PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, आइसियु हैन सिसियुमा उपचार हुँदै



सागर बुढाथोकी

प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, आइसियु हैन सिसियुमा उपचार हुँदै

काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली खटिएको छ। 

उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र  जनरल मेडिसिनका डा. सन्तकुमार दासको मुख्य टिम छ। क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्यले सघाइरहेका  छन्। 

निजी चिकित्सक डा. दिव्या हिजोसम्म विदेशमा रहे पनि आज स्वदेश फर्केर उपचारमा संलग्न भइसकेकी छिन्।


डा. अरुण सायमि।

केही मिडियामा प्रधानमन्त्रीलाई आइसियुमा राखी उपचार गरिएको भनिए पनि सिसियुमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

आइसियु इन्टेन्सिभ केयर युनिटको संक्षिप्त रुप हो। एकदमै गम्भीर बिरामीलाई आइसियुमा राखिन्छ। सिसियु कोरोनरी केयर युनिटको संक्षिप्त रुप हो। सिसियुमा कार्डियोभस्कुलर अर्थात् मुटुसँग सम्बन्धित बिरामीलाई राखिन्छ। 

अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई पुर्‍याइएको हो। शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ।

चिकित्सकको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारमा उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

शुक्रबार अपराह्न पनि प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल लगिएको थियो। तर निवासमै आराम गरी उपचार गर्न फर्काइएको थियो।  

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्।

चिकित्सकहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन। अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ। त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ।

औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा। यही कारण प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell