PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्वेन्द्र खनाल एसएसपी हुँदा रोकिएको पेट्रोल पम्पको ठगी आइजी भएपछि फेरि सुरु, सफ्टवेयर जोडेर कम तेल बाँड्दै



पहिलोपोस्ट

सर्वेन्द्र खनाल एसएसपी हुँदा रोकिएको पेट्रोल पम्पको ठगी आइजी भएपछि फेरि सुरु, सफ्टवेयर जोडेर कम तेल बाँड्दै
तीन वर्षअघि चिप्स जोडेर ठगी गरिएको थियो

काठमाडौं : प्रहरी अपरेशनको तीन वर्ष नबित्दै पेट्रोल पम्पमा सफ्टवेयरमार्फत ठगी गर्ने धन्दा फेरि सुरु भएको पाइएको छ।

तत्कालीन एसएसपी सर्वेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा पम्पमा अपरेशन गरेर दर्जन भन्दा बढी संचालक पक्राउ गरेका थिए। यो अपरेशनपछि पम्पमा सफ्टवेयरमार्फत् उपभोक्तालार्इ कम तेल दिने धन्दा रोकिएको थियो। तर आज फेरि गुणस्तर तथा नापतौल विभागले सानो भर्‍याङमा रहेको बंगलामुखी आयल स्टोर्समा गरेको अनुगमनमा सफ्टवेयरमार्फत उपभोक्तालार्इ कम तेल दिएको भेटिएको हो।

‘एक वर्ष लगाएर हामीले सफ्टवेयरमार्फत् उपभोक्तालार्इ तेल कम दिएको पत्ता लगाएका छौं’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने,’पम्प संचालकले धेरै चलाखीपूर्ण रुपमा उपभोक्ता ठगी गरेका रहेछन्। हामीलार्इ यो पत्ता लगाउन झण्डै एक वर्ष लाग्यो।’

उनका अनुसार भारतबाट एक लाख रुपैयाँमा पाइने सफ्टवेयर ल्याएर कम परिमाणको तेल बिक्री गरिरहेको पाइएको छ।‘

सवारी साधन तेल भर्न सुरु गरेपछि नोजल केही क्षण बन्द गरेर फेरि तेल हाल्न थालेपछि सफ्टवेयर स्वचालित रुपमा चल्न थाल्ने रहेछ। सफ्टवेयर चल्न थालेपछि आफ्नो अनुकूल तेलको परिमाण घटाउन मिल्ने रहेछ,’पुडासैनीले भने,’सफ्टवेयरको माध्यमबाट कम्तिमा पनि दुर्इ सय एमएल कम तेल बिक्री गरिरहेको भेटियो।’ उनका अनुसार सफ्टवेयर मदरबोर्डमै जडान गरिएको भेटिएको छ।

‘हामीले एक वर्षदेखिनै सफ्टवेयरमार्फत तेल कम बेच्ने गरेको सुनेका थियौं। तर अनुगमन गर्दा पत्ता लगाउन सकेका थिएनौ’ पुडासैनीले भने,’लामो प्रयासपछि सफ्टवेयरमार्फत तेल ठगी गरेका भेटेका छौं। अन्यत्र पनि यसरी ठगी गरिरहेको हुनसक्छ।’

तीन वर्ष अघि पेट्रोलमा ठगी गर्ने पम्प संचालक सबै धरौटीमा रिहा भएका थिए।

तीन वर्ष अघि एक दर्जन पम्पले तीस हजारमा पाइने चिप्स जडान गरेर कम परिमाण तेल दिएर ठगी गरेको भेटिएको थियो। तीस हजारमा पाइने त्यो मेशिन र रिमोटमार्फत तेलको परिमाण घटबढ गर्न मिल्थ्यो।

हालका आइजी तथा तत्कालीन एसएपी सर्वेन्द्र खनाल त्यतिबेला पेट्रोल पम्पका मिस्ट्रीसहित आफै अनुगमनमा निस्किएका थिए। महाशाखाले छ टोली बनाएर एकै पटक २०७२ मंसिरमा उपत्यकाका विभिन्न पम्पमा छापा मारेको थियो। 

बालाजुको क्रिस्टल, स्वयम्भूको बंगलामुखी आयल स्टोर, थानकोटको सूर्य ट्रेडर्स, सातदोबाटोको महालक्ष्मी आयल स्टोर, बालकुमारीको युनिक पेट्रोल पम्पलगायतका पम्पमा निर्धारित परिमाणभन्दा कम पेट्रोल झार्ने गरी मिटर बिगार्न चिप्स जडान गरिएको फेला परेको थियो। प्रहरीका अनुसार त्यतिबेला १०० लिटरमा २ देखि ४ लिटरसम्म छ्याकन हानेको फेला परेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell