PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रपति भण्डारीको मंसिरमा पोल्याण्ड यात्रा, नेपाल आउँदै कम्बोडियाका प्रधानमन्त्री



विधुर ढकाल

राष्ट्रपति भण्डारीको मंसिरमा पोल्याण्ड यात्रा, नेपाल आउँदै कम्बोडियाका प्रधानमन्त्री

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी मंसिरको दोस्रो साता पोल्याण्ड जाने भएकी छिन्। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २४) मा सहभागी हुन राष्ट्रपति भण्डारीले डिसेम्बर १ देखि ५ (मंसिर १५ गते देखि १९ गते)सम्म पोल्याण्डको भ्रमण गर्ने भएकी हुन्। 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार सम्मेलनमा सहभागी हुन पोल्याण्ड जान लागेकी राष्ट्रपति भण्डारीको भ्रमणको तयारी भइरहेको छ। सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। मन्त्री ज्ञवालीले सम्मेलनमा नेपालका तीन वटा विषय प्राथमिकताका साथ उठाउने जानकारी दिए। 

‘जलवायु परिवर्तनमा मानव जातिमा परेको असर र हामीले यही अवस्थामा हाम्रा सन्ततीलाई सुरक्षित प्लानेट दिन सक्दैनौँ,’ उनले भने, ‘हामी नेपालीलाई जलवायु परिवर्तनका सन्दर्भमा नखाएको विष लागेको छ। यसका चुनौतीसँग लड्नका लागि विश्व समुदायबाट हुनुपर्ने सहयोगका विषयमा कुरा राख्छौँ।’

उनले सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण नेपालका जोखिमहरुका बारेमा विश्व जगतलाई अवगत गराइने बताए। 

दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले दक्षिण अफ्रिकाका लागि नेपालका राजदूत अमृत राईलाई फिर्ता बोलाइएको पुष्टि गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। यद्यपि, यो निर्णयलाई सरकारले आधिकारिक रुपमा सार्वजनिक गरेको थिएन। 

बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले राजदूत राईलाई फिर्ता बोलाइएको पुष्टि गर्दै मन्त्रालयको आवश्यकता अनुसार उनलाई फिर्ता बोलाएको बताए। 

राजदूत राई वरियताका आधारमा न्युयोर्कस्थित नेपाली नियोगका स्थायी प्रतिनिधिको रुपमा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ। सोही कारण उनलाई फिर्ता बोलाइएको बताए पनि यस विषयमा मन्त्री ज्ञवालीले स्पष्ट पारेनन्। 

मन्त्री ज्ञवालीले राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको आश्यकताले भएको भन्दै अघिल्लो सरकारले नियुक्त गरेकै आधारमा फिर्ता नबोलाइने समेत स्पष्ट पारे। 

‘पूर्ववर्ती सरकारले नियुक्त गरेकै आधारमा फिर्ता बोलाइँदैन्,’ उनले भने, ‘तर पर्फमेन्स चाहिन्छ। यसको मूल्यांकन पनि हुन्छ।’ 

आउँदै कम्बोडियाका प्रधानमन्त्री

यसैबीच कम्बोडियाका प्रधानमन्त्री नेपाल आउने भएका छन्। उनी मंसिरको दोस्रो साता नेपाल आउन लागेको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। नेपाल र कम्बोडियाबीचको द्वीपक्षीय परामर्श सयन्त्रको बैठकले दुई देशबीच सिधा हवाई उडान सम्बन्धी एमओयुमा सहमति जुटाएको थियो। सोही एमओयुमा हस्ताक्षर गर्ने गरी कम्बोडियाका प्रधानमन्त्री सामदेक अक्का मोहा सेन बाडेइ टेको हुन सेन द्वीपक्षी भ्रमणमा क्रममा नेपाल आउन लागेका हुन्। 

नेपाल भ्रमणका क्रममा उनी एसियाली राजनीतिक दलहरुको सम्मेलनमा समेत सहभागी हुनेछन्। उनी कम्बोडियन पिपल्स पार्टीका अध्यक्षसमेत हुन्।


मन्त्री ज्ञवाली जापान जाँदै

यसैबीच परराष्ट्रमन्त्री ज्ञवाली जापानको पाँच दिने भ्रमणमा जाने भएका छन्। समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणा पाँच दिने औपचारिक भ्रमणका लागि आगामी मंसीर १ गते जापान जाने भएका हुन्। 

जापान भ्रमणका क्रममा लगानीको थप वातावरण बनाउने विषयमा छलफल हुने उनले जानकारी दिए। 

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमणबाट नेपालको पूर्वाधार विकास, जलविद्युत क्षेत्रको विकास र कृषिलाई आधुनिकीकरण गराउन थप लगानीको वातावरण बन्ने विश्वास पनि व्यक्त गरे। 

मंसीर १ गतेदेखि ५ गतेसम्म जापानको भ्रमणपछि मन्त्री ज्ञवालीले फर्कने क्रममा थाइल्यान्डमा रहेका प्रवासी नेपालीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell