PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मृत्युको कारण बन्दै 'सेल्फी' : फोटो लिने निहुँमा ज्यान गुमाउनेमा पुरुष बढी



सहयोग रञ्जित

मृत्युको कारण बन्दै 'सेल्फी' : फोटो लिने निहुँमा ज्यान गुमाउनेमा पुरुष बढी

जमाना सेल्फीको छ। मानिसहरुको हातहातमा स्मार्टफोन र अत्याधुनिक क्यामरा। कतै घुम्न जाँदा सेल्फी लिनु अति सामान्य भइसक्यो। सेल्फीकै लागि भनेर छुट्टै क्यामरा र एप्लिकेसन पनि बनाइएको छ। तर, त्यही सेल्फी विश्वमा हुने 'मृत्युहरुको एक कारण' बनेको छ। 
२०७३ पुसमा झापाबाट पाँचथरतर्फ मोटरसाइकलमा जाँदै गरेका विशाल सम्वाहाम्फे सडक पेटीमा मोटरसाइकल रोकेर सेल्फी खिच्दै थिए। सेल्फी खिच्दै गरेका सम्बाहाम्फेलाई फिक्कलबाट बिर्तामोडतर्फ आउँदै बसले ठक्कर दियो। सेल्फी लिने मोहले उनको ज्यानै गयो।

यस्तै गत साउनमा मानसरोबर दर्शन गर्न गएका भारतीय तीर्थयात्री नगेन्द्र कुमार कार्तिकेयको हिल्सामा हेलिकप्टर नजिकै उभिएर सेल्फी लिने क्रममा मृत्यु भयो। हेलिकप्टरको पछिल्लो भागमा रहेको टेल रोटरमा ठोकिँदा नगेन्द्रले ज्यान गुमाउनुपर्‍यो।

यस्तै सेल्फी लिने होडमा धेरैको मृत्यु हुने गरेको छ। तर, ती सबै घटना बाहिर आउँदैन। नदी, पहाड, भीर, ताल, झुलंगे पुल इत्यादि देख्नेबित्तिकै सेल्फी लिनेको संख्या धेरै छ। सेल्फी लिने क्रममा सावधानी नअपनाउँदा उनीहरुको ज्यान जानसक्ने खतरा जतिखेर पनि हुन्छ।

सामान्य सेल्फीभन्दा अलि पृथक, उत्कृष्ट र साहसिक सेल्फी लिने 'कल्चर' विकास भइरहेको छ। 'सेल्फी लिनका लागि भए पनि सगरमाथाको चुचुरोमा जानुपर्छ' भन्ने ठ्ट्टा नै गर्नेहरु छन्। 

तर, त्यही 'सेल्फी कल्चर'ले धेरैको ज्यान लिने गरेको हालै अमेरिकामा सार्वजनिक एक रिपोर्टलेसमेत उल्लेख गरेको छ। 

विश्वभर सेल्फीका कारण हुने मृत्युका बारेमा अमेरिकाको 'न्यास्नल लाइब्रेरी अफ मेडिसिन'ले गरेको एक अध्ययनले सन् २०११ देखि २०१७ भित्र सेल्फी लिने चक्करमा २ सय ५९ जनाको मृत्यु भएको सार्वजनिक गरेको छ।

लाइब्रेरीले यस्ता मृत्युहरुको संख्या घटाउन खतरनाक स्थानहरु पत्ता लगार्इ त्यसलार्इ 'सेल्फी निषेधित क्षेत्र' घोषणा गर्नुपर्ने सुझाव दिएको छ। 
हिमाल पहाडका चुचुरा, अग्लो भवन, ताल, समुन्द्री किनारहरुमा सेल्फी लिँदा धेरैको मृत्यु हुने गरेको पाइएको छ। त्यस्ता स्थानहरुमा सावधानी नअपनाइ सेल्फी लिँदा डुबेर वा खसेर मानिसहरुको मृत्यु हुने गरेको हो। 

गत जुलाइमा अस्ट्रेलियाको न्यू साउथ वेल्सको कुरनेल स्थित चट्टानमाथि बसेर सेल्फी लिँदा १९ वर्षे गेभिन जिम्मरम्यानको खसेर मृत्यु भयो। यस्तै, क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय पार्कमा सेल्फी लिन खोज्दा टोमर फ्रयान्कफुटरको २५० मिटर तल खसेर मृत्यु भयो। 
उक्त अनुसन्धानमा यसप्रकारका घटनाका बारे अध्ययन गरिएको थियो। 

सेल्फी लिँदा मृत्यु हुनेमा पुरुष बढी

रिपोर्ट अनुसार सेल्फी लिने चक्करमा धेरै मृत्यु हुने राष्ट्रमा भारत, रसिया, अमेरिका र पाकिस्तान रहेको छ। मृत्यु हुनेमा ७२.५ प्रतिशत पुरुष रहेको उल्लेख छ।

यो अध्ययनले मृत्यु हुनेहरुको संख्या बढ्दै गएको देखाएको छ।

सन् २०११ मा सेल्फीका कारण मृत्यु भएका तीन घटना मात्र फेला परेको थियो। सन् २०१६ मा सो संख्या ९८ र २०१७ मा ९३ पुगेको रिपोर्टमा उल्लेख गरिएको बीबीसीले जनाएको छ।

यद्यपि, अनुसन्धानकर्ताहरुले सेल्फी लिँदा मृत्यु हुनेको संख्या यो भन्दा बढी हुनसक्ने बताएका छन्। सेल्फीलार्इ 'मृत्यु हुनुको एक कारण'का रुपमा कहिल्यै नलिइएकोले धेरै घटनाहरु बाहिर नआएको हुनसक्ने उनीहरुको तर्क छ। 

उक्त रिपोर्टका अनुसार 'सेल्फीका कारण मृत्यु भएका घटनाहरुका बारे रिपोर्ट गरिँदैन। त्यसैले वास्तविक समस्याको पहिचान गरी त्यसलार्इ सम्बोधन गर्नुपर्छ। सेल्फी लिने रहरका कारण भएका सडक दुर्घटनालार्इ अरु सामान्य दुर्घटनाका रुपमा रिपोर्ट गरिन्छ।'  

त्यसैले सेल्फीका कारण हुने दुर्घटनाको पहिचान गर्न खासै चासो नदिइएको रिपोर्टको निष्कर्ष छ। त्यसैले सेल्फीबाट हुने मृत्युहरुका बारेमा विस्तृत कारणहरु र त्यसबाट उत्पन्न समस्याका बारेमा पहिले नै आंकलन गर्नुपर्ने अनुसन्धानका क्रममा देखिएको छ। कारण पत्ता लगाइ त्यसको समाधान फेला पारे मात्र सेल्फीबाट हुने मृत्युहरुको रोकथाम गर्न सहज हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell