PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कञ्चनपुरमा ९ जनामा डेंगुको संक्रमण



कञ्चनपुरमा ९ जनामा डेंगुको संक्रमण

कञ्चनपुरः सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका ९ जना बिरामीमा डेंगुको संक्रमण देखिएको छ।

कञ्चनपुरको भीमदत्त नगरस्थित सो अस्पतालमा एक महिनामा एक महिलासहित ९ पुरुषमा डेंगु रोगको संक्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए।

'सामान्य अवस्थामा रुघा, ज्वरो लागेर आएका ९ जनालाई डेंगु रोग लागेको परिक्षणका क्रममा भेटियो', सूचना अधिकृत अवस्थीले भने, 'डेंगु देखिएका सबै बिरामीलाई अस्पतालमै उपचार गरिएको छ।' गत असोजको तेस्रो सातायता बिरामीमा डेंगुको संक्रमण देखिएको अवस्थीको भनाइ छ। डेंगु देखिएका अधिकांश बिरामी भीमदत्त नगरपालिकाकै रहेका छन्। 'गत वर्ष पनि चार-पाँच जनामा यो रोग देखिएको थियो,'अवस्थीले भने,'यस पटक यसको संक्रमण बढीमा देखियो।'

छिमेकी मुलुक भारतका विभिन्न शहरमा डेंगुको प्रकोप देखिएकोले त्यता रोजगारी गरी फर्किएका स्थानीयवासीलाई डेंगु देखिएको बताइएको छ । लामखुट्टेको टोकाइबाट डेंगु लाग्नाका साथै संक्रमण फैलिने खतरा रहने भएकोले त्यसमा सचेतना अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।

पश्चिमी नाका गड्डाचौकीमा स्थापना गरिएको ‘हेल्थ डेस्क’मा मलेरिया, क्षयरोग लगायतको परिक्षण हुने गरेको छ। भए पनि डेंगुको सीमामा जाँचको सुविधा नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

डेंगु रोग पत्ता लगाउने ‘टेस्ट किट’ महँगो पर्नाका साथै त्यसको अभावको समस्याले सीमा क्षेत्रमा सञ्चालनमा आएको डेस्कमा जाँच असम्भव रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। गड्डाचौकीमा विगत तीन वर्षदेखि हेल्थ डेस्क सञ्चालनमा रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell