PahiloPost

Nov 17, 2018 | १ मंसिर २०७५

'कुशल' वर्षकै उत्कृष्ट कुकुर

'कुशल' वर्षकै उत्कृष्ट कुकुर


काठमाडौं: यस वर्षको उत्कृष्ट अनुसन्धान कुकुरको उपाधि नेपाल प्रहरीको 'ट्र्याकर डग' कुशलले प्राप्त गरेको छ। कुकुर तिहारको अवसर पारेर प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ह्यान्डलर प्रहरी नायव निरीक्षक बिक्रमबहादुर थापासहितलाई पुरस्कार प्रदान गरेका थिए। सोही कार्यक्रममा बढुवा भएकी एसएसपी डा देउती गुरुङ दर्ज्यानी चिन्हसमेत प्रदान गरेको थियो।


कुशल ४ नम्बर प्रदेश प्रहरी कार्यालयको कुकुर शाखामा कार्यारत रहेको छ। गत असोज ८ गते साँझ पोखरा २२ पुम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विकको हत्या अनुसन्धानमा कुशलले अनुसनधानमा सहयोग गरेको थियो।

अहिले नेपाल प्रहरीसँग देशभर ७९ वटा तालिम प्राप्त कुकुर रहेका छन्। केन्द्रीय कुकुर तालिम केन्द्रमा मात्र ४१ वटा कुकुर छन्। त्रिभुवन विमानस्थलमा ७ वटा कुकुर खटाइएका छन्। कुकुरको हेरचार र तालिमको लागि ६० जना प्रहरीहरू रहेका छन्।

कसरी पत्ता लगायो कुशलले अपराधी

शव भेटिएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुरको सहयोग माग्यो। ४ नम्बर प्रदेश प्रहरी कार्यालय कुकुर शाखाबाट प्रहरी नायव निरीक्षक बिक्रमबहादुर थापाको कमाण्डमा प्रहरीको तालिम प्राप्त कुकुर कुशल घटनास्थलमा पुग्यो।

घटनास्थलमा लगिएको कुकुरलाई अनुसन्धानका लागि तयार पारियो। कुशललाई हार्नेस लगाइयो। त्यसपछि रगत लागेको ढुङ्गा सुँघाइयो। त्यसपछि कुकुर घटनास्थलबाट स्तुपा जाने पैदलबाटो उकालोतिर सय मिटर पर पुग्यो।  फेरि त्यही बाटोबाट ओरालो झर्यो र सडक नजिकैको पसलमा पुग्यो। पसल वरिपरि केही समय घुम्यो। त्यसपछि छोरेपाटन बजार झर्ने ओरालो सडक खण्ड हुँदै सय मिटरको दुरीमा रहेको सडकको भित्ता पुग्यो। यहाँ रहेको धारो छेउमा केही समय घुम्यो। कुकुरको अनुसन्धान यति मै टुङ्गिएन। सडकबाट फेरि १ सय ५० मिटरको दुरी दाहिने तर्फ गाउने जाने सडक हुँदै २० मिटर परसम्म पुगेपछि कुकर फर्कियो। त्यसपछि कुकुरले कुनै संकेत गरेन।

कुकुरसगै अनुसन्धानका लागि पुगेका प्रहरी बिक्रमबहादुर थापाले कुकुरको इसार बुझे। उनले घटनाको अनुसन्धानमा खटिएका डिएसपी रविन्द्रमान गुरुङलाई हत्यारा कुकुरले देखाएको गाउँमा भएको सुझाव दिए। प्रहरीले अनुसन्धान गर्न थाल्यो। अन्तत: कुकुरको अनुसन्धान सफल देखियो। सोहि गाउँका २७ वर्षीय कुशुम पौडेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा पौडेलले हत्या गरेको स्वीकार गरे।

घटना भएको दिन कुसुमले बालिकालाई भेटी ५ रुपैयाँको चकलेट दिएका थिए। त्यहाँबाट करिब १० मिटर तल एउटा पुरानो घर र पानी ट्यांकीबीचमा बोलाइ पुन: १० रुपैयाँ देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोजेको प्रहरी अनुसन्धानमा देखिएको छ। बालिकाले प्रतिकार गर्न खोजेपछि उनले पानी ट्याङकी मुनि रहेको झाडीमा धकेलेका थिए।

त्यसपछि पौडेलले कपडा खोली जबरजस्ती गर्न खोज्दा बालिका चिच्याउन थालेपछि घाँटी थिची मारेका थिए।

बालिका बेहोस भएपछि पौडेलले ढुंगाले अनुहार, टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको थियो।

पछिल्लो समय प्रहरीको  कुकुरले गरेका धेरै अनुसन्धान सफल भएको प्रहरी कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्याल बताउँछन्। भन्छन्, 'अनुसन्धानमा कुकुरको माग गर्ने सङ्ख्या बढेका छ। कुकुरको अनुसन्धानमा मानिसको विश्वास समेत बढ्दै गएको छ।'



ट्रेन्डिङ पोस्ट