PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

लेडी टाइगर प्रतिमा : आरएनजिसीदेखि अमेरिकासम्मको रोमाञ्चक यात्रा



गोविन्दराज नेपाल

लेडी टाइगर प्रतिमा : आरएनजिसीदेखि अमेरिकासम्मको रोमाञ्चक यात्रा

आफ्नो आदर्श अनि विश्वकै चर्चित खेलाडीसँग भेट्न पाउँदा कस्तो होला? त्यसमाथि तिनैसँग सिक्न पाउने कुरा त कल्पनाभन्दा धेरै टाढाको विषय। नेपाली गल्फर प्रतिमा शेर्पाले त्यही अपत्यारिलो कल्पनासँग साक्षत्कार गरिसकेकी छिन्।
नेपाली गल्फको नम्बर वान महिला खेलाडी प्रतिमाले तीन महिनाअघि अमेरिका जाँदा पूर्व विश्व नम्बर वान टाइगर उड्सलाई भेट्ने अवसर पाइन्। भेट्ने भाग्यमात्र उनीसँग थिएन, सिक्ने अवसरसमेत बन्यो। यसपालाको आधा दशैं अमेरिकामा र बाँकी आधा नेपालमा मनाउने तयारीमा छिन् उनी।

दुई वर्ष ६ महिना अघि

साढे दुई वर्षअघि प्रतिमासँग पहिलो पटक भेट हुँदा उनीसँग नागरिकता नै थिएन। पासपोर्ट त टाढाको कुरा। विदेश जाने अवसर पाएर पनि आवश्यक कागजपत्र नहुँदा उनले दुई पटकको अवसर गुमाइसकेकी थिइन्। विदेशको यात्रा नभए पनि उनको गल्फ यात्रा जारी थियो।
पछिल्लो दुई वर्षको अन्तरालमा उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ। यसबीचमा उनको कागजपत्रमात्र बनेन्, उनले पटक पटक विदेश भ्रमण गरिसकिन्। पहिले छनोट भएर पनि खेल्न नपाएको फाल्डो सिरिज पुन: छनोट भएर खेलिन्। नेपालका पुरुषहरुले खेल्ने प्रोफेसनल गल्फ टुर्नामेन्टमा खेलिसकिन्। अझै पनि प्रतिमाको यात्रा लामो छ। उनकै भनाइ मान्ने हो भने- 'योजनाहरु धेरै छन्।'
झण्डै एक दशक लामो गल्फ करियरमा प्रतिमाले साना ठूला गरी तीन दर्जन भन्दा बढी उपाधि जितिसकिन्। अहिले उनको चर्चा देशमा मात्र नभएर विदेशमा समेत बढ्न थालेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रोयल नेपाल गल्फ कोर्स आरएनजिसीको होल नम्बर तीनबाट सुरु भएको प्रतिमाको गल्फ यात्रा अमेरिकासम्म पुगेको छ।
यतिमात्र होइन, अब उनको अध्ययन र गल्फको थप यात्रा अमेरिकामै हुनेछ, कम्तिमा चार वर्षका लागि।
उनको संघर्षको कथा उस्तै प्रेरणादायी छ।
आफ्नो गल्फ करियरलाई शब्दमा व्यक्त गर्दा रोमाञ्चित हुन्छिन् उनी।
'मैले गल्फ खेलेको पनि ७ वर्ष पुगिसक्यो। यतिसम्म होला भनेर कहिल्यै सोचेको थिइन। सबै कुरा स्टेप बाई स्टेप अगाडि बढ्दै गयो,' उनले भनिन्।
उनको सफलतामा परिवार, कोच सचिन भट्टराई, गल्फ संघ सबैको साथ र सहयोग रह्यो। 'कोचको हात धेरै छ। दिन रात प्राक्टिस गराउनुहुन्छ,' उनले आफ्नो सफलताको श्रेय दिइन्। निरन्तर मेहनत गर्दै गए अवश्य सफल भइन्छ भन्ने उदाहरण नै हुन् उनी।
'मलाई लाग्छ। मान्छेले नसक्ने भन्ने कुरा हुँदैन रै'छ। इम्पोसिवल भन्ने कुरा हुँदैन रै'छ। तर, सफल हुनका लागि आफ्नो मेहनत र लक पनि चाहिने रै'छ। जसले गर्दा गाह्रो काम पनि सक्सेस हुँदो'रैछ,' उनले भनिन्।

प्रतिमालाई नजिकबाट गल्फ सिकाइरहेका प्रशिक्षक सचिन भट्टराई पनि उनको यो प्रगति देखेर दंग छन्। गल्फमा लागेर आफूले धेरै सफलता हात पार्न नसकेको भए पनि आफ्नी चेलीको सफलतामा उनी गर्व गर्छन्।
'हामीले यति चाँडै यस्तो होला भनेर सोचेको थिएनौँ। प्रतिमाले धेरै मेहनत गरेकी छिन्,' भट्टराईले भने, 'भाग्यले पनि साथ दिइरहेको छ। अझै गर्नुपर्ने कामहरु धेरै छन्।'

स्टिक र बल थन्काए पनि छाड्न सकिनन्

प्रतिमा दुई पटक विदेशमा हुने फाल्डो सिरिजका लागि छनोट भइन्। तर, दुवै पटक उनी जान पाइनन्, पासपोर्ट नहुँदा। पहिलो पटक चीनका लागि छनोट हुँदा उनमा उत्साह भिन्नै थियो। अभ्यासमा जुटिरहिन्। जिम सेसन धाइन्। उनको बुबाको नागरिकता नभएकाले उनीसँग नागरिकता नै थिएन। अनि राहदानी बनोस् कसरी? २०१३ मा पनि उनी फेरि छनोट भइन्। फेरि राहदानी नै समस्याको तगारो रह्यो।

'सबैजनाले सोधे नागरिकता र पासपोर्ट किन बनेन भनेर। कोही कोहीले चाहिँ त्यो बनिहाल्छ नि भने,' संघर्षको क्षणलाई उनले स्मरण गरिन्,
'आफूलाई यस्तो गाह्रो भइरहेको छ। उनीहरुले चाहिँ सजिलै सोच्ने। त्यो सबैभन्दा च्यालेन्जिङ थियो मेरा लागि।'
तर, फेरि बनेन। त्यसपछि उनलाई लाग्यो, गल्फ नै छाड्दिउँ। 'केही समय खेल्न मन लागेन। त्यसपछि चाहिँ म पढाइमा ध्यान दिन्छु अब खेल्दिन भन्ने लागेको थियो,' उनले भनिन्। तर, उनको मनले मान्दै 'स्टिकहरु थन्काएँ। त्यतिकै राख्दिएँ। तर, मनले नै नमान्ने क्या,' उनले आफ्नै पारामा भनिन्, 'फेरि सोचेँ… ला म त बिर्ग्रिरा'छु भन्ने लाग्ने। मनले मानेन। सबैले भन्नुभयो- आउ खेल।'
पहिलो पटक फाल्डो सिरिजमा छनोट भएको धेरैपछि मात्र उनले फाल्डो सिरिज खेलिन्। गत वर्ष भियतनाममा भएको सिरिजमा उनले खेलिन्। चीनमा खेल्न नपाएको भोकलाई प्रतिमाले भियतनाममा गएर अन्तत: पूरा गरिन्।

उड्ससँगको भेटमा उनकै बयान

इएसपीएनले बनाएको त्यो मेरो डकुमेन्ट्री लन्चको दिन टाइगर फाउण्डेसनको मान्छे भेट भएको थियो। तर, त्यो दिन केही भन्नुभएको थिएन। सायद सर्प्राइज्ड रै'छ। भोलिपल्ट उठ्दाखेरी मेसेज आयो- तिमी जाँदैछौ भनेर। हतार थियो। त्यसको भोलिपल्ट नेपाल फकर्ने टिकट थियो। तर, टाइगर भेट्ने भने पछि कसले छाड्छ र? मैले गल्फ सुज लगेको थिएँ। तर, फाउण्डेसनको मान्छेले पर्दैन लैजान यस्तो गर्मी छ भनेका थिए। फोटोमात्र खिच्ने हो भने मैले। हामीले त्यहाँ गएर १०/१५ मिनेट कुरेका थियौं। म गल्फ कार्डमा बसिरहेको थिएँ। अनी टाइगर आउनु भयो। मैलेभन्दा पहिले नै उड्सले मलाई 'हाई प्रतिमा' भने। मेरा लागि चाहीँ त्यो एकदमै बेस्ट मोमेन्ट हो।

कहिले काहीँ सोच्दा नि एकदमै सपना जस्तो लाग्छ। अनि सबैजना सर्प्राइज्ड। मिडियाहरु पनि थियो। कसैलाई थाहा थिएन। फोटो खिच्नलाई मात्र दुई मिनेट समय। तर, उहाँले आफ्नो प्राक्टिस गर्ने ठाउँमा लगेपछि प्रेस पनि कुदाकुद भयो। एकदमै सर्प्राइज्ड। विथआउट गल्फ सुज मैले बल हानेँ। मेरो अलिकति मिस्टेक भयो स्वीङमा। त्यो भन्दिनुभयो। 'मलाई गल्फ कसरी स्टार्ट गर्छौँ। कसरी वार्मअप गर्छौँ?' भन्नुभयो। उहाँको बच्चा र परिवारबारेमा भन्नुभयो। अर्को मुख्य कुरा उहाँको बच्चाहरुको बीचमा मलाई इन्ट्रोड्युस गराएर मलाई उहाँकै स्टिकले बल हान्न लगाउनुभयो। अलि नर्भस पनि भा'थेँ। मान्छेलाई टाउकोमा लाग्ला कि भनेर! तर, एकदमै बेस्ट मोमेन्ट रह्यो।

टार्गेट लेडी प्रो : अमेरिकाबाट प्रो कार्ड लिने अनि नेपालमा खेल्ने

प्रतिमाले गल्फसँगै पढाईलाई पनि अगाडि बढाइन्। प्राइम कलेजबाट म्यानेजमेन्टमा प्लस टू पूरा गरिन्। थेम्स कलेजमा स्नातक तहको अध्ययन समेत सुरु गरेकी उनले पहिलो वर्षको परीक्षा दिइसकेकी छिन्। तर, अब प्रतिमाको पढाई अमेरिकामै हुने भएको छ। चार वर्षको स्नातक अध्ययनका लागि उनी अमेरिका जानेछिन्। आइजेजिएले उनलाई चार वर्षका लागि छात्रवृत्तीको व्यवस्था गरिदिएको छ। अब उनको लक्ष्य छ अमेरिका पढ्दै गल्फ पनि खेल्ने। अनि प्रो कार्ड लिने।
'अमेरिकामा स्नातक तह नसकेसम्म प्रो कार्ड लिन नमिल्ने रै'छ, अमेरिकाको नियम अनुसार। उता पनि पढ्दै गल्फ प्राक्टिस गर्दै गर्छु,' उनले भनिन्। उताबाट प्रो कार्ड लिएर नेपालमा आएर प्रो खेल्ने योजना छ। नेपालको फस्ट लेडी प्रो बन्ने उनको लक्ष्य छ। अहिलेको सुरुको ४ वर्ष भने पढाइमै केन्द्रित हुनेछिन् उनी।
लेडी प्रो सँगै प्रतिमाको लक्ष्य ओलम्पिक खेल्ने पनि हो। यसअघि प्रतिमाले २०२० मा टोकियोमा हुने ओलम्पिक खेल्ने चाहना भएको सुनाएकी थिइन्। तर, अब अमेरिका पढ्न जाने भएपछि ओलम्पिक उनको पढाइको बीचमा पर्छ। तै पनि नेपाल गल्फ संघले पहल गरेर मिलाइदिएमा ओलम्पिक खेल्न तयार छिन्। 'सबै मिल्यो भने म ओलम्पिक खेल्न रेडी छु,' उनले भनिन्।

'आरएनजिसी छाडेर जान मन छैन'

प्रतिमा केही समयपछि नै अध्ययनका लागि अमेरिका जाँदैछिन्। उनलाई गल्फरको रुपमा चिनाउने हुर्काउने बढाउने आरएनजिसीको त्यो सानो घर छाड्न मन छैन। 'यहाँको वातावरण एकदम शान्त छ। खेल्न पनि पाइन्छ। मलाई यो ठाउँ छाड्न मनै छैन। तर सबैको सहयोगले गर्दा अध्ययनलाई पनि निरन्तरता दिन विदेश जाँदैछु। यो ठाउँलाई धेरै मिस गर्नेछु,' उनले भनिन्।
त्यसबाहेक प्रतिमालाई यहाँसम्म पुर्‍याउन सबैभन्दा ठूलो रोल खेल्ने परिवार (आमा बुबा)का लागि पनि प्रतिमासँग योजनाहरुको चाङ नै छ। तर, सबै कामलाई विस्तारै पूरा गर्दै लैजाने उनको योजना छ।

'परिवार मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति हो। उहाँहरुकै साथ, सहयोगले म यहाँसम्म आइपुगेको छ। उहाँहरुप्रति एकदमै गौरवान्वित छु। ममी ड्याडी पनि अहिले एकदमै खुशी हुनुहुन्छ,' उनले भनिन्।
आमा बुबाको लागि चिटिक्कको घर बनाउने प्रतिमाको योजना सुनाइन्।

दशैँको बिजी सेड्युल

गल्फ नेपालमा त्यति चर्चामा नभए पनि प्रतिमाको चर्चा देश - विदेशमा बढ्दैछ।
पछिल्लो समय उनको जीवनमा जति उपलब्धी हासिल भइरहेको छ ती उनको सोचभन्दा निकै भिन्न रुपमा अगाडि आएको छ।
यसपटक दशैँमा पनि उनलाई फुर्सद छैन। नेपालीहरुको महान चाड विजया दशमी बुधवारबाट सुरु भएको छ। गल्फर प्रतिमा अमेरिकामा भएको एक कार्यक्रममा भाग लिएर मंगलवारमात्र नेपाल आइपुगेकी थिइन्। लगत्तै उनी अमेरिका गइन्। 'टिकाको अघिल्लो दिनमात्र नेपाल आइपुग्नेछु,' उनले भनिन्।
अमेरिकामा आयोजना भइरहेको वुमन्स स्पोर्ट्स फाउण्डेसनका लागि उनी अहिले उतै छिन्।
यसपटक दशैँमा अमेरिका र नेपाल दुवैतिर रहने प्रतिमा दशैँ भनेपछि उत्साहित हुन्छिन्। सानो हुँदाको दशैं र अहिलेको दशैँ मनाउने शैली धेरै फेरिएको उनको अनुभव छ।

'सानो नयाँ लुगा लगाउने मिठो मिठो खाने पिङ खेल्ने जस्ता रमाइलो अनुभव हुन्थ्यो,' दशैँको माहोल सम्झिँदै भन्छिन्, 'मामाघर जाने टिका लगाउने छुट्टै रमाइलो हुन्थ्यो।'

तर, अहिले समय फेरिएको छ। गल्फर भएपछि उनलाई समय मिलाउन नै कठिन छ। झण्डै दुई साता चल्ने दशैँमा उनी नेपाल र अमेरिका हुनेछिन्। जता भए पनि दशैँमा परिवार र साथीभाइसँग भेट हुने भएकोले उनलाई रमाइलो लाग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell