PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धपेडी बढी, 'रेस्ट' कम : यस्तो छ प्रम ओली अस्पतालमा भर्ना हुनुपर्ने गरी बिरामी हुनुको कारण



सागर बुढाथोकी

धपेडी बढी, 'रेस्ट' कम : यस्तो छ प्रम ओली अस्पतालमा भर्ना हुनुपर्ने गरी बिरामी हुनुको कारण

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानदेखि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका छन्। 

उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमि अस्पतालमै दुई/तीन दिन राखेर ‘रेस्ट’ गराउनुपर्ने भए पनि अवस्था चिन्ताजनक नभएको बताउँछन्।

चिकित्सकहरुका अनुसार छातीमा संक्रमण बढ्नुका साथै रगतमा सुगरको मात्रा समेत बढेका कारण स्वास्थ्यमा समस्या देखिएको हो। 
मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई सामान्य रुघाखोकी लाग्दा पनि इन्फेक्शन हुन्छ। 

निजी चिकित्सक डा. दिव्या सिंह धपेडीको कारण प्रम ओली बिरामी परेको बताउँछिन्। मिर्गौला प्रत्यारोपण गरेको मानिसले अन्य मानिसको तुलनामा बढी ‘रेस्ट’ गर्नुपर्ने भए पनि प्रम ओलीले ‘रेस्ट’ नगरेकाले समस्या आएको उनी सुनाउँछिन्। 

दशैँको टीका लगाउने बेला बढी धपेडी भएकै कारण ओलीलाई रुघाखोकी सुरु भएको उनको तर्क छ। 

भनिन्, 'टीकाको बेला उहाँको धेरै मानिससँग जमघट भयो। त्यही बेला रुघाखोकीको जीवाणु सर्‍यो। खोकी लाग्यो। त्यसैलाई केयर नगरिकन काममा लाग्दा उहाँलाई इन्फेक्सन भयो।'

यद्पि निमोनिया भएर फोक्सोमा पानी नजमेको उनले सुनाइन्। हिजोको भन्दा अवस्था सुध्रिएको उनको दाबी छ।

उनका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन। अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ। त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइने गरिन्छ। 

त्यसरी प्रतिरक्षा प्रणालीलाई लठ्याउने औषधिकै कारण शरीरमा सुगरको मात्रा बढ्छ। उनले भनिन्, 'अहिले प्रम ओलीलाई भएकै त्यही हो।'

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्। प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ। 

सिंहका अनुसार यस्तो अवस्थामा प्रतिरक्षा प्रणालीलाई लठ्याउने औषधि दिइएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। 

प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणालीमा आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा हुन्छ। 

उनले भनिन्, 'प्रतिरक्षा प्रणाली कमजोर पार्न दिएकै औषधि कै कारण इन्फेक्शन सुरु भएको हो। सामान्य रुघाखोकी लाग्दा पनि यस्तो हुन्छ।'

मिर्गौला प्रत्यारोपणपछि यस्तो संक्रमण धेरै हुन्छ। सामान्य भन्दा सामान्य कुरामा ध्यान दिनुपर्छ। रेस्ट धेरै गर्नुपर्छ। सिंहले भनिन्, 'अहिले धपेडी बढी र ‘रेस्ट’ कम भएर संक्रमण भएको हो। यस्तै संक्रमणको कारण निमोनिया हुने हो। तर अहिले त्यस्तो भइसकेको छैन।'

निजी चिकित्सक सिंह सोमबार राति १ बजेमात्र नेपाल फर्किएकी हुन्। सिंह स्वदेश फर्कनासाथ राति २ बजे स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगेकी थिइन्। 

बालुवाटार पुगेर स्वास्थ्य परीक्षण गरेपछि उनले प्रधानमन्त्रीलाई अस्पताल जान सुझाव दिइन। सिंहले  स्वास्थ्य परीक्षण गरेलगत्तै प्रधानमन्त्रीलाई अस्पताल लगेर बिहान ४ :३० बजे भर्ना गरिएको थियो।

यसअघि शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्यारइएका प्रधानमन्त्रीलाई अस्पतालमा नराखी घरमै आराम गर्न पठाइएको थियो। 

रगतमा सुगरको मात्रा समेत बढेपछि अहिले त्यसलाई नियन्त्रणमा लिन उनलाई इन्सुलिन दिइएको छ। त्यसैगरी एन्टिबायोटिक इन्जेक्सनबाट दिइएको छ।   

लोअर रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन भएको कारण उनको खोकी रोकिएको छैन। यसो हुँदा छाती घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने हुन्छ। 
सोही कारण सावधानी अपनाउन अस्पताल ल्याइएको चिकित्सकहरु बताउँछन्। 

भन्छन्, 'अस्पतालमा धेरै मान्छे भेट्न आउन्नन्। इन्फेक्शन हुँदैन र रेस्ट पुग्छ भनेर यहाँ राखिएको हो। मुटुको कुनै समस्या छैन।' 

केही मिडियाले प्रधानमन्त्रीलाई आइसियुमा राखिएको भनी समाचार दिए पनि उनलाई सिसियुमा राखिएको हो। चिकित्सकहरुले सिसियुमा पनि राख्ने अवस्था नभएको दावी बिहानको ब्रिफिङमा गरे। 'सिसियुको जरुरत नभए पनि सिसियुको भित्र राखेका हौँ, भोलिसम्म स्थिति सामान्य अवस्थामा आउँछ, उनीहरुले भने। 

आइसियु इन्टेन्सिभ केयर युनिटको संक्षिप्त रुप हो। एकदमै गम्भीर बिरामीलाई आइसियुमा राखिन्छ। सिसियु कोरोनरी केयर युनिटको संक्षिप्त रुप हो। सिसियुमा कार्डियोभस्कुलर अर्थात् मुटुसँग सम्बन्धित बिरामीलाई राखिन्छ।

डा. सायमीले प्रधानमन्त्रीको अवस्था सुधारोन्मुख रहेको बताउँदै तत्काल विदेश लैजानु पर्ने अवस्था नरहेको बताए। प्रम ओलीलाई अहिलेसम्म एक्सरे दुई पटक, मुटुको इसीजी, इको र चिनीको मात्रा पत्ता लगाउन  रगतको जाँच गरिएको सायमीले जानकारी दिए। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell