PahiloPost

Nov 20, 2018 | ४ मंसिर २०७५


कान्तिपुर शहरमा मी टू


किशोर नेपाल

कान्तिपुर शहरमा मी टू

  • किशोर नेपाल -
कनिकालाई नेपालमा ‘मी टू आन्दोलन’ खासै प्रभावकारी होला जस्तो लागेन। दुईजना महिलाले तीन नम्बर प्रदेशका भौतिक योजना मन्त्री केशव स्थापितमाथि आफूहरूसँग यौन दुर्व्यवहार गरेको बताएपछि अरु पीडित महिलाले पनि आफ्नो पीडालाई अभिव्यक्ति देलान् भन्ने सोचेकी थिइ कनिकाले। तर, त्यसो हुने सम्भावना देखिएन। कान्तिपुर महानगरपालिकाका मेयर समेत भै सकेका केशव स्थापितले आफू बिरुद्ध लगाइएको आरोप अस्वीकार गरिसकेका छन्। उनले आरोप लगाउने दुवै महिलाले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका छन्। जाडो शुरु भएको अहिलेको मौसममा कसैले उनको चरित्र हत्या गर्नुपर्ने कारण के हुन सक्छ? कनिकाले त्यसको छेउ–टुप्पो समात्न सकिन। उसले सुनेकी थिई- केशव स्थापित कान्तिपुरका सबैभन्दा कल्पनाशील गफाडी हुन्। उनले थाह नपाएको र नजानेको कुनै गफ छैन।

‘मी टू आन्दोलन’ भारतबाट नेपाल पसेपछि नेपालका सचेत महिलाहरू जागेका थिए। उनीहरूको जुर्मुराहट देखेर कान्तिपुरका धेरै पर्यवेक्षकलाई लागेको थियो कि अब धेरै लोग्नेमानिसहरू बेनकाव हुनेछन्। तर, यता, अहिलेसम्म त्यस्तो केही भएको छैन। उता, भारतमा भने मी टू अभियानका कारण प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश राज्यमन्त्री तथा सुप्रसिध्द पत्रकार एम जे अकवरले पद त्याग गर्नुपरेको छ। अभियानले लामो समयदेखि इण्डियन आइडलका हर्ताकर्ता तथा प्रमुख निर्णायक भएर बसेका प्रसिध्द संगीतकार अनु मल्लिकको पनि शिकार गरेको छ। उता भएजस्तो यता किन भएन? के कान्तिपुर सज्जन पुरुषहरूको मात्रै बस्ती हो जहाँ मी टूको कुनै गुंजायश नै छैन?

सिनेमा, संगीत, कला, फेशन, शैली र जीवनका विभिन्न प्रयोगहरूको मामिलामा कान्तिपुर संसारका अरु शहरभन्दा निकै पछाडि छ। विभिन्न पेशा समातेर बसेका यहाँका महिला पुरुषले आफूसँग अलिकति दुर्व्यवहार गरे पनि सहेर बस्दछन्। नेपाली महिलाको चरित्रमा असहिष्णु भाव कमै पाइन्छ। कुनै पुरुषले आफूसँग यौनिक वा अन्य प्रकारको दुर्व्यवहार गर्यो भने त्यसलाई दवाएरै बस्छन् नेपाली महिला। त्यसको चर्चाले आफ्नै बेइज्जती हुने भएकोले उनीहरू आफ्नो मुख खोल्दैनन्। नेपालमा बैंक लगायतका व्यवसायिक संस्थामा काम गर्ने कामकाजी महिला ‘कुल–घरान’ बाट आएका हुन्छन्। उनीहरूको जीवन शैली अलिकति असामान्य नै हुन्छ। पुरुषसँग बसेर वाइन वा बियरको स्वाद लिन उनीहरू खुला छन्। यो क्रममा पुरुषबाट दुर्व्यवहार भयो भने पनि उनीहरू त्यसको खासै मतलब राख्दैनन्। उनीहरूलाई बाबु–बाजेको इज्जतले थिचेको हुन्छ। आफ्नो दिमागबाट त्यो इज्जतको बोझ हटाउनु कठिन हुन्छ उनीहरूका लागि। किनभने, उनीहरूको सुख–सुविधा, आराम–बिराम, भोग–विलासको स्रोत त्यही इज्जत हुन्छ। त्यो इज्जतबाट भड्किनु भनेको सुविधाहरूबाट बन्चित हुनु हुन्छ। त्यसैले पनि, कान्तिपुरको अनुदारवादी समाजमा परिवर्तनको खासै गुन्जायस हुँदैन। 

कनिकालाई कान्तिपुरका उच्च–मध्यम र उच्च वर्गको आचार, बिचार र ब्यबहारको जानकारी नभएको होइन। त्यो वर्गका महिलाको स्वभावको पनि राम्रो पहिचान छ उसलाई। नातागोतामा जोडिएका कतिपय महिला र पुरुषका बीच रहेको ‘वाइल्ड’ खालको सम्बन्धको राम्रो जानकारी छ कनिकालाई। नातागोता भन्दा बाहिरका सम्बन्ध जटिल हुन्छन्। त्यस्ता जटिल सम्बन्धको विवरण छ कनिकासँग। तर, त्यस्तो सम्बन्धका बारेमा सम्बन्ध स्थापित गर्ने पक्षले नै केही नबताएसम्म त्यस्ता घटना प्रकाशित गर्न भएन।

कान्तिपुरमा रहेका कलाकार, साहित्यकार, पत्रकार तथा जीवन शैलीसँग जोडिएका बिषयमा कार्यरत मानिसका बीचमा ‘मी टू’ निकै चर्चित छ। त्यस्तो चर्चाको आधार भने कमजोर छ। कसैलाई आरोप लगाएर मज्जा लिने मानिस नभएका होइनन्। ती मानिस ‘मी टू अभियान’ बाट प्रभावित छैनन्। ‘कसैको बारेमा केही बोल्यो, बिनसित्तिमा फँसिएला’ भन्ने डर सबैको दिमागमा बसेको छ। अहिलेसम्म, जति महिलाले आफू पुरुषबाट दुर्व्यबहारको शिकार भएको बताएका छन्, तिनीहरू कसैले पनि दुर्व्यबहार गर्नेको नाम बताएका छैनन्। जति घटना सार्वजनिक भएका छन् तिनको पनि सामयिक महत्व छैन। उता भारतमा पनि र यता नेपालमा पनि ‘मी टू’ अभियानमा दस, पन्ध्र वर्ष अघिका घटनामात्र प्रकट भएका छन्।

कान्तिपुरको ‘मी टू’ अभियानमा नारीवादी आन्दोलनका सशक्त हस्ताक्षर कतै देखिएको छैन। यो पूरै राजनीति प्रेरित देखिएको छ। अभियानमा केशव स्थापितजस्ता एक डेढ दर्जन नाम उदाहरण सहित जोड्न नसकिने होइन। यसै पनि पावरमा भएका मानिसको आकर्षण निकै बाक्लो हुन्छ। त्यो आकर्षणबाट आकर्षित हुने भद्र महिलाहरूको कमी कान्तिपुरमा कहिल्यै भएन। कनिकाले साथी पत्रकार सिध्दार्थसँगको सहकार्यमा राजनीति, व्यापार, उद्योग, प्राध्यापन, कानून व्यवसाय लगायतका पेशामा लागेका मानिस कसकसको ‘लिविडो’सक्रिय हुन्छ? भन्ने अनुसन्धान गरेकी थिइ। ती मानिससँग जोडिएका कुनै पनि महिलाले केही बताउन चाहेनन्। ती महिलालाई ‘मी टू अभियान’का बारे जानकारी थियो। तर, नेपाल– जहाँ बलात्कार जस्तो जघन्य अपराधलाई समेत सामान्य खेलकूदको श्रेणीमा राख्ने राजनीतिक संस्कार छ – मा बोलेर केही नहुनेमा उनीहरू विश्वस्त थिए।

जे भए पनि, कान्तिपुरका जनताको मानसिक चेतना निकै माथि पुगेको छ। ‘मी टू’ अभियानमा कान्तिपुरका मानिस खुइलिने सम्भावना छैन। यद्यपि, यतिबेला संगीत र सिनेमाको क्षेत्रमा रमझम र चहल–पहल निक्कै बढेको छ। निश्चय पनि, नेपालका सबै पुरुष सन्त भएका होइनन्। तर, नेपाली महिला आफनो सौम्य रुपमा छन्।

कनिकाको निष्कर्ष थियो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



कान्तिपुर शहरमा मी टू को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट