PahiloPost

Nov 20, 2018 | ४ मंसिर २०७५


निर्मला हत्याको १०० दिन र राष्ट्रपतिको रवाफ


किशोर नेपाल

निर्मला हत्याको १०० दिन र राष्ट्रपतिको रवाफ

  • किशोर नेपाल -
सुदूर पश्चिम, कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पूरा भएको छ। कनिकालाई यो अवसरमा पाटनमा बत्ती बालिने भएकाले त्यहाँ उपस्थितिको लागि सूचना आएको छ। यो ‘अवसर’ मा ‘सरकारका सय दिन’ गन्ती गरेर बस्ने बानी लागेका नेपालीहरूका लागि निर्मला बलात्कार र हत्याको दिन गन्ती नियमित आकस्मिकता जस्तै भएको छ। निर्मला बलात्कारपछि मारिएकी पहिलो केटी होइनन्। समयले उनलाई सन्दर्भमा तानेको छ। निर्मलाको बलात्कार र हत्याको दिनपछि अहिलेसम्म सयौं बालिका र युवतीहरूको बलात्कार र हत्या भएकोछ। झापादेखि कन्चनपुरसम्म देशको सीमाभित्र कतै मामाले चार वर्षीया भान्जीको र कतै क्रूर बलात्कारीबाट छ बर्षकी बालिकाको बलात्कार भएको छ। कंशभन्दा पनि दूराचारी कस्तो मामा होला त्यो? कस्तो नाता, केको सम्बन्ध?

कनिकालाई थाह छ : समाचारपत्रबाट विकासका समाचार बिक्नु सजिलो छैन। तर, बलात्कारका समाचार हातहातै पाइन्छ। पुलिसले सूचनाको खोजीमा रहेको नागरिकलाई सबैभन्दा सजिलोसँग, सबैभन्दा धेरै समाचार बलात्कारकै भिडाउँछ। देशमा दण्डहीनता यति मौलाउँदै गएको छ कि शक्ति र सत्ताको केन्द्रमा जबसम्म बाबा, काका, मामा, ठूला बा, साना बा र अरु नातागोता छन् तबसम्म जसले जसको बलात्कार गरे पनि हुन्छ। सत्तामा नातागोता रहुन्जेल अपराधीले आफूले गरेको अपराधको सजायँ भोग्न पर्दैन। देशमा बिद्रोह भयो। बिद्रोहपछि कायाकल्प भयो। तर, राज्यको स्वरुप बद्लिएन। सत्तामा आफन्तहरू रहुन्जेल सजाय भोग्नुपर्दैन भन्ने मानसिकताले अपराधीको दुस्साहस बढाएको छ। पाप झांगिँदै गएको छ। धर्म बेहोस भएको छ।

कनिकालाई थाह छ : देशमा बलात्कार रोक्न ‘मीटू अभियान’ प्रभावी हुँदैन। ‘मीटू अभियान’ त्यस्तो समाजमा प्रभावशाली हुन्छ जहाँ मानव चेतना उच्च छ। दश वर्ष पहिले ‘त्यो एउटा मानिस’ ले मेरो पाखुरा समात्यो, कम्मरमा चिमोट्यो, किस गर्न खोज्यो भनेर कन्फेसन गरे पनि ‘त्यो एउटा मानिस’ को पहिचान खुलाउने साहस कसैमा छैन। अचम्म लाग्दछ कनिकालाई। शक्ति र सत्ताको धेराभित्र थुप्रै महिलाहरू प्रभावशाली तहमा भए पनि उनीहरू निष्प्रभावी देखिएका छन्। त्यो हिसाबले ‘मीटू अभियान’ आवश्यक छ। शहरका स्वयंसेवी महिलाहरूले अरु केही गर्न नसके पनि कम्तीमा पीडितका नाउँमा एउटा मैन बत्ती जलाउने काम त गरेका छन्।

कनिकाको बिचारमा, देशमा राजनीतिक दलहरूको प्रभाव र सक्रियता दुवै बढेको छ। दलहरूको प्रभावकारिता नबढेको भए स्वर्गीय गिरिजाप्रसाद कोइराला कसरी हुन्थे कायम – मुकायम राजा ? तर, दलहरूको प्रभाव बढे पनि चेतना बढेको छैन भन्न अन्कनाउनु पर्दैन। देशमा सबै राजनीतिक दल, कम्युनिष्ट, कांग्रेस, राजपा, प्रतिगामी, सनातनी, सबैका भगिनी संस्थाहरू छन्। तर, ती संस्थाहरूले बलात्कार र महिलामाथि भएका अपराधबारे कहिल्यै एक शब्द बोलेको सुनिएको छैन। निर्मला र अरु केटीहरूको बलात्कार र हत्याकाण्डमा गैर सरकारी संगठनमा आवद्ध महिला सक्रिय भए। तर, ठूला–साना राजनीतिक दलका भगिनी संगठनका नेताहरू 'चूँ' सम्म बोलेको सुनिएन। देशका ५१ प्रतिशत जनसंख्याको ३३ प्रतिशतलाई अधिकारसम्पन्न गराउने भन्दा दंग पर्ने राजनीतिक दलसँग जोडिएका नेपाली महिलाहरूको चेतनास्तर यसैबाट थाहा हुन्छ। के यो प्रबृत्तिको अन्त्य होला? के बालिकाहरू बलात्कृत हुनुपर्ने र मारिने भयबाट यो ‘सुन्दर, शान्त, विशाल’ नेपालका निवासीहरू मुक्त होलान?
 

राष्ट्रपतिको प्रस्थान र आगमन

बिहीवार राति कतारको भ्रमण सकेर स्वदेश फर्किइन् महामहिम राष्ट्रपति विद्या भण्डारी। उनको स्वागतका लागि अस्पताल शैयामा स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री केपी ओली विमानस्थल जान जमजमाइ रहेका थिए। तर, चिकित्सकहरूले बलजफ्ती रोके उनलाई। अनि, यो समाचार पनि अस्पतालबाट बाहिरियो। जनता सूसुचित भए। 

राष्ट्रपति आउने र जाने दुवै दिन कान्तिपुर शहरमा गाईजात्रा मच्चिन्थ्यो। सडकमा ट्राफिक जाम हुन्थ्यो। पैदल यात्री र प्रहरी दुवैको विजोग देखिन्थ्यो। सवारी चालकको झन् बिजोग हुन्थ्यो। तर, यस पटक राष्ट्रपतिको आगमन साँझमा भएकाले यी सबै चाप अलिकति कम थिए। भीभीआइपी भनिने जनताको चहल–पहलका कारण उक्ताएका नेपाली जनताले यस्तै अवस्थाबाट जोगिन राजा फालेर साइरन–तन्त्रको अन्त्य गरेका थिए। फेरि यी नयाँ राजा कहाँबाट आए? हुन पनि राष्ट्रपतिको यात्रा जनताको त कन्त–बिजोगको उदाहरण नै बन्यो। राष्ट्रपतिको हरेक यात्रामा पत्रकार र बुद्धिजीवीहरूले कति ब्यंग्य गरे, कति कटाक्ष गरे। तर, सुरक्षा फौज र शीतल निवास प्रशासनको कानमा बतास लागेन। 

यतिबेला आफ्नो कार्यकक्षमा बसेर कनिका सोच्दै थिई, हाम्री महामहिम राष्ट्रपतिजीलाई कसबाट पो थ्रेट होला र? अल कायदाले महामहिमलाई पक्कै चिन्दैन होला। चिने पनि, युरोप, अमेरिका, भारत, पाकिस्तान छाडेर कता आउँथ्यो अलकायदा नेपाल। त्यसको त मतलव नै भएन। पापाराज्जीले खोज्ने खालको उमेर, जीवनशैली र पहिरन पनि छैन। सारी सँधै एउटै खालको पहिरिन्छिन्। रंगमात्र फरक हुन्छ बनोट उही। उहिलेका रानी, बडामहारानीले फ्रेन्च सिफोन र जर्जेटभन्दा तल्लो स्तरको सारी कहिल्यै लगाएनन्। राष्ट्रपति भण्डारीले त्यस्ता साडी कहिल्यै देखिनन्। उनले भारतीय हेन्डलूम र कान्जीवरम् बाहेक अरु खालको साडी रोजिनन्।
 
देश धर्म निरपेक्ष र राष्ट्रपति भण्डारी विचारले साम्यवादी भए पनि उनी पक्का संस्कारी हिन्दू हुन्। उनलाई राष्ट्र प्रमुखको बैदिक कालदेखिको भूमिकाको राम्रो ज्ञान छ। महामहिमका श्रीमानले संस्कृत अध्ययन गर्नु भएको थियो, त्यसैले महामहिममा त्यस अध्ययनको पूरै प्रभाव छ। तीजको ब्रतमा उनी गइन् राष्ट्रदेव भोलेबाबा पशुपतिनाथको दर्शन गर्न। तीजको दिनमा पशुपतिनाथको मन्दिर र परिसरमा पुरुषको उपस्थिति वर्जित हुनु स्वाभाविक हो। महामहिमको सवारीको बेलामा महिलाहरूको उपस्थितिलाई पनि नियन्त्रित गरियो। अहिलेका महिला त्यति चर्का नभएकाले महामहिम जोगिइन्। नत्र भने, महिलाहरूले २०४७ सालको तीजमा तत्कालीन बडा महारानी ऐश्वर्यलाई जसरी पम्फादेवी बनाएका थिए त्यसरी नै उल्फादेवी बनाउन बेर थिएन। कनिकाले सोची, यो उल्फा शब्द जनताले बुझ्लान, नबुझ्लान। उल्फा अर्थात् सित्तैंको आएको धन फुपूको श्राद्धमा खर्च गर्ने चलन। 

दशैंमा महामहिमले राष्ट्रपतिको हातबाट टीका जमरा लगाउन आएका जनताका लागि आसन नै दिइनन्। देश राजनीतिक हिसाबले सबैभन्दा गड्बडाएको समयमा प्रधान न्यायाधीश हुन पुगेका पराजुली श्रीमानले त उनका अगाडि हनुमान आसनमै घुँडा टेकेरै टीका लगाए। यसरी टीका लगाउनेको संख्या निकै थियो। तर, टेलिभिजनको लेन्सले गोपालजीलाई मात्रै देख्यो। शितल निवासको यो चाला देखेर कान्तिपुरका मानिसले आफनो पुरानै शैलीमा टिप्पणी गरे : ‘राजाको पालामा पनि यस्तो हुँदैनथ्यो।’ उनीहरूले यति पनि बुझेनन्, राजाको पालामा भएका सबैकुरा दोहोरिने भए किन चाहिन्थ्यो गणतन्त्र?

राजाकै पोजिशनमा बस्ने भाग्य लिएर आएकी राष्ट्रपति भण्डारीले सबै कुरा नबुझेकी थिइनन्। उनले जनता–जनार्दनको गुनासो सुनेपछि आफ्ना सुरक्षाकर्मीसँग भनिन्, ‘बजारमा राष्ट्रपतिको आउजाउले जनताको जीवन कष्टकर भएको हल्ला चलेको सुनेकी छु। यो सुरक्षाको ताँती हटाउन वा कटाउन पाए राम्रो हुन्थ्यो।’

सुरक्षाकर्मीको जवाफ थियो, ‘हुँदैन, महामहिम हुँदै हुँदैन। हजुरको गाथमा आघात कसैले नगर्ला, तर विप्लवको प्लानिङमा महामहिमको अपहरण पनि परेको सुनिएको छ। हिन्दी टेलिभिजन कार्यक्रम ‘तारक मेहताको उल्टा चस्मा’ मा गुण्डाहरूले कार्यक्रमका नायक जेठालालकी श्रीमती दयाभाभीलाई अपहरण गरेको त हजुरले देखिबक्सिएकै छ। त्यसैगरी उनीहरूले हजुरको अपहरण गरे भने के गर्ने? एकपटक, राजतन्त्र बचाउन नसकेर नेपालको सुरक्षा ब्यवस्थाको इज्जत गै सकेको छ। अब, अर्को पटक लोकतन्त्र पनि बचाउन सकिएन भने त डाडुमा पानी तताएर मरे बराबर भै हाल्छ।’

कुरा सुनेपछि महामहिम केही बोलिनन्। उनी अलिकति डराइन्। अलिकति झस्किइन्। अलिकति तर्सिइन्। यो राष्ट्रपति भन्ने पदको इज्जत जोगाउन कठिन छ भन्ने उनलाई थाह थियो। इज्जत जाला भनेर उनी केही बोलिनन्। उनी केही बोल्ने, बोलिहाल्ने अवस्थामा थिइनन्। जनताले उनका नाउँमा गन्धे धूप हालिरहे। पत्रकारले लेखिरहे। उनले धूपको नमिठो गन्ध सुँघी रहिन्। गालीको पर्रा सुनेको सुनेकै गरिरहिन्। तै पनि, उनको इज्जतमा कसैले अलिकति पनि दाग लगाउन सकेन।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



निर्मला हत्याको १०० दिन र राष्ट्रपतिको रवाफ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट