PahiloPost

Nov 17, 2018 | १ मंसिर २०७५


जग हाले पनि घर ठड्याउन नसकेका ८० वर्षीय भूकम्प पीडितको पीडा : छोरीलाई पढाउन समेत नसकिने भयो


विधुर ढकाल

जग हाले पनि घर ठड्याउन नसकेका ८० वर्षीय भूकम्प पीडितको पीडा : छोरीलाई पढाउन समेत नसकिने भयो

काठमाडौं : २०७२ सालको भूकम्पले भएको एउटा टहरो पनि भत्कायो। यसबीच साढे तीन वर्ष बिते। यी साढे तीन वर्ष अन्नपूर्ण गाउँपालिका–१ अधिकारी डाँडाका ८० वर्षीय चन्द्रबहादुर कुँबरको परिवार अर्काको घरमा शरण लिइरहेको छ। 

अर्कैको खेत अधिँयामा लिएर काम गर्ने उनको गुजार दैनिक दूध बेचेर चल्छ। घर भत्किएको ठाउँमा एक कोठाको घर बनाउनका लागि जग हालेका छन्। सरकारले दिएको पहिलो किस्ता बापतको पचास हजार रकमले पुगनपुग ऋण खोजेरै भए पनि घरको जग त बसाले तर घर बनाउने पैसा छैन। बाँकी किस्ताले पनि घर बनाउन नपुग्ने भएपछि घर बनाउन सकेका छैनन्। 

विनासकारी भूकम्पले भत्किएको घरले परिवारका पाँच जनालाई छहारी दिएको थियो। घर परिवार विचल्लीमा छ। 

उनी दैनिकी चलाउन प्रत्येक दिन अर्काको खेतबारीमा काम गर्न जान्छन्। चार छोरीमध्ये एकको विवाह भयो। दुई छोरी स्कुलमा पढ्छन्। एकले पढाइ छाडिन्। बाँकी दुईको पढाइमा समेत समस्या आएको थियो। 

माहिली छोरी संगीताले पढाइ छाडिन्। साइली छोरी मिना १० कक्षामा पढ्छिन्। कान्छी लिला ८ कक्षामा। लीला अर्काकै चुहिने घरमा टुकीको सहारमा एसइइको तयारी गरिरहेकी छिन्। घरको आगनमा विद्युतको पोल छ। तर उनीहरुको बासमा सँधै टुकी बल्छ।

‘अर्काको घर हो। त्यही पनि चुहिने छ,’ संगीताले भनिन्, ‘घरमा बिजुली पनि छैन।’ 

कास्कीको लुम्ले, नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाँउ। हामी त्यहाँ पुग्दा पानी परिरहेको थियो। हरेक वर्षायाम अर्काको चुहुने घरमा बित्छ। हरेक जाडो याम त्यही टहरोमा टालेका थाङ्नाले कटाउँछ। 

‘छिमेकी पोखरा झरेका छन्। उनकै घरमा बास पाएका छौँ। कहिले उनीहरुले निस्की भन्नेहुन् अनि निस्किनुपर्ने हो,’ संगीताले भनिन्, ‘सरकारले दिएको पैसाले जग त हालियो। तर घर ठडाउने पैसा छैन।'

सरकारले अनुदान दिन तय गरेको मापदण्ड पनि पूरा गर्नुपर्ने शर्त राखेको छ। पुनर्निर्माण प्राधिकरणले बनाएको मापदण्ड अनुसार घर नबनाउनेले अनुदान पाउँदैन। तर, सरकारले दिने तीन लाखले मापदण्ड अनुरुपको घर बन्दैन। रकम अभावकै कारण एक वर्ष अगाडि डिपीसी गरेको उनको घरको जग अहिले अलपत्र छ। छेउमै सानो टहरोमा गाई गोरु बाँधिएका छन्। 

प्राधिकरणले दोस्रो किस्ता वापतको डेढ लाख रुपैयाँ कुँबरको खातामा हालिदिएको अन्नपूर्ण गाउँपालिकामा पुनर्निर्माण प्राधिकरणबाट खटिएकी इन्जिनियर जमुना भट्टराईले जानकारी दिइन्। ‘तर त्यो डेढ लाख निकालेर के गर्नु? घर बन्दैन। पैसा मात्र सकिन्छ,’ यही कारणले पैसा निकालेका छैनन उनले।

त्यहाँ पुग्दा ८० वर्षीय वृद्ध आफ्नी श्रीमतीसँगै अर्काको खेतमा काम गर्न गएका थिए। केही समय कुरियो। दुई छोरीहरु रुझ्दै आइपुगे। अर्काकै खेतबाट। 

‘आफ्नो खेतले वर्षभरी खान पुग्दैन। त्यसैले अर्काको खेतमा काम गर्न जानुपर्छ,’ १० कक्षामा पढ्ने लीलाले भनिन्, ‘मेला (अर्काको खेतमा काम गर्न) जाँदा आएको केही पैसाले कपी कलम किन्न पुग्छ। बाबा आमाले काम गर्दा बल्लतल्ल खान पुग्छ।’ 
स्कुल बिदा हुँदा उनी यसरी नै अर्काको खेतमा काम गर्न पुग्छिन्। 

दुई छोरीलाई जसो तसो पढाइरहेका छन्। ‘तर अब पढाउन नसकिने हो कि भन्नेमा बा आमा हुनुहुन्छ,’ संगीताले भनिन्, ‘बहिनीहरुलाई पढाउँदा वर्षको करिब १०–१२ हजार रुपैयाँ लाग्छ। मीना दश कक्षामा पढ्छे। खर्चले पुग्दैन, अब बहिनीलाई नपढाउने कुरा हुँदैछ।’ 

संगीता आफै पनि १० कक्षा भन्दा बढी पढ्न सकिनन्। मीनालाई पनि पढाइ छाडुँ छाडुँ लाग्छ रे। अरू साथी सँधै नयाँ लुगा लगाएर स्कुल जान्छन्। विद्यालयमा खाजा खान्छन्। उनको भागमा त्यो छैन। ‘कहिले काँही स्कुल नजाउँ लाग्छ। नपढुँ जस्तै लाग्छ,’ उनले भनिन्। 

घरमा पनि उनलाई पढ्ने फुर्सद छैन। ‘स्कुलबाट आएर मेला जानुपर्यो। साँझ पढ्ने हो। बिजुली छैन टुकीको भरमा,’ उनले भनिन्, ‘कसरी पास हुनु?’
 



जग हाले पनि घर ठड्याउन नसकेका ८० वर्षीय भूकम्प पीडितको पीडा : छोरीलाई पढाउन समेत नसकिने भयो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट