PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राजापाक्षेको श्रीलंकामा ‘कमब्याक’: दक्षिण एसियामा चिनियाँ प्रभावको निरन्तरता



विधुर ढकाल

राजापाक्षेको श्रीलंकामा ‘कमब्याक’: दक्षिण एसियामा चिनियाँ प्रभावको निरन्तरता
फोटो: oneindia.com

काठमाडौं: श्रीलंकामा पूर्व राष्ट्रपति माहिन्दा राजापाक्षेको ‘कमब्याक’लाई लिएर विश्वले चासोका साथ हेरिरहेको छ। चार वर्ष अगाडि ‘अपदस्थ' प्रधानमन्त्री रानिल विक्रमासिंगेलाई साथमा लिएर राष्ट्रपति पदमा पराजित गरेका उनै राजापाक्षेलाई राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक प्रधानमन्त्रीमा नियुक्त गरे। योसँगै उनले संसदलाईसमेत नोभेम्बर १६ सम्मलाई निलम्वित गरेका छन्।

श्रीलंकामा देखिएको संकटपछि युरोपियन युनियन सम्बद्ध देशहरुले वक्तव्य जारी गर्दै नजिकबाट नियालिरहेको जनाएका छन्। युरोपियन युनियनका राजदुतसहित फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्डस्, रोमानिया र युकेका राजदुतहरुले पछिल्लो विकासक्रमलाई नजिकबाट नियालिरहेको भन्दै सबै पक्षलाई श्रीलंकाको संविधान अनुसार अगाडि बढ्न आग्रहसमेत गरेका छन्। त्यस्तै उनीहरुले प्रेस स्वतन्त्रताको सम्मान गर्नसमेत आग्रह गरेका छन्।

अमेरिकाले पनि संविधानसम्बत ढंगले अगाडि बढ्न सबै पक्षलाई आग्रह गरेको छ। अमेरिकी स्टेट डिपार्टमेन्टले श्रीलंकाको पछिल्लो राजनीतिक विकास क्रमसँगै पहिलो पटक प्रतिक्रिया सार्वजनिक गर्दै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।

‘हामी सबै पक्षलाई श्रीलंकाको संविधानसम्बत ढंगले अगाडि बढ्न आग्रह गर्छौँ। श्रीलंका सरकारले मानव अधिकारको जेनेभा कमिटमेन्टलाई पूर्णतय कार्यान्वयन गर्ने अपेक्षा राखेका छौँ।’ स्टेट डिपार्टमेन्टको दक्षिण तथा मध्य एसिया ब्युरोले भनेको छ।

नजिकबाट नियाल्दै दिल्ली

यसैबीच भारतले श्रीलंकामा देखिएको पछिल्लो राजनीतिक संकटलाई नजिकबाट नियाली रहेको छ। यद्यपि उसले यसलाई श्रीलंकाको आन्तरिक मामिला बताए पनि उसले नजिकबाट घटनालाई नियालिरहेको वन इण्डियाले जनाएको छ।

दिल्लीले गत सातामात्र सम्पन्न श्रीलंकाको मन्त्रिपरिषदको बैठकपछि भएको घटनाक्रमलाई नियालिरहेको समाचारमा उल्लेख छ।

दिल्लीका अधिकारीलाई उदृत गर्दै समाचारमा दिल्लीले श्रीलंकाको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। उसले श्रीलंकामा चीनसँग निकट राजापाक्षेको उदयलाई लिएर चासो देखाएको छ। राजापाक्षेत्रको पुनःउदयसँगै कोलम्बो दिल्लीसँग थप टाढिने र बेइजिङसँग नजिकिने शंका व्यक्त गरिएको छ।

इण्डियन एक्सप्रेसले पछिल्लो घटनाक्रमलाई दिल्लीले मौन रुपमा अध्ययन गरिरहेको र कोलम्बोका तीन राजनीतिक खेलाडीहरु, सिरिसेना, राजापाक्षे र विक्रमासिंगेमाथि नजर राखिरहेको जनाएको छ।

दक्षिण ब्लकको स्रोतलाई उदृत गर्दै समाचारमा कोलम्बोका तीन राजनीतिक खेलाडीहरु भारतीय नेतृत्वसँग निरन्तर सम्पर्कमा रहेको दाबी गरिएको छ।

‘अपदस्त’ प्रधानमन्त्री विक्रमासिंगेले प्रधानमन्त्री निवास टेम्पल ट्रिमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई ब्रिफिङ गर्दै अझै आफू प्रधानमन्त्री भएको बताएका थिए।

पछिल्लो समय यी तिनै खेलाडीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निरन्तर सम्पर्कमा थिए। राष्ट्रपति सिरिसेनाले मोदीलाई बिम्स्टेक सम्मेलनका क्रममा काठमाडौंमा अगस्टमा भेट गरेका थिए। त्यस्तै राजापाक्षेले सेप्टेम्बरमा दिल्ली भ्रमणका क्रममा मोदीलाई भेट गरेका थिए।

विक्रमासिंगेले यही महिनानै मोदीसँग भेट गरेका थिए। त्यसको अघिल्लो दिन मोदी र सिरिसेनाबीच टेलिफोन वार्तासमेत भएको थियो।

‘यो हाम्रो लागि आश्चर्यको अवस्था थिएन। कोलम्बोस्थित हाम्रो मिसनले पछिल्लो विकासक्रमबारे हामीलाई अवगत गराइरहेको थियो,’ उच्च स्रोतले भनेको भन्दै इण्डियन एक्प्रेसले उल्लेख गरेको छ।

भारत श्रीलंकाको घटनाक्रममा हतारमा टिप्पणी गर्नेमा पक्षमा छैन। ‘हामीलाई जानकारी छ दक्षिण एसियाको राजनीति चलायमान छ। त्यसैले हामीले कुनै एक पक्षलाई रोजेर हतारमा गल्ती गर्न चाहन्नौँ। हामीले अवस्थाको अध्ययन गरी राष्ट्रिय स्वार्थलाई हेरेर निर्णय गर्ने छौँ,’ स्रोतले भनेको छ।

हाल भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुस्मा स्वराज जापान भ्रमणमा छन्। उनीसँगै विदेशसचिव विजय गोखले पनि उतै छन्। यस्तोमा गोखलेले निरन्तर रुपमा कोलम्बोस्थित भारतीय हाई कमिस्नर तरनजित सान्धुसँग सम्पर्कमा रहिरहेका छन्।

पछिल्लो समय राष्ट्रपति सिरिसेनाले ‘र’ले आफ्नो हत्या गर्ने प्रयासमा लागेको आरोप लगाएका थिए। त्यस्तै राजापाक्षेले २०१५ को निर्वाचनमा ‘र’ आफूलाई पराजित गर्न लागेको आरोप लगाउँदै आएका थिए। 

चिनियाँ प्रभावको उदय

चीन निकट मानिने राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त भएसँगै चीनले उनलाई बधाई ज्ञापन गरेको छ। श्रीलंकाको सरकारी मिडियाले चिनियाँ राजदुत चेङ सुयेयुनले राजापाक्षेसँग भेट गर्दै चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश सुनाएका हुन्। राजापाक्षेको निवासमै पुगेर राजदुतले भेट गरेको समाचारमा उल्लेख छ। चिनियाँ राजदुतले श्रीलंकाको विकासमा चिनियाँ सहयोग निरन्तर रहिरहने प्रतिवद्धता व्यक्त गरेका थिए।

तीन नेताको शक्ति संघर्षले श्रीलंकालाई चीनसँग नजिक गराउने ब्लुम्बर्गले विश्लेषण गरेको छ। सन् २००५ देखि २०१५ सम्मा श्रीलंकामा शासन गरेका राजापाक्षेलाई पराजित गर्न सिरिसेना र विक्रमासिंघेको गठबन्धन बन्यो। तर यस गठबन्धन हालै श्रीलंकामा सम्पन्न स्थानीय तह निर्वाचनमा नराम्रोसँग पराजित भयो। राजापाक्षेको दलले अधिकांश स्थानीय तहमा विजयी हासिल गर्‍यो।

राजापाक्षेको उदय, विक्रमासिंघेको विदेश नीतिका कारणपनि भएको विश्लेषण गरिएको छ। उनले चीनसँग दुरी बढाउँदै भारत र जापानसँग सम्पर्क नजिक गरेका थिए।

‘सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री बनाउनु आफ्नो राजनीतिक बचाउका लागि हो। तर पनि यसले चिनियाँ लगानीका लागि थप ढोकासमेत खोलेको छ,’ पोलिटिकल रिस्क फार्म युरासिया समूहका एसिया निर्देशक सैलेश कुमारले भनेका छन्, ‘राजापाक्षेका चिनियाँ साथिहरु धेरै छन् र उनले यसको नेतृत्व गर्न सक्छन्। यो परिवर्तनले चीनलाई फेरि पनि श्रीलंकाको अर्थतन्त्रमा प्रभाव जमाउन सहयोग गर्ने छ।’

यो विकास क्रममा श्रीलंकामा चीन र भारतको शक्ति संघर्षको रुपमा ब्लुमवर्गका रिपोर्टर इयान मार्लो र अनुसा ओन्डात्जेइले बताएका छन्।

‘यो एउटा भारत र चीनको दक्षिण एसियामा प्रभाव विस्तार गर्नका लागि चलेको संघर्ष हो। चीन फेरि पनि कोलम्बोको अन्तिम आशाको रुपमा अगाडि आएको छ,’ कुमारले भनेका छन्।

दक्षिण एसियामा फहराउँदो रातो झण्डा

दक्षिण एसियामा पछिल्लो समय चीनसँग नजिक रहेका शक्तिहरु सत्तामा आएका छन्। नेपालबाट सुरु भएको यो यात्रा भुटान हुँदै श्रीलंकामा देखिएको छ। गत वर्ष नेपालमा सम्पन्न निर्वाचनमा बाम गठबन्धन सत्तामा आयो।

चीन निकट मानिएको कम्युनिस्ट सरकार नेपालमा आएको वर्ष दिन नपुग्दै भुटानमा पनि लाल झण्डा फहरायो। भारतीय संस्थापन पक्षसँग निकट मानिएको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)लाई पराजित गर्दै बामपन्थी दल ड्रुक न्यामरुप सोग्पा (डीएनटी) ठूलो दल बनेको छ। ५० वर्षीय मेडिकल सर्जन लोत्या छिरिङले नेतृत्व गरेको डीएनटीले ४७ मध्ये ३० सिटमा विजयी हात पार्दै छिरिङ प्रधानमन्त्री बनेका छन्। भुटानी नागरिकहरुले परिवर्तन चाहेको यो निर्वाचनले देखाएको छ।

यो निर्वाचनसँगै हिमालयको सानो अधिराज्यले आफ्नो परम्परागत छिमेकी मित्र भारतसँगको परनिर्भतालाई घटाउने प्रयास गरेको छ। पछिल्लो सरकार गठनसँगै भुटानले चीनसँगसमेत कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्भावना बढेर गएको दक्षिण एसिया मामिलाका जानकारसमेत रहेका भारतीय वुद्धिजिवी एसडी मुनीले साउथ चाइना मर्निङ पोस्टमा लेखेका छन्।

यसले भुटानमा भारत र चीनको आर्थिक तथा कुटनीतिक प्रतिस्पर्धा बढाउनेसमेत उनले बताएका छन्। ‘भारतले भुटान र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने कुरालाई अस्वीकार गर्ने कुरामा कुनै कारण खोज्न सकिँदैन्। भारतले आफ्नो सुरक्षा शान्ति र व्यवारिक वातावरणमा अवरोध चाहँदैन्,’ उनले लेखेका छन्।

दक्षिण एसियामा चीन प्रवेश नगरेको एउटा मात्र देश हो भुटान, जहाँ भारतको प्रत्यक्ष प्रभाव रहँदै आएको छ। तर पछिल्लो निर्वाचनले भारत समर्थित दललाई भुटानमा पाराजित गरेको छ। यस्तोमा चीन भुटानमा प्रवेश गर्ने स्पष्ट देखिन्छ।

निर्वाचनको केही समय अगाडि चीनका उप विदेशमन्त्री कोङ सुयानयोले भुटानको दुई दिने भ्रमण गरेका थिए। भुटानसँग कुटनीतिक सम्बन्ध नभएको अवस्थामा पनि उनको यो भ्रमणमा भुटानका राजा जिग्मे केशर नाम्ग्याल, तत्कालिन प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेट गरेका थिए।

यसै वर्ष बंगलादेशमा पनि निर्वाचन हुँदै छ। यो निर्वाचनलाई पनि नजिकबाट नियालीएको छ। बंगलादेशमा पछिल्लो समय चीनले लगानी बढाएको छ। यसले चिनियाँ प्रभावलाई बढाउने र भारतीय प्रभावलाई कम गराउने अपेक्षा गरिएको छ।

पाँच दिन पछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीनको भ्रमणमा जाँदै छन्। नोभेम्वरमा बेइजिङले खानलाई स्वागत गर्दै छ। पाकिस्तानमा पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको चीनले पाकिस्तानलाई विकास सहयोगमा बढाउँदै जाने बताएको छ।

चिनियाँ विदेशमन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानको आर्थिक संकट चलिरहेको अवस्थामा पाकिस्तानलाई सहयोग गर्ने जनाएको छ। ‘हामीले हाम्रो क्षमताले सके सम्म सहयोग गर्ने छौँ,’ पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयीनले भनेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell