PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अच्युतकृष्ण खरेलको आत्मकथा सार्वजनिक  



पहिलोपोस्ट

अच्युतकृष्ण खरेलको आत्मकथा सार्वजनिक  

पूर्व प्रहरी महानिरिक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा विमोचित भएको छ। शनिबार नेपाल प्रहरी क्लबमा आयोजित समारोहमा रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारी (माओवादीद्वारा हत्या गरिएका प्रहरीकी श्रीमती) लाई हस्तान्तरण गर्दै पुस्तक सार्वजनिक गरिएको हो।

विमोचनअघि खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गरे। जसमा उनले पुस्तक लेख्नुपर्नाको कारण बारे बोलेका थिए।

‘जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र माओवादी द्वन्द्व नेपाली इतिहासकै महत्वपूर्ण घटना हुन् जसमा म प्रहरी अधिकृतका रुपमा सक्रिय रहेँ,’ खरेलले भने, ‘यी ऐतिहासिक घटनामा मैले देखे–भोगेका तथ्यहरुलाई इमान्दारिपूर्वक सबैका सामू पेश गरेको हुँ।’

नेपाल प्रहरीको इतिहासमै दुइपटक आइजीपी हुने एक्लो व्यक्ति आफू मात्र भएको र यो सब किन र कसरी भयो भन्ने यथार्थ विवरण नराखिदिँदा गलत व्याख्या नहोस् भन्न किताब लेखेको प्रस्ट्याए।

खरेल कुनै समय नेपालको राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। फुटबल खेल्ने मोहले गर्दा नै नियतिले डोर्याएर आफू प्रहरी बन्न पुगेको र कर्मले आइजीपीसम्म पुर्याएको उल्लेख गरे। 

कार्यक्रममा पूर्व राष्ट्रपति यादवले मुलुकको महत्वपूर्ण घटनाक्रमका साक्षी खरेलको अनुभव नयाँ पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने बताए।

समारोहमा राजनीतिज्ञ, पूर्व मन्त्रीहरु, पूर्व सेनापति र प्रहरीका वर्तमान एवं अवकाशप्राप्त अधिकृतहरुको उल्लेख्य उपस्थिती थियो।

पुस्तक संसारभर अमेजनमार्फत पनि खरिद गर्न सकिने बताइएको छ। त्यसैगरि मुलुकभरका पुस्तक पसलहरुमा उपलब्ध यसको पातलो गाताको मूल्य ६६५ रुपैयाँ र मोटो गाताको मूल्य ९९५ रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell