PahiloPost

Nov 20, 2018 | ४ मंसिर २०७५

'भुस्याहा' कुकुर पाल्ने रघु भन्‍छन् : ‘विदेशी कुकुर पालेर के गर्व गर्छौ, सडकका अलपत्र कुकुरलाई घर दिए पो !’

'भुस्याहा' कुकुर पाल्ने रघु भन्‍छन् : ‘विदेशी कुकुर पालेर के गर्व गर्छौ, सडकका अलपत्र कुकुरलाई घर दिए पो !’

सहयोग रञ्जित/पहिलोपोस्ट


पाटनको कृष्ण मन्दिर अगाडि रघु आदित्य आफ्नो 'चिम्पु' सँग डुल्दै थिए। सानो र दुब्लो भएपनि चिम्पु राम्रो नश्ल (ब्रिड) को देखिन्थ्यो। धेरैले चिम्पु कुन ब्रिडको भनी सोध्छन्। उनी हाँस्दै जवाफ फर्काउँछन्, 'यो त सडकबाट उठाइएको कुकुर हो।' 

अर्थात् भुस्याहा कुकुर।

२०७२ सालमा गएको भूकम्पको केही महिनापछि* बेवारिसे अवस्थामा सडकमा भेटेका थिए चिम्पुलार्इ रघुले। त्यसबेला चिम्पुलार्इ इ- क्यानिस भन्ने रोग लागेको थियो। यो रोगमा रगत बग्नै पर्छ भन्ने हुन्न। तर रोग बढ्दै जाँदा रगत रोकिनै गाह्रो हुने रहेछ। बल्लतल्ल आफ्नै रेखदेखमा सडकबाट उठाएको कुकरलार्इ रघुले हेर्न लायक बनाए।

धेरैले चिम्पुलार्इ पाल्छु भनेर लगे। केही दिन राखे। पछि विभिन्न बहानामा फर्काइदिए। त्यसपछि अहिले उनीसँगै छ।  

यस्तै उनको घरमा सेती नामको अर्को एक कुकुर पनि छ। समाजले भुस्याहा भन्दै तिरस्कृत भएका कुकुर हुन् यी दुइटै। 

कार्ड बेचेर कुकुरको स्याहार

हाल अंग्रेजी भाषाका फ्रिल्यान्स एडिटर र ट्रान्स्लेटरका काम गरिरहेका रघुको अर्को परिचय चाहिँ धेरैका लागि स्मरणीय छ - कुकुरको स्याहार गर्ने। 

करिब ३ वर्षअघि रघु  काठमाडौँ र पाटन दरबार स्क्वायरहरुमा भेटिन्थे। ग्रिटिङ्स कार्ड बनाएर बेच्दै गरेका। एउटा कार्डको ५० रुपैयाँ। हप्ताको एक पटक त्यसरी ग्रिटिङ्स कार्ड बेचेर उठाएको रकम घाइते कुकुरहरुको उपचारमा खर्च गर्थे उनी। उनलार्इ कलंकी, थानकोट, बुढानिलकण्ठसम्म कुकुरको उपचारका लागि बोलाइन्थ्यो। साइकल चढेर बुढानिलकण्ठदेखि चोभारसम्म साइकलमै कुकुरको उद्दार गर्न पुग्थे। एक वर्षमा उनले ५०- ६० जना कुकरहरुलाई चोभारस्थित एनिमल नेपालमा लगेर बन्ध्याकरण गराउन सघाए।* 

'पहिले जोश थियो,' मुस्कुराउँदै थप्छन् 'अहिले भने जोशमा अलि कमि आएको छ।' 

उनी भन्छन्, 'आफूमा हुने ऊर्जा र आत्मबलको पनि सीमा हुन्छ। यो मेरो प्रोफेसन होइन, प्यासन हो। म सबै ठाउँमा पुग्न सक्दिनँ। बाहिर धेरै समय दिएकोले आफ्नै ठाउँको बारे सोच्न नभ्याइने रहेछ।'

तर विगत केही महिनादेखि कार्डहरु बनाएका छैनन् उनले। धेरैले कार्डको स्टल नराखेकोमा जिज्ञासु हुँदै केही सहयोग चाहिए गर्छु भनेर उनलार्इ मेसेज पठाउँछन्। केही दिनअघि मात्रै फेसबुकमा आफ्नो स्टल सम्झेकोमा र जनावरहरुप्रति आफूले गर्ने खोजेको प्रयासमा साथ दिएका सबैलार्इ धन्यवाद दिएका थिए रघुले। 

हाल उनी आफू बस्ने इमाडोल क्षेत्रमा धेरै समय दिन्छन्। व्यक्तिगत स्तरमा आफ्नो दायित्व सबैले पूरा गरेको भए राम्रो हुने उनी बताउँछन्, ‘मैले मान्छेहरुमा त्यो देखिनँ। म सबै ठाउँमा पुग्न सक्दिनँ। मैले बाहिर जान छोडेको यही कारणले हो। मानिसहरु आफ्नो वरपरका कुकुरहरुको अवस्थाप्रति सचेत होऔं। आफूले भ्याएसम्म र देखेसम्म आँखा चिम्लिएर चाँही हिड्दिन म।' 

'कुकुरलाई अलिकति माया, खाना र उपचार'

मानिसको चाहना र आवश्यकता धेरै हुन्छ। पायो भने सबै लिन उनीहरु पछि पर्दैनन्। तर कुकरहरुको आवश्यकता सीमित हुन्छ। रघु भन्छन् 'कुकुरहरुलाई धेरै कुरा चाहिँदैन। उनीहरुलार्इ हामीले अलिकति माया, खाना र उपचार दिए पुग्छ।'

भुस्याहा भनेर हेपिने कुकुरको सेवामा लाग्दा उनलाई परिवारले केही भनेन त?

'पहिला-पहिला त घर परिवारबाट त्यति सहयोग भएन’, उनी स्वीकार्छन्, ‘जहाँ पनि त्यही हो। पछि सबैले एड्जस्ट गर्न थाले। कुकुर मानिसको सबै भन्दा मिल्ने साथी हो भनेर त्यसै भनिएको होइन।'

'विदेशी ब्रिडभन्दा लोकल कुकुर राम्रो'

विदेशी ब्रिडका कुकुरको हाइहाइ भएको उनलाई कत्ति मन पर्दैन। भन्छन्, 'मानिसहरु जसरी नयाँ लुगा वा वस्तुदेखि आकर्षित हुन्छन्। नयाँ ब्रिडका कुकुरहरु देखेर पनि त्यसरी नै आकर्षित भएका हुन्। राम्रो कुकुर ल्याउँछन्, अनि लोकल कुकुरलार्इ हेला गरेको देख्छु।'

रघुका अनुसार अहिले सडकमा प्राय: देखिने सबै कुकुर ब्रिडकै उपज हो। उनी भन्छन्, 'लोकल कुकुरहरु सडकमा बस्छन्, फोहोरी हुन्छन् भन्ने मान्यता छ। तर अहिले यहाँ सडकमा देखिएका कुकुरहरु यहाँका लोकल कुकुर होइनन्। ब्रिडको कुकुरलार्इ सडकमा फालेकाले ती भुस्याहा कुकुर भएका हुन्।‘

'भोटे जस्तै देखिने तर भोटे भन्दा सानो कुकुर यहाँको वास्तविक नेटिभ/लोकल कुकुर भन्न मिल्छ । अरू लोकल कुकुर पछि भित्र्याइएका कुकुरहरुका वंशज हुन्,' उनले प्रष्ट्याए।* 

‘बाटोमा जीवन बिताएपछि त राम्रो मानिस पनि नराम्रो देखिन्छ’, उनी प्रष्ट्याउँछन्, ‘कुकुरको हकमा पनि त्यही लागू हुन्छ। उनीहरु सडकमा बस्दा दुब्लाउँछन्।‘ 

फोहोर लुगा धोएर राम्रो बनाएर फेरि लगाए जस्तै कुकुरलार्इ पनि त्यसरी स्याहार गरेर राम्रो बनाउन भने मानिसहरुले नचाहेकोमा उनलाई चित्त बुझ्दैन। 

सडकमा छाडा छाडिएका कुकुरहरु आसपासका मानिसहरुसँग घुलमिल भएका धेरै उदाहरण छन्। चार-पाँच वर्ष सडकमा बसिसकेपछि कुकुरहरुको शरीर त्यहाँ बस्न योग्य हुने रघुले बताए। 

उनका अनुसार आयातित कुकुरहरु जस्तै जर्मन सेपेर्ड, हस्की, बक्सर, बुल डग, गोल्डेन रिट्राइभर, पग, जापानीज स्पिट्ज जस्ता कुकुरहरुको शरीर बाहिरको देशको हावापानीका लागि हो। उनीहरुलार्इ एउटा कोठा वा कम्पाउन्डमा सीमित गरेर उनीहरुको शरीरले यहाँको मौसम धान्न सक्दैन। त्यसैले ती खर्चिला भएका हुन्। 

भन्छन्, 'हामीले सडकमा रहेका कुकुरहरुलार्इ एडप्ट गर्‍यो भने खर्च कम पनि हुन्छ। उनीहरुलार्इ माया गर्नुपर्‍यो।'

राम्रो ब्रिडको कुकुर हुर्कायो भनेर गर्व गरेको देख्दा अच्चम लाग्छ उनलार्इ। 'मानिसहरु राम्रा-राम्रा ब्रिडका कुकुरहरु ल्याउँछन्। हिउँमा बस्ने कुकुर समेत ल्याउँछन्। तिनीहरु आफैमा राम्रो हुन्छन्। तर राम्रो पोषण बिना बाँच्न सक्दैनन्। बाटोमा बसेको कुकुरलाई घर दिए पो गर्व गर्नु।

(*समाचार प्रकाशित भएपछि रघु आदित्यको अनुरोध अनुसार संशोधन गरिएको) 


ट्रेन्डिङ पोस्ट