PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लाटोकोसेरोको आत्मकथा! तिहारमा पूजा गर्छौ र दुःख पनि किन दिन्छौ?



पहिलोपोस्ट

लाटोकोसेरोको आत्मकथा! तिहारमा पूजा गर्छौ र दुःख पनि किन दिन्छौ?

  • राजु आचार्य-

आज लक्ष्मी पूजा, सबैतिर झिलिमिली छl हुन् पनि हो, तिहारमा नभएको रमाइलो कहिले हुने। आजकै दिन मानिसहरू मेरो मालिकको पूजा गर्छन्। भन्नलाई त मलाई लक्ष्मी देवीको वाहन भन्छन् तर मेरो वास्ता कतै हुँदैनl आजकै दिन छिमेकी देश भारतमा हजारौँ मेरा आफन्तलाई बली दिइन्छ। कस्ता पटमुर्खहरु मेरो रगत चढाएर देवी खुसी हुन्छिन् रे! धर्म गर्न पनि नआउने। आफ्नो वाहनलाई मारेको देखेर देवी कसरी खुसी होलिन् त?

बरु तासै खेलुन्, बत्ती बालुन्, देउसी-भैलो खेलुन् तर पटकाहरू नपड्काए हुने नि। हामीलाई अप्ठ्यारो मात्र पार्छन्। पोहोर  मेरो मामाको छोरो तर्सिएर गुँडबाट खस्यो र पखेटा भाँचियो। हामीले उद्धार गर्नुअघि नै यी दुई खुट्टेका केटाकेटीहरूले खेलाई-खेलाई मारिदिए। छोराछोरी त सबैको उस्तै हो नि! खै दिमागमा गोबर भरिएकाले बुझेको? 

म बिहान उठ्दा मानिसहरू सुतिरहेका हुन्छन्। बेलुकी पनि मानिसहरू सुतेपछि म बाहिरतिर निस्कन्छु। दिउँसो बाहिर निस्कन त मन लाग्छ तर, धेरै उज्यालोको कारणले राम्रोसँग देख्न सक्दिनँ। मलाई अलि शीतल र अरूले सहजै नदेख्ने ठाउँहरू मन पर्छ। फेरि दिउँसो काग, डाङ्ग्रे/रुबी  लगायतका चराहरूले अति दुःख दिन्छन्। कागले भन्दा पनि गुलेली बोकेका भाइबहिनीहरूले साह्रै हैरान पार्छन्। अध्ययन गर्ने जानेकाहरू भन्छन् नेपालमा २५ प्रतिशत विद्यार्थी गुलेली प्रयोग गर्छन्l  पोहर साल मेरो उड्ने बेलाको बच्चालाई टाउकोमा हानेर खसाली पो हाले। असतीहरू!

मैले मानिसलाई केही बिगार्दिन। बिहान उठाउँछु। मुसा, किरा खाएर अन्न जोगाइदिन्छु। तै पनि कुनले कताबाट समाएर अर्को देशमा बेच्ने हुन् पत्तै नहुने। गएको सालमात्र पाँच जना छिमेकीहरूलाई चीनतिर पुर्‍याएछन्। भारतमा  पनि थुप्रै पठाउने गर्छन्l तिनीहरू फर्कने त अब त्यतिकै होला!

बिहान उठ्ने बित्तिकै प्वाँखहरू मिलाउन अलि समय लाग्छ। मुसा मलाई असाध्यै मन पर्छ। मार्छु र केहीलाई त गुँडमा ल्याएर राख्छु पनि। मेरो मावलीतिरका मान्छेहरूले पोहर साल गन्हायो भनेर छिमेकीको गुँडको ढोका थुनिदिए। अर्को ठाउँमा गुँड खोज्न कति गाह्रो भयो! विवेक नभएका दुई खुट्टेहरू। आजभोलि त मुसा खाँदा पनि विचार गर्नुपर्ने। विषादी हाल्छन्। पेट दुखेर हैरान पार्छ। यसपालि दाई पनि पेट दुख्यो भन्दै बित्नु भो। कहिलेकाहीँ मुसा टाँसिने पदार्थमा हामी पनि टासिन्छौँl  त्यति मात्रै हो र यसपालि मेरो पल्ला गाउँका आफन्तको घरमा आगो पो लाएछन्। सबै स्वाहा भयो। अर्काको जीवन त जीवन नै होइन भन्छन् बा!

असाध्यै चिसो हुँदा ठाउँ हेरेर बसाइँसराईँ पनि गर्छु तर, धेरै टाढा भने जान्न। मेरा केही साथीहरू भने अलि लामो बसाइँसराईँ पनि गर्छन्l चैत–वैशाखतिर जोडी खोज्न तनावै हुन्छ। पहिला जस्तो सहजै प्रिय-प्रियतमाहरू कहाँ पाइन्छ र। हाम्रो सङ्ख्या पनि घटेको–घटेकै छ। बस्नलाई अर्काको प्वाल प्रयोग गर्‍यो , ४-५ वटा फुल पार्योस। बच्चा हुर्कायो। यसरी नै बित्छ हाम्रो जिन्दगी। यो क्रममा सर्प, गोहोरो, अन्य चराहरूले कहिले फुलै खाइदिन्छन् भने कहिले बच्चाहरू नै सिकार गर्छन्। यस क्रममा कहिलेकाहीँ घाइते पनि भइन्छ। यस्तो बेलामा उपचार गरिदिने मानिस र ठाउँ पनि छैन? पैसा कमाउन मानिसको लागि ठूला ठूला अस्पताल बनाइएका छन्l हाम्रो लागि भने केही पनि छैनl

हामीलाई वन्यजन्तु पनि मान्दैनन्l खाली बाघ, गैँडा, हिउँचितुवा, गिद्धको मात्र कुरा गर्छन्। हाम्रो त वास्ता पनि गर्दैनन्l अझै आफूलाई संरक्षणकर्मी भन्छन्! तिनलाई दुःख दिने मुसा खाएर अन्न हामीले बढाई दिनुपर्ने तर यिनले हाम्रो बारेमा कुरै नगर्नेl यी जागिरे संरक्षणकर्मीहरू। नाम सुन्दा पनि रिस उठ्छ।  

मैले मान्छेलाई केही नबिगार्दा पनि मानिसले देखिनसहने किन होला? मेरो दैनिकी त तनावमा मात्रै बित्छ साथीहरू। ५-७ वर्ष बाँच्दा पनि खुसी साथ बाँच्न नपाइने भो! मानिसहरू पनि हामी जसरी बाँच्नुपर्ने भए के गर्थे होलान्? यो तिहारले तिनलाई सद्बुद्धि देओस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell