PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

बाख्रा चराउन गएकी १३ वर्षीया किशोरी मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका



बाख्रा चराउन गएकी १३ वर्षीया किशोरी मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका

काठमाडौं: कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०६ दिन बित्दा पनि दोषी पत्ता नलागेको बेला उदयपुरमा एक किशोरीको बलात्कारपछि हत्या भएको छ।  उदयपुरको रौतमाइ गाउँपालिकाकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको हो।

आइतवार दिउँसो रौतामाइ गाउँपालिका ३ की १३ वर्षीया एल्जिना खड्का नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए। 

शनिवार दिउँसो बाख्रा चराउन गएकी एल्जिना राति अबेरसम्म पनि घर नर्फिएपछि आफन्त र परिवारले खोजी गरेका थिए। आइतवार बिहानसम्म नभेटिएपछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी राईले बताए। 

प्रहरीमा उजुरी परेको केही समयमा नै किशोरीको शव फेला परेको खबर आएको थियो। एसपी राईले भने, 'हराएको भोलिपल्ट हामी कहाँ किशोरीका ठूलोबुवा उजुरी दिन आउनु भएको थियो। त्यसको केही समयमा नै शव फेला परेको हो।'

उदयपुर सदरमुकामदेखि घटनास्थल करिब ८० किलोमिटरको दुरीमा पर्छ। जिल्ला प्रहरी कार्यालयबाट डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगिसकेको छ। घटनास्थलमा टेलिफोनले काम नगर्ने भएकाले घटनामा पूर्ण जानकारी नआएको एसपी राईले बताए।' 

स्थानीयबासीले दिएको जानकारी अनुसार बलात्कारपछि हत्या भएको बुझिएको छ। तर के हो हाम्रो अनुसन्धान टोली फर्किएपछि मात्र भन्न सकिन्छ।' स्थानीयवासीले शव जंगलमा अर्धनग्न अवस्थामा फेला परेको र शरीरमा चोटपटकसमेत लागेको प्रहरीमा जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell