काठमाडौँ : लामो समयपछि नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ।
थाइल्याण्ड क्रिकेट संघ (क्याट)ले अर्को वर्षको सुरुमा आयोजना गर्न लागेको 'थाइल्याण्ड महिला टी-२० स्मास'मा नेपालले सहभागिता जनाउने भएको हो।
१० टोलीको सहभागिता रहने प्रतियोगिता सन् २०१९ को जनवरी ८ देखि १७ तारिखसम्म हुनेछ।
अफ्रिकन राष्ट्र नामिवियासहित एसियाको ८ देशका ९ टिम रहनेछन्। आयोजक थाइल्याण्डको सिनियर टिम र ए टिम रहनेछ।
यसबाहेक प्रतियोगितामा नेपालसँगै भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, युएइ र म्यानमारले प्रतिस्पर्धा गर्नेछ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपालसँगै युएइ, नामिविया, मलेसिया र थाइल्याण्डको ए टिम छन्। यस्तै समूह बी मा आयोजक थाइल्याण्ड, हङकङ, भुटान, म्यानमार र इन्डोनेसिया छन्।
नेपालले पहिलो खेल जनवरी १२ मा नामिवियासँग खेल्नेछ। यस्तै दोस्रो खेलमा मलेसियासँग १३ जनवरीमा, तेस्रो खेल १४ तारिखमा युएइ र चौथो खेल १६ तारिखमा थाइल्याण्ड ए टिमसँग खेल्नेछ।
दुवै समुहको शीर्ष दुईमा रहने टिमले सेमिफाइलन प्रवेश गर्नेछन्। हङकङले मारिको हिलको कप्तानीमा १५ सदस्यीय टोली समेत घोषणा गरिसकेको छ।
प्रतियोगितामा सहभागिताका लागि एक टपमले ४ हजार अमेरिकी डलर तिर्नुपर्नेछ। एक टोलीमा १४ खेलाडी र २ अफिसिय हुनेछन्।
नेपाली राष्ट्रिय महिला टिमकी कप्तान रुबिना क्षेत्रीले यस प्रतियोगिताको लागि चाँडै नै क्याम्प सुरु गर्ने र सबै खेलाडीलाई कडा मेहनत गरेर तयारी गर्न भन्दा सामाजिक सञ्जालमा आफ्नो विचार पोष्ट गरेकी छिन्।
यस प्रतियोगिताले २०१९ फेब्रुअरीमा हुने आइसीसी महिला टी-२० एसिया क्षेत्र छनोटको लागि तयारीको काम समेत गर्नेछ।