PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


निर्मला हत्या : नेदरल्यान्डसको ‘निकी मोडल’ले देला परिणाम? २१ हजार जनाको गरिएको थियो डिएनए टेस्ट


निर्मला हत्या : नेदरल्यान्डसको ‘निकी मोडल’ले देला परिणाम? २१ हजार जनाको गरिएको थियो डिएनए टेस्ट

  • उमेश श्रेष्ठ/सविन ढकाल -
काठमाडौँ : २० वर्षअघि अगस्त १० तारिखका दिन नेदरल्यान्ड्सको ब्रुन्स्सुममा ११ वर्षका किशोर निकी भेर्स्टाप्पेन हराए। 

भोलिपल्ट साँझ उसको लाश एक किलोमिटर जति पर फेला पर्‍यो कम्मरभन्दा माथि नाङ्गो। लाशको प्रकृति हेर्दा यौन दुर्व्यवहार भएको जस्तो देखिन्थ्यो। तर पोस्टमार्टममा मृत्युको स्पष्ट कारण खुलेन। 

हत्यारा पत्ता लगाउन डच प्रहरीले बृहत् अनुसन्धान गर्‍यो। तर अनुसन्धानले छेउटुप्पो केही नतिजा ल्याउन सकेन। 

लामो समयसम्म डच प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा आलोचना खेप्नु पर्‍यो। कयौँ अनुसन्धान टोली बने, विघटन भए। तर नतिजा शून्य। 

निकीको शरीरमा अरुको डिएनए पनि भेटिएन। लाश भेटिएको ठाउँ नजिकै एउटा टिस्यु र चुरोटको ठूटो भेटियो जसमा मानव डिएनएको नमूना थियो।

डिसेम्बर १९९९ देखि जनवरी २००० सम्म घटनास्थलमा भएका ३५ जनाको डिएनए टेस्ट गरियो। सबको रिजल्ट आयो नेगेटिभ। 

हत्या भएको १२ वर्षपछि निकीको शरीरमा अरुको (फरेन) डिएनए पनि भेटियो। त्यसपछि ८० जनाको डिएनए स्याम्पल लिएर परीक्षण गरियो। अझै केही नतिजा आएन। 

यतिसम्म कि किशोर सहभागी भएको समर क्याम्पका सात वर्षअघि मरिसकेका संस्थापक जोस बार्टेनको शव उत्खनन् गरेर डिएनए स्याम्पलसमेत लिइयो। तर त्यो पनि म्याच भएन। 

त्यसपछि यसै वर्षको सुरुमा अर्थात् सन् २०१८ को जनवरीमा लिम्बर्ग प्रान्तका साढे २१ हजार पुरुषलाई डिएनए स्याम्पल दिन आह्वान गरिने घोषणा भयो। डच इतिहासकै सबैभन्दा ठूलो डिएनए स्क्रिनिङ कार्यक्रम थियो त्यो। फेब्रुअरीदेखि जुन महिनासम्ममा १५ हजारभन्दा बढी स्याम्पल संकलन भए। 

अन्ततः २० वर्ष पुरानो हत्याको रहस्य पत्ता लगाउन यसैले सघायो। एक ५५ वर्षीय पुरुष जोस ब्रेचको डिएनए निकीको लुगामा भेटिएको डिएनएसित मिल्यो। ब्रेचले यसअघि बच्चाहरुलाई यौन दुर्व्यवहार गर्ने गरेको पनि खुल्यो। 

हत्या भएकै बेला उनी घटनास्थल वरपर भएको त पहिले नै पत्ता लागिसकेको थियो। तर त्यतिबेला उनी त्यहाँबाट यत्तिकै गुज्रिएकोमात्र अनुमान गरिएको थियो। ब्रेच आफैले डिएनए स्याम्पल त दिएका थिएनन्, तर उनका एक आफन्तको डिएनए स्याम्पलको मद्दतले प्रहरीलाई सर्च न्यारो डाउन गर्न सघायो।  


तर अभियुक्त चार महिनाअघि नै आफ्नो घर छाडेर टाप कसिसकेका थिए। प्रहरीले स्पेनमा उनलाई २६ अगस्तमा फेला पार्‍यो र पक्रियो। अनि ६ सेप्टेम्बरमा नेदरल्यान्डसमा ल्याइयो। 

प्रहरीले उसको घरमा छानबिन गरेपछि डिएनए शतप्रतिशत मिल्यो। 

दुई दशकसम्म नेदरल्यान्डसमा रहस्यको रुपमा रहेको हत्यामा प्रहरीले पाएको सफलताबाट प्रभावित भएर हुनसक्छ नेपाल प्रहरी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको रहस्य खोतल्न पनि मास डिएनए स्याम्पलको तयारीमा छ। 

घटना भएको तीन महिना बितिसक्दापनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन।

घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मंगलबार चार जनाको र त्यसपछि  क्रमशः सयौँ व्यक्तिहरूको डिएनए परीक्षण गर्ने तयारी छ । 

शंकास्पद व्यक्तिको अनुसन्धानपछि थप निष्कर्षमा पुग्न डिएनए परिक्षण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले जानकारी दिए। एसपी कठायतले भने, 'अनुसन्धानको क्रममा रहेका केही शंकास्पद व्यक्तिको डिएनए लिने तयारी गरेका हौं।' प्रहरीले थप चार जनाको डिएनए गर्ने तयारी गरेको हो। डिएनए गरिने व्यक्तिको नाम भने प्रहरीले गोप्य नै राखेको छ।‘

बलात्कारपछि भएको हत्यामा विवादित बनेका एसपी डिल्लीराज विष्ट लगायत तीन जनाको डिएनए परीक्षण यसअघि गरिएको थियो। एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट र प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरिका दिलिपसिंह विष्टको डिएनए परीक्षण भइसकेको छ। 

रिपोर्ट अनुसार चार जनाको डिएनए निर्मलाको 'भेजिनल स्वाब' (योनीबाट संकलन गरिएको डिएनए) सित मेल खाएन। 

मास डिएनए टेस्ट दुर्लभ

मास डिएनए टेस्ट विश्वमै कहिलेकाहीँ मात्र हुन्छ। सन् २०१४ मा पश्चिमी फ्रान्सको एउटा स्कूलको ट्वाइलेटमा एक १६ वर्षीया किशोरीको बलात्कार हुँदा ४७५ स्कूले विद्यार्थी, ३१ शिक्षक र २१ स्टाफको डिएनए स्याम्पल लिइएको थियो। त्यसैगरी सन् १९९८ मा एउटा बेलायती हत्याको केसमा ८ सय जनाको स्याम्पल लिइएको थियो। सन् १९८६ मा डन एस्वर्थको बलात्कार र हत्या केसमा प्रहरीले ४ हजार पुरुषको डिएनए टेस्ट गरेको थियो र कोलिन पिचवर्थ दोषी भएको पत्ता लगाएको थियो।  

निर्मला प्रकरणमा मास डिएनए टेस्ट भयो भने यो नेपालको इतिहासमा पहिलो बृहत् डिएनए टेस्ट हुनेछ। 

सुशीला कार्की इजलासको विवादास्पद फैसला

डिएनए परीक्षणको बारेमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भने विवादास्पद फैसला गरेकी थिइन्। राजीव गुरुङ र नीता गुरुङबीच नीताको छोरा रवीन गुरुङलाई राजीवको छोरा हो भनी बाबुछोराको नाता कायम गराउन भएको मुद्दा जिल्लाबाट पुनरावेदन हुँदै मुद्दा सर्वोच्चमा पुगेको थियो। सर्वोच्चको इजलासले डिएनए परीक्षण गराउन आदेश दियो।

डिएनए परीक्षणको रिपोर्टमा राजीव र रवीनको जैविक सम्बन्ध नरहेको रिपोर्ट आयो। तर सुशीला कार्कीसहित बलराम केसीको इजलासले डिएनए स्याम्पलिङ लिँदा त्यो राजीव गुरुङ्ग कै हो भन्ने शंका देखियो भन्दै रिपोर्टमाथि नै शंकाको प्रश्न उठाउँदै बाबुछोरा नै नाता कायम रहेको फैसला २०६७ जेठ ११ गते गरेको थियो। डिएनए स्याम्पलिङमा प्रश्न उठेको भए पुनः परीक्षण गराउन सकिने भए पनि इजलासले पुनः परीक्षण गर्नुनपर्ने फैसला गरेको थियो।

प्रधान न्यायाधीश हुनुअघि संसदीय सुनुवाई समितिमा पनि यो विषय उठेको थियो। यसमा जवाफ दिँदै कार्कीले बच्चा र बाउको अनुहार हुबहु भएकोले यस्तो फैसला गर्नुपरेको तर्क गर्दै भनेकी थिइन्- ‘यहाँहरुसँग हात जोडेर भन्छु – त्यो बेलामा त्यो केटा र त्यो बाउको अनुहार एक्ज्याक्ट थियो। हामी के गरौँ? हामी यो समाजमा के गरौँ? अदालतको फैसलामा हामीले दुई बाउ छोरा हुबहु मिल्ने अनुहारलाई बच्चै होइन भन्दिउँ? अहिले पनि तपाइँहरु हेर्नुस्, दुई बाउ छोरालाई। एक्ज्याक्ट छन्, समान छन्। एउटा लाठे छ, अर्को त्यसको मिनिएचर पुतली छ। अन्याय त गर्न सकिन्न।’

कानुन छैन डिएनएबारे

सोही फैसलामा निम्न १२ विषय समेट्दै डिएनए आइडेन्टिफिकेसन एन्ड एभिडेन्स एक्ट  अर्थात् डिएनए र डिएनए को प्रमाणिक मान्यता, फौजदारी अपराधमा डिएनए को प्रयोग तथा प्याटर्निङ टेस्टमा डिएनएको प्रयोगसम्बन्धी कानून बनाउनु भनी नेपाल सरकार, कानून तथा न्याय मन्त्रालयको नाउँमा आदेश जारी गरिएको थियो। 

१) डिएनए बैँकको स्थापना,
२) डिएनए बैँकको उद्देश्य, लक्ष्य,
३) डिएनए बैँकको काम कर्तव्य,
४) डिएनए बैँकको अख्तियारवाला व्यक्ति,
५) डिएनए प्रोफाइलमा कसको एक्सेस हुन सक्ने ?
६) स्याम्पल निकाल्ने सम्बन्धी,
७) स्याम्पल दिन इन्कार गर्ने सम्बन्धी,
८) स्वेच्छाले स्याम्पल दिन पाउने नपाउने सम्बन्धी,
९) स्याम्पलको स्टोरेज र डिस्पोजल सम्बन्धी,
१०) डिएनए स्याम्पललाई ट्याम्पर गरेको,
११) डिएनए स्याम्पल गोप्य राख्ने सम्बन्धी,
१२) डिएनएको प्रमाणिक महत्व र मान्यतासम्बन्धी

फैसलाको आठ वर्ष बितिसक्दा पनि यस्तो कानुन अहिलेसम्म बनेको छैन। कानुनको अभावमा डिएनए स्याम्पल ट्याम्पर भए नभएको प्रश्न उठ्न सक्छ। 

गृह मन्त्रालयले गठन गरेको हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत डिएनएनको नमुनामै शंका व्यक्त गरेका छन् ।

डिएनए रिपोर्ट सधैँ सही हुन्छ भन्ने छैन

अहिले जसरी डिएनए रिपोर्ट नै अचूक अस्त्रका रुपमा व्याख्या गरिँदैछ, सबै अवस्थामा त्यो नहुन पनि सक्छ। यसको उदाहरण ताइवानमा भएको घटना छ। 

सन् २००९ को मार्च २४ मा दुई महिलाको सामूहिक बलात्कार भयो। पीडितहरु नशामा भएका कारण बलात्कारीहरुको पहिचान गर्न असमर्थ थिए। अरु कुनै प्रमाणले साथ नदिए पनि जिल्ला अदालत र उच्च अदालतले यो केसमा पीडितको अन्डरवेयरमा भेटिएको डिएनए टेस्टको नतिजा मात्रको आधारमा चेन लङ कीलाई दोषी ठहर गर्योन र चार वर्षको जेल सजाय सुनायो। पत्नीसित डिभोर्स भयो। पछि दोस्रो पटक डिएनए टेस्ट भयो र नयाँ प्रमाणको आधारमा उनलाई सन् २०१४ मा निर्दोष ठहर गरियो। 

डिएनए टेस्टको व्याख्यालाई फरक ढंगले बुझ्दा एक निर्दोष चार वर्ष दोषीका रुपमा रहन गएका थिए। 

 



निर्मला हत्या : नेदरल्यान्डसको ‘निकी मोडल’ले देला परिणाम? २१ हजार जनाको गरिएको थियो डिएनए टेस्ट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट