्मेदवार हुने घोषणा गरेका थिए।

कोइराला परिवारका तीन उत्तराधिकारीमध्ये सुजाता डाक्टर शेखरका पक्षमा छिन्। त्यसैले शेखर आफूलाई शशाङ्कले छाडिदिने कुरामा आशावादी छन्।

डाक्टर शशाङ्कका पक्षधर भने आफ्नै निर्वाचन क्षेत्रमा निर्वाचन जित्न नसक्ने डाक्टर शेखरले देशभरिको काङ्ग्रेसलाई व्यवस्थापन गर्न सक्तैनन् भन्दै आलोचना गरिरहेका छन्।

शशाङ्क, सुजाता र शेखर तीन जनाले नै आगामी महाधिवेशनमा कोइराला परिवारबाट एक जनामात्र सभापतिका लागि उम्मेदवार हुने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell