PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धोबीखोला करिडोरः कतै फोहोरले ढाक्यो कतै बन्यो पार्किङ हब, फेरिएन पैदलयात्रुको सास्ती

धोबीखोला करिडोरः कतै फोहोरले ढाक्यो कतै बन्यो पार्किङ हब, फेरिएन पैदलयात्रुको सास्ती

स्वेच्छा राउत/पहिलोपोस्ट


पाँचथरका मदनप्रसाद दाहाल १२ वर्षअघिदेखि काठमाडौँको शंखमुलबाट युएनपार्क जाने बाटोमा टहरो बनाएर बस्दै आएका छन्। ८ वर्षसम्म कुनै दिन पनि सास्ती नखेपी सुकुम्वासी बस्ती नजिकको टहरादेखि चोकको पसल जान वा गाडी चढ्ने ठाउँसम्म ओहोरदोहोर गर्न पाएनन्। हिलो छल्न कहिले नरकट काटेर फिजाउँथे त कहिले बालुवा ल्याएर हाल्थे। जुन, अस्थायी समाधान बाहेक केही बनेन। घरमा भएको मोटरसाइकल निकाल्न सकेनन्। त्यसैले हिलो छल्दै गाडी चढ्न पुग्नु पर्थ्यो। वर्षा याममा वागमती खोला बढेर घरभित्रसम्म छिर्थ्यो। पानी नपर्दा धुलोको सास्ती। खोला गह्नाएर उस्तै।

‘छोडेर हिँड्न पनि नमिल्ने, बस्न पनि सकस’, दाहाल बाध्यता सुनाउँछन्।

३ वर्ष भयो उनको छाप्रो अगाडिको बाटो धुलो र हिलोरहित भएको। अहिले पिच सडकसँगै जोडेर सानो खुद्रा पसल खोलेका छन्। त्यसअघि फर्निचरको व्यापार गर्न एक लाख खर्च गरेर टहरा बनाएका थिए। बाटो बिस्तारका लागि भत्काइयो।

‘पैसा त नास भयो तर अहिले घरभित्र बाहिर शान्तिको सास फेर्न पाइन्छ, घाम ताप्न पाइन्छ यसैमा खुसी छौँ’, उनले भने, 'अब समस्या छैन। पहिलेको तुलनामा स्वर्गमै बसेकोजस्तो भएको छ।’

दाहालले वागमती किनारमा फूल रोपेका छन्। अम्बा लगाएका छन्। उनीसँगै श्री सत्य साइ बाबा उद्यान र काठमाडौँ वडा नं १० को कार्यालयले पनि वागमती खोलाको करिडोरमा फूल, फल रोपेको छ। हरियाली बढेको छ। वातावरण सुन्दर देखिन्छ। जसको स्याहार सुसार र मलजलका लागि उक्त क्षेत्रमा सीताराम मगर तलवी सेवा गर्छन्। स्थानीयलाई त सजिलो भएको छ नै साथै, बिहान बेलुका व्यायाम, योगाका लागि आउने मान्छेको चाप पनि बढेको छ।

पहिले बाटो छेउमा बालबच्चालाई शौंच गराउनेहरुले त्यसो गर्न छाडे। फोहोर फाल्नेहरु पनि सतर्क छन्। यो सब खोला आसपास बनेको करिडोरका कारण सम्भव भएको बताउँछन् दाहाल।

सुनाउँछन्,’बरु अन्तबाट आउनेहरु पो फूल आफैं उम्रे जसरी टिप्छन्, लिएर जान्छन्। चुँड्छन्, फाल्छन्। देख्नेले सम्झाउँछौँ।‘

नदी सरसफाइसँगै बनेको करिडोर र पार्क तथा बगैँचाहरूका कारण नदी किनार सुन्दर देखिन्छ।

कोटेश्वर बस्ने विशाल आचार्यको दैनिकीमा पनि उपत्यकाका खोला आसपास निर्मित करिडोरले प्रभाव पारेको छ। उनी बिहान बेलुका फ्रेस हुनकै लागि करिडोरका बाटोहरू प्रयोग गर्छन्। पहिले कलङ्की जानका लागि बानेश्वरबाट माइतीघर, त्रिपुरेश्वर हुँदै निस्कने उनी अहिले किनारै किनार सानेपा हुँदै जान्छन्। भन्छन्,‘पहिले थापाथली त्रिपुरेश्वर निस्किन पनि घुमेर जानपर्थ्यो अहिले खोला किनारको बाटो जाँदा छिटो पनि हुन्छ जाम पनि पर्दैन। केही भाग बन्दा यस्तो सहज छ सबै करिडोर निर्माण सक्किँदा सहर व्यवस्थित बन्नमा केही सहयोग पुर्‍याउला।'

यात्रुका लागि सहज देखिए पनि सहरमा बनेका सबै करिडोरको प्रयोग र व्यवस्थापन उस्तै छैन। अनामनगर भाटभटेनी नजिकको पुलबाट केही मिटरभित्र पसल राखेर बसेकी नीलम कार्कीलाई धोबीखोला करिडोर निर्माणपछि बढेको दुर्घटनाले अत्याउँछ। ‘एकदम हाइ स्पिडमा आउँछन्। कतिखेर कता लड्छन्, ठोक्किन्छन् थाहा हुँदैन’, उनी गुनासो गर्छिन्।

धोबीखोला करिडोरमा देखिने अस्तव्यस्तता र समस्या द्रुत गतिका कारण बढेको दुर्घटनामा मात्र सीमित भने छैन।


२३ वर्षीया भोला कोइराला करिडोर बनेपछि दैनिक मर्निङवाक हिँड्थे। रातोपुलबाट अनामनगर भाटभटेनीसम्म पुग्नु उनको दैनिकी बनेको थियो। तर अहिले सेतोपुल करिडोर छेउमा फालिएका फोहोरको थुप्रोका कारण उनलाई त्यो बाटो हिँड्न मन लाग्दैन। ‘स्वच्छ हावा लिन भनेर हिँडेको, फोहोरको रागले सताउँन थाल्यो’, उनी भन्छन्,’ यस्तो राम्रो बाटो बनाइदिए। अहिले हामी जनताले नै फोहोर फालेर कुरूप बनाउँदैछौँ।'

उनले धेरै पटक मर्निङ वाक आउँदा फोहोरको पोको ल्याएर फाल्नेहरू देखेको बताउँछन्। ‘यो सबै वातावरण बिगारेर स्वास्थ्य सपार्न लागि पर्नेहरूको दोष हो।’

यस विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पहिलोपोस्टसँग भने, 'हामीलाई यसबारे जानकारी छैन। फोहोर फाल्नेको फोटो खिचेर राख्नुस् हामी समात्छौँ।'

सहरी सौन्दर्य बढाउने, उपत्यकाको ट्राफिक चाप कम गर्ने तथा नदी व्यवस्थापनको उदेश्यले वागमती, विष्णुमती, धोबीखोला लगायत नदी छेउहरूमा करिडोर निर्माण थालिएका हुन्। विभिन्न फेजहरुमा निर्मित यी करिडोरले उपत्यकाबासीको दैनिकीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेका छन्।

करिब ८ वर्ष अघिबाट निर्माण थालिएको धोबीखोला करिडोरको काम सकिएको छैन। तीन वटा फेजमा निर्माण भइरहेको उक्त करिडोरको पहिलो फेज बागमती दोभानदेखि चाबहिलको वैजनी पुलसम्म हो। दुई किनारमा ५-५ किलोमिटरको करिडरको ९० प्रतिशत काम सक्किएको धोविखोला करिडोर सुधार आयोजना प्रमुख दिलीप भण्डारीले जानकारी दिए। मङ्सिरसम्ममा पहिलो फेज पूरा हुने भण्डारीले बताए।

फोहोरले फुटपाथ र सवारी गुड्ने सडक ढाक्नु, दुर्गन्ध फैलाउनु सिवाय यो करिडोरको अधिकांश भाग ठेला पसलहरुले ओगटेको पाइन्छ।

काभ्रेकी चन्द्रकला श्रेष्ठले सटरमा पानीपुरी र चट्पटे बेच्थिन्। सडक बिस्तारको क्रममा सटर साँघुरियो र उनले ठाउँ छोड्नु पर्‍यो। अहिले उनी करिडोरमै ठेला राख्छिन्। भन्छिन्, 'बनाउने भनेर वर्षौँ आलटाल गर्दा हामीले नै सास्ती खेप्नु पर्‍यो  अहिले बनिसक्दा पनि हामीलाई नै गाह्रो छ। स्थानीयले पनि गाली गर्छन्, गाडी चलाउनेले पनि कराउँछन्। नगरपालिका आएर लखेट्ने डर बेग्लै छ।'

ठेलासँगै वर्कसप लगायतका निजी व्यवसाय गर्नेले पनि सडक दुरुपयोग गरेको पाइन्छ।

९ मिटर चौडाइ रहेको सडकमा दुई लेन ३.५ – ३.५ मिटरको रहेको छ। त्यस्तै फुटपाथ २ मिटरको बनेको छ। तर करिडोरको विभिन्न मोड तथा फुटपाथ छेउ गरिने पार्किङहरूले सडकलाई साँघुरो बनाएको छ। जथाभाबी राखिएका मालवाहक तथा निजी सवारी साधनहरूका कारण नीलम कार्कीले बताएजस्तै सानो तिनो दुर्घटना भइरहन्छ। साथै रोकी राखेको सवारीमा ठोक्किने, सवारी जाममा पर्ने समस्या पनि रहेको स्थानीय बताउँछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार करिडोर निर्माण अझै पूर्ण नभएकाले उक्त समस्या देखिएको हो। भन्छन्, 'बनिसकेको लोकेसनहरुमा त्यस्तो समस्या छ भने हामी महानगरपालिकासँग समन्वय गरेर कारबाहीसहित बाटो क्लियर गराउँछौँ। साथै व्यवस्थित पार्किङका लागि निर्देशन दिन्छौँ।'

धोबीखोला करिडोर अन्तर्गत बनिसकेका सडकहरूमा देखिने यो अस्तव्यस्तता स्थानीय तहलाई हस्तान्तरण गरेपछि नदेखिने दाबी गर्छन् आयोजना प्रमुख भण्डारी। दोस्रो र तेस्रो फेजमा क्रमशः चाबहिलको वैजनी पुलदेखि कपन भंगालसम्म दुईतर्फ ८ किलोमिटर र भंगालदेखि राममन्दिरसम्म दुईतर्फ ५ किलोमिटर निर्माण सम्पन्न भएपछि हस्तान्तरण हुने उनले बताए।

ढल र मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम ढिला भएकाले धोबीखोला करिडर निर्माण सुस्त भएको उनी बताउँछन् उनी। ‘दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौँ। साथै बनिसकेका करिडोरको उचित प्रयोग र व्यवस्थापनको लागि पनि सम्बन्धित निकाय र स्थानीयसँग समन्वय गर्नेछौँ।’

उनले बनाउनेसँगै प्रयोग गर्नेले पनि यस्ता विषयहरूमा ध्यान दिए सहर सुन्दर, व्यवस्थित बन्न करिडोरले निकै सहयोग पुर्‍याउने निचोड सुनाए। भन्छन्, 'हामी सबैको हो भन्ने महसुस भएपछि करिडोर निर्माणको उद्देश्य पनि पूरा हुन्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell