PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


फुटबल रुचाइने पोखरामा क्रिकेटको क्रेज, बालकदेखि वृद्धासम्म पीपीएलका दर्शक  


पहिलोपोस्ट

फुटबल रुचाइने पोखरामा क्रिकेटको क्रेज, बालकदेखि वृद्धासम्म पीपीएलका दर्शक  

  • कृष्ण दवाडी-

कास्की मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला। खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का प्रहार गर्छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीले छक्का र चौका हानेको हेर्न रङ्गशालामा जम्मा भएका दर्शकको बाक्लो उपस्थिति। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता सुरुवात गर्दै गर्दा आयोजकलाई चिन्ता थियो, दर्शकको उपस्थिति नभएर प्रतियोगिता निरश हुने पो हो कि? चिन्ता पनि किन नहोस्, क्रिकेट प्रतियोगिता कहिल्यै नभएको अनि फुटबल सर्वाधिक रुचाइएको ठाउँ हो पोखरा।

यही कात्तिक ९ गतेदेखि पहिलोपटक पोखरामा क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ, मङ्गलबार प्रतियोगिताको अन्तिम खेल हुँदैछ। रमणीय माछापुच्छ्रेको फेदीमा पहिलोपटक प्रतियोगिता आयोजना गरिरहँदा आयोजकको चिन्ता र चासो भने प्रतियोगिता सञ्चालनसँगै हराएको छ। खेलको पहिलो दिनदेखि नै लगातार अस्थायी प्याराफिट दर्शकले खचाखच भरिएको छ।

बालकदेखि वृद्धसम्मलाई प्रतियोगिताले लोभ्याएको छ। के बालक, के महिला, के वृद्ध सबै उमेर समूहका दर्शक क्रिकेट हेर्न रङ्गशाला पुगिरहेका छन्। दर्शकको चर्को हुटिङ र मनपरेको समूहको समर्थनले प्रतियोगितामा रौनक थपेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए।

सुरुवातदेखि नै दर्शकको उपस्थितिले आयोजकको चिन्ता हराएको उनी बताउँछन्। “पोखरा भन्नेबित्तिकै फुटबल आउँछ, यहाँ फुटबल लोकप्रिय छ, तर क्रिकेटलाई जसरी दर्शकले माया गरेर आउनुभएको छ, यसले आयोजकलाई हौसला मिलेको छ”, प्रबन्ध निर्देशक लामाले भने।

“खेलका लागि यहाँको वातावरण राम्रो भए पनि प्रतियोगिता रोचक बनाउन दर्शक पनि चाहिन्छ, भरिभराउ दर्शकभएपछि खेलाडीको खेल्ने जाँगर पनि बढ्छ”, उनको भनाई छ।

नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा दशर्कले प्याराफिटबाट देउसी भाका हालेर टिमलाई समर्थन गर्दा रङ्गशाला पुग्ने जो कोहीलाई पनि आनन्दित बनाउने गरेको छ।

राष्ट्रिय क्रिकेट टिम तथा चितवन राइनोजका कप्तान पारस खड्का भरिभराउ दर्शकको माझ खेल्दा जोश बढेर आउने गरेको बताउँछन्।

“खेलाडीका लागि दर्शक नै सबैथोक हो, दर्शकले नै खेलाडीमा जोश जाँगर भर्ने हो, पोखरेलीले खेल हेरेर उत्साह थपिदिनुभएको छ”, कप्तान खड्काले भने।

पहिलो दिनदेखि नै दर्शकको साथले प्रतियोगिता रोमाञ्चक बनेको उनको अनुभूति छ।

पोखरा–१४ का १४ वर्षीय सोनु खत्री पहिलो दिनदेखि नै रङ्गशालामा उपस्थित भएर म्याच हेरेको बताउँछन्। टेलिभिजनमा क्रिकेट हेर्ने गरेका उनी पहिलोपटक प्रत्यक्षरुपमा खेल हेर्दा रमाइलो लागेको अनुभूति व्यक्त गरे।

“क्रिकेट मलाई मन पर्ने खेल हो, आइपीएल लगायतका टुर्नामेन्ट टेलिभिजनमा छुटाउन्नथे, अहिले रङ्गशालामै आएर हेर्दा टेलिभिजनमा हेर्दाभन्दा रमाइलो भएको छ”, उनले भने।

खत्रीले दर्शकलाई खेल हेर्न राम्रो सुविधा नभएकोप्रति चिन्ता व्यक्त गरे। अस्थायी प्याराफिटमा बसेर खेल हेर्दा असुविधा भएको र शौचालयको प्रबन्ध नभएकाले सरकारले क्रिकेट विकासका लागि आधुनिक रङ्गशाला निर्माण गर्नुपर्नेमा उनको जोड छ।

प्रतियोगिताले क्रिकेटप्रतिको माहोल बढाएको र पोखरालाई खेलकूद शहरका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा चिनाएकाले क्रिकेट रङ्गशाला बनाउन ढिलाइ गर्न नहुने उनको तर्क छ।

पोखरा रामबजारका ५२ वर्षीय कमलसिंह गुरुङ पनि प्रतियोगिताको नियमित दर्शक हुन्। नेपाल विश्वकप क्रिकेट टि २० प्रतियोगितामा प्रवेश गरेपछि नेपाली क्रिकेटलाई फलो गर्न लागेको गुरुङले बताए।

पीपीएलले गर्दा नेपाली र विदेशी स्टार खेलाडीको खेल हेर्ने अवसर मिलेको उनी बताउँछन्। अहिलेको प्रतियोगिताले क्रिकेट खेल विकासमा सहयोग पुगेको उनको ठम्याइ छ।

“कतिपय अभिभावक अहिले बच्चासहित खेल हेर्न आउनुभएको छ, पक्कै पनि त्यसले गर्दा बच्चामा पनि क्रिकेट खेलप्रति रुचि अवश्य बढ्नेछ, उनले भने, “अभिभावकलाई पनि आफ्नो बच्चालाई यस खेलका लागि अगाडि बढाउन प्रोत्साहन मिल्नेछ।”

प्रतियोगितामा हरेक दिन भेटिने पोखरा रामबजारका ७२ वर्षीय वीरबहादुर गुरुङले खेलले क्रिकेटप्रति चासो बढाएको बताउँछन्। नेपालीको पहिलो रोजाइको खेल फुटबल भए पनि प्रतियोगिताले क्रिकेटप्रति चासो बढाएको उनको भनाइ छ।

खेलले यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिलेको उनले बताए। फुटबल जसरी नेपालीले सहजै बुझ्छन्, क्रिकेट बुझ्न समय लाग्ने बताउँदै उहाँले प्रतियोगिताले क्रिकेट बुझ्न र यसप्रति चासो बढाउन मद्दत पुगेको धारणा व्यक्त गरे।

क्रिकेट मैदान अन्यत्रकोभन्दा राम्रो बनेकाले यसलाई बिग्रन नदिइ संरक्षण गर्नुपर्ने खाँचो अर्का दर्शक सुजन बस्नेतले औँल्याए। प्रतियोगिताले खेलप्रति किशोरको आकर्षण बढाएकाले यसपछि थुप्रै किशोर बल र ब्याट लिएर निस्कने उनको अनुमान छ।

पोखरा– ३३ का बृहस्पतिमोहन आचार्य खेलको नयाँ ब्राण्ड क्रिकेटले सबैको मन तानेको र प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउँछन्। प्रतियोगिताले क्रिकेटको माहोलका साथै खेलाडीको क्षमता विकास र जीवनयापनमा पनि सहयोग पुग्ने भएकाले खेल भइरहनुपर्ने उनको भनाइ छ।

सरकारले व्यवस्थित क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ गर्न नहुने उनको भनाइ छ। पर्यटनको राजधानी पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण भए क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न वातावरण बन्ने भएकाले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा आचार्यले बताए।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता प्राप्त गरेकाले यसबीचमा खेलको स्तर बढाउन घरेलु प्रतियोगिताले फाइदा पुग्ने विश्वास दर्शकको छ। रासस



फुटबल रुचाइने पोखरामा क्रिकेटको क्रेज, बालकदेखि वृद्धासम्म पीपीएलका दर्शक   को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट