PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अझ कति दिन बस्नुपर्छ प्रम ओली अस्पतालमा? यी तीन कारणले लम्बिँदैछ अस्पतालको बास



सागर बुढाथोकी

अझ कति दिन बस्नुपर्छ प्रम ओली अस्पतालमा? यी तीन कारणले लम्बिँदैछ अस्पतालको बास

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको बेडमा छन्। 

उपचारमा संलग्न डाक्टर अरुण सायमि हिजोभन्दा स्वास्थ्यमा धेरै सुधार आएको बताउँछन्। उनका अनुसार प्रम ओलीले आज दाह्री काटेका छन्। ‘ब्रेकफास्ट’ पनि खाए। डाक्टरहरुसँग आफ्नो स्वास्थ्यको अपडेट लिए। गफगाफ गरे। अनि डाक्टरहरुलाई भने, '७२ घण्टाभित्र मलाई डिस्चार्ज गर्दिनुस्।'

प्रम ओलीले आफ्नो स्वास्थ्यमा सुधार आएको थाहा पाएपछि यस्तो भनेको बताउँछन् डा. सायमी। प्रम ओलीले आफूलाई तन्दुरुस्त महशुस गरिसकेको बताउँछन् उनी। भन्छन्, 'अहिले उहाँको सुगरको मात्रा सन्तुलन हुँदैछ। छातीको इन्फेक्सन सुधार हुँदैछ। रुघाखोकी र ज्वरो कम हुँदैछ। उहाँ ठीक हुनुहुन्छ।' 

त्यसो हो भने किन राखियो त अस्पतालमै ?

डा. सायमि प्रम ओलीलाई अस्पताल राख्नुपर्ने तीन कारण रहेको बताउँछन्। अस्पतालबाट बालुवाटारमै पठाउँदा भेटघाट बाक्लिने भएकाले फेरि संक्रमण हुने खतरा हुन्छ। फेरि बिरामी भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ।

संक्रमणबाट जोगाउन नै अस्पताल राख्नुपर्ने पहिलो कारण रहेको बताउँछन् उनी। 

अस्पताल राख्नुपर्ने दोस्रो कारण ‘रेस्ट’ रहेको बताउँछन उनी। भन्छन्, 'धपेडी बढी र रेस्ट कम भएकै कारण उहाँ बिरामी पर्नुभएको हो। रेस्ट गर्नुभएको र गत शुक्रबार एक दिन अस्पतालमा बसेको भए फेरि उहाँ अस्पताल आउनु नै पर्दैन थियो।'

प्रम ओलीको इन्फेक्सन र खोकी पूर्ण रुपमा ठीक नहुनु अस्पताल राख्नुपर्ने तेस्रो कारण रहेको बताँछन उनी। छातीको इन्फेक्शन र खोकीमा सुधार आए पनि पूर्ण रुपमा ठीक नभइसकेकाले अस्पताल राख्नुपरेको उनको तर्क छ। 

भन्छन्, 'सबै रिपोर्टले राम्रो देखाइरहेको छ। तर, सात दिन एण्टिबायोटिक खुवाउनुपरेकाले आरामको जरुरत पर्छ। एण्टिबायोटिकको असरलाई हेर्नुपर्छ।'

अझै कति दिन अस्पताल बस्छन् त प्रम?

डा. सायमिका अनुसार अस्पतालमा अझै कति दिन राख्ने सल्लाह भइसकेको छैन। बालुवाटार लाँदा भेटघाट बाक्लिने र कामको धपेडी हुनाले संक्रमणको खतरा हुन्छ। 

डाक्टरहरुको सल्लाह अझै दुई वा तीन दिन अस्पतालमा आराम गराउने भन्ने छ। तर, अझै कतिदिन अस्पताल बस्ने एकिन भइसकेको छैन।

अस्पताल पुर्‍याउँदा अवस्था गम्भीर थियो?

गत शुक्रबार प्रम ओलीलाई अस्पताल पुर्‍याउँदा उनकी निजी चिकित्सक दिव्या सिंह अमेरिकामा थिइन्। शुक्रबार अपराह्न अस्पतालमा आइसियु बेड ठीक पारेर पनि बालुवाटार नै फर्काइयो। सामान्य रुघाखोकी लागेर लगेको भन्ने समाचार आयो। शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार त्यतिबेला प्रम ओलीलाई अस्पतालमै राख्नुपर्ने अवस्था भए पनि बालुवाटारमै लगियो। बालुवाटारमै उपचार गर्ने सल्लाह भयो। प्रधानमन्त्री सिकिस्तै रहेको गलत सन्देश नजाओस् भनेर यसो गरिएको थियो।

आइतबार बिहान १ बजेर १० मिनेटमा डा. दिव्या सिंह काठमाडौँमा उत्रिन्। घर नगई सीधै बालुवाटार पुगिन्। प्रम ओलीको स्वास्थ्य चेकजाँच गरेर बिहान तीन बजे नै अस्पताल कुदाइन्। अस्पतालमा पुर्‍याउना साथ आइसियुमा बेड तयार राख्न निर्देशन थियो। तर, सिसियुमा नै राख्दा स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि आइसियुमा राखिएन। 

डा. दिव्या सिंहले पहिलोपोस्टलाई भनिन्, 'बालुवाटारमा राखेर उपचार सम्भव थिएन। झन खतरा हुन्थ्यो। त्यही भएर अस्पताल ल्याइएको हो। अहिले ठीक छ। आराम गरिराख्नु भएको छ।'

यसबीच अस्पतालले प्रम ओलीको स्वास्थ्य अवस्थावारे तीन पटक ब्रिफ्रिङ गरेको छ। सोमबार बिहान र साँझको ब्रिफ्रिङमा स्वास्थ्य अवस्था सुधार रहेको मात्र बताएको थियो। तर, मंगलबारको ब्रिफ्रिङमा भने ब्रेकफास्ट खाएको, दाह्री काटेको र कुराकानी गरेको बताइएको छ। 

यसबाट पनि प्रम ओलीको स्वास्थ्य अवस्था हिजोको तुलनामा आज धेरै सुधार भएको देखिन्छ। तैपनि उनलाई केही दिन अस्पताल राख्नै पर्ने चिकित्सकहरुले बताइरहेका छन्।

डा. सायमि भन्छन्, 'अहिले उहाँ रेस्ट गरिरहनुभएको छ। स्वास्थ्य अवस्था सुधार गर्न रेस्ट नै उपयुक्त उपचार हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell