PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


पिपिएल फाइनल हेर्न पुगेका प्रचण्ड तटस्थ दर्शक, भने : फाइनलमा भिडेको पोखरा जन्मथलो, चितवन कर्मथलो


गोविन्दराज नेपाल

पिपिएल फाइनल हेर्न पुगेका प्रचण्ड तटस्थ दर्शक, भने : फाइनलमा भिडेको पोखरा जन्मथलो, चितवन कर्मथलो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पोखरा प्रिमियर लिग (पिपिएल)का आयोजक तथा विजेता टिमलाई बधाई दिएका छ। पिपिएल फाइनलमा प्रमुख अतिथि बनेर पोखरा पुगेका दाहालले कास्कीका बासिन्दालाई समेत बधाइ दिए।  

नेपालले क्रिकेटका माध्यमबाट पहिचान बनाउँदै अगाडि बढेको उल्लेख गर्दै प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरा फुटबलसँगै क्रिकेटको क्रेज भएको जिल्ला बनेको बताए। 

'यस प्रतियोगितामा सहभागी हुने सबै टिम र खेलाडीहरुलाई बधाई भन्नुपर्छ। त्यसमा पनि फाइनलमा आइपुगेका चितवन राइनोज र पोखरा पल्टन यी दुवैलाई विषेशरुपमा बधाई दिन चाहन्छु,' प्रचण्डले भने, 'संयोग नै मान्नुपर्छ मेरो जन्मथलो पोखरा र अहिलेको कर्मथलो चितवन हो।'

प्रमुख अतिथिका रुपमा उपस्थित हुँदा दुई जिल्लासँगको नाताका कारण साच्चै तटस्थ हुन आइपुगेको उनले बताए। 'खेल हो, जित हार हुन्छ। मुख्य कुरा खेल अनुशासनका साथ पूरा गर्ने कुरा हो,' उनले भने, 'यो प्रतियोगिता मार्फत् यहाँका खेलाडी तथा आयोजकले जुन संस्कार बसाल्नुभएको छ, त्यसको देशभरि सन्देश गएको छ।'

राष्ट्रिय एकताको सन्देश र राष्ट्रिय अनुशासनको सन्देश गएको उनले बताए। राष्ट्रलाई एकतावद्ध गर्न खेल माध्यम बनेको उनको धारणा थियो। 

सर्वाधिक राशीको प्रतियोगिता बन्न पुगेकोमा पनि उनले आयोजकलाई बधाइ दिए। 

'अब यो मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने दिशामा पार्टी, सरकार र हामी सबैको ध्यान जानुपर्दछ भन्ने लाग्दछ,' उनले भने, 'र, मेरो त्यसमा तपाइँहरुलाई साथ रहनेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु।'

उनले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले यो प्रतियोगिताको आयोजनामा अहम् भूमिका खेलेकाले पिपिएल महत्वपूर्ण बनेको बताए। 

आज भएको फाइलनमा पोखराले चितवनलाई हराएको छ।



पिपिएल फाइनल हेर्न पुगेका प्रचण्ड तटस्थ दर्शक, भने : फाइनलमा भिडेको पोखरा जन्मथलो, चितवन कर्मथलो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट