PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


'पार्टनर इन क्राइम' : श्रीमान् जेलमा, श्रीमती 'ग्याङ' खडा गर्ने खेलमा


सविन ढकाल

'पार्टनर इन क्राइम' :  श्रीमान् जेलमा, श्रीमती 'ग्याङ' खडा गर्ने खेलमा

काठमाडौँ : एक वर्षअघि निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। व्यापारीहरुलाई धम्क्याएर आतंकको राज फैलाउन चाहनेहरुको कुकर्म थियो त्यो। घटनाका मुख्य योजनाकारको रूपमा गुन्डा नाइके समिरमान सिंह बस्नेत भएको प्रहरी अनुसन्धानमा खुल्यो। 

केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलाई भारतबाट पक्राउ गरी ल्यायो। मुद्दा टुङ्गिएको छैन। उनी पुर्पक्षको लागि नख्खु कारागारमा थिए। 

समिरमान थुनामा भएपछि धेरैलाई लागेको थियो उनको ग्याङ अब निस्तेज होला। तर त्यसो भएन। भारतमा बसेर नेपालभित्र आपराधिक गतिविधि गर्दै आएका बस्नेतको अपराध यात्रा जेलमा पुगेपछि पनि रोकिएन। 

जेलभित्रबाट नै आपराधिक योजना बुन्दै गरेको गतिविधिको सुइँको पायो प्रहरीले। नख्खु कारागारमा रहँदा समीरले मोबाइलबाट नै योजनाबद्ध रुपमा काम गर्ने गरेको एक प्रहरी अधिकृतले जानकारी दिए। 

त्यसपछि उनलाई गत असोज १५ गते मुस्ताङ कारागार सरुवा गरियो। 

तर त्यसको केही दिनमै बस्नेतकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइन्। सिद्धान्ततः गैरकानुनी थुनामा राखिए मात्र बन्दी प्रत्यक्षीकरण रिट लाग्छ। समिरमान अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा थिए। त्यसो भए पनि रिट दर्ता भयो र सुनुवाईमा बन्दीलाई इजलाससमक्ष उपस्थित गराउन आदेश भयो। 

उनी फेरि राजधानी नै आइपुगे। 

श्रीमानलाई फेरि राजधानीमा ल्याउन सफल भएपछि पोखराको एक रेस्टुरेन्टमा श्रीमती शेरचनले डेढ लाख रुपैयाँ खर्च गरेर ‘सक्सेस पार्टी’ दिएकी थिइन्। एक प्रहरी अधिकृत भन्छन्, 'प्रहरी इन्काउन्टरमा श्रीमान् बचे भन्दै खुसी भएर पार्टी दिएको बुझियो।' 

अनुसन्धान गर्दै जाँदा प्रहरीले शेरचनले श्रीमानको विरासत थाम्दै अपराध कर्म गरिरहेको भेट्टायो। 

श्रीमतीले नै खडा गरिन् ग्याङ

करिब ८ वर्ष अगाडि समीरसँग माया शेरचनको विवाह भएको थियो। शेरचनको माइती पोखरामा छ। प्रहरीको अनुसन्धानमा समीरमान बस्नेत पक्राउ परेपछि आपराधिक गतिविधि श्रीमती शेरचनले नै सम्हालेको देखिएको छ। 

त्यसो त गुन्डा नाइके कुमार घैँटेको २०७२ भदौमा प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि पक्राउ गर्ने डरले समीर भारत भागेदेखि नै श्रीमती शेरचनले नै श्रीमानको सबै व्यवसाय सम्हाल्दै आएकी थिइन्। 

घैँटेको शेयर रहेको गजुरमुखी कन्ट्रप क्सनको सम्पूर्ण गतिविधि समेत शेरचनले नै हेर्दै आएकी थिइन्। महानगरीय अपराध अनुसन्धान महाशाखा एसएसपी धिरजप्रताप सिंह भने,' श्रीमतीले सबै ठेक्कापट्टा हेर्ने गर्थिन्। आर्थिक कारोबार उनैले चलाएकी थिइन्।'

समीरमान समूहका मुख्य सुटर अम्बरबहादुर राना, रोशन बुढाथोकी र लोप्साङ लामालाई भारतबाट पक्राउ गरी ल्याएपछि उनीहरुको बयानबाट पनि श्रीमती शेरचनको गतिविधिबारे प्रहरीले थप प्रमाण जुटाउन सफल भएको हो। 

प्रहरीका अनुसार श्रीमती शेरचनले नै उनीहरुलाई हतियारसमेत उपलब्ध गराउने गरेकी थिइन्। 

२०७३ पुस ४ गते युवा सङ्घ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गर्दा शेरचनले नै लोप्साङ लामालाई हतियार सप्लाइ गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंह बताउँछन्। एसएसपी सिंहले भने, 'हतियारदेखि पैसा र बन्दोबस्तसमेत उनले नै प्रबन्ध गर्ने गरेको खुलेको छ।'

गत सोमबार सार्वजनिक गरिएका ती तीन जनाले आफूहरूले अहिले पनि समीरकै निर्देशनमा आपराधिक गतिविधि गर्ने गरेको बयान दिएका थिए। केही समयदेखि लोप्साङले फोन गरेर राजधानीका व्यापारी, ठेकेदारसँग फिरौती माग्ने गरेको एसएसपी सिंहल बताउँछन्। उनीहरू फेरि राजधानीमा अर्को अपराध गर्ने योजना बनाउँदै थिए।

समीरमानका मुख्य सहयोगी राना, लोप्साङ र बुढाथोकी पक्राउ परे पनि अरू समूहसमेत खडा गरेर अपराध गतिविधि भइरहेको प्रहरीले सूचना पाएको छ। एक अधिकृतले भने, 'तीन जनामात्र होइन, अरू पनि अपराध गतिविधिमा सक्रिय छन्। बाँकीको हामी खोजी गरिरहेका छौँ।'

श्रीमती शेरचनले राना लगायत अरू दुई जनालाई हुन्डीमार्फत् कहिले १ लाख त कहिले डेढ लाख रुपैयाँ पठाउने गरेकी थिइन्। शेरचनले तीनै जनलाई नेपाल आए प्रहरीले इन्काउन्टर गर्ने भन्दै तर्साउने समेत गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। 

एसएसपी सिंह भन्छन्, 'आफू पनि समातिने डरले शेरचनले तीनै जनालाई प्रहरीको इन्काउन्टर गर्ने योजना भएको भन्दै भारतमा लुक्न भन्थिन्।'

अहिले श्रीमान् बस्नेतलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। श्रीमती शेरचन भने महानगरीय प्रहरी परिसरको हिरासतमा छिन्। उनलाई कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरिएको छ।   
 



'पार्टनर इन क्राइम' : श्रीमान् जेलमा, श्रीमती 'ग्याङ' खडा गर्ने खेलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट