PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

किताब पब्लिसर्सको दोस्रो प्रकाशन : राजेन्द्र पराजुलीको अघोरी



पहिलोपोस्ट

किताब पब्लिसर्सको दोस्रो प्रकाशन : राजेन्द्र पराजुलीको अघोरी

काठमाडौं : आख्यानकार राजेन्द्र पराजुलीका कथाहरुको सङ्ग्रह ‘अघोरी’ सार्वजनिक भएको छ। आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने १७ कथा यसमा समावेश छन्।
 
प्रायः हरेक मान्छेका आ–आफ्नै कथा हुन्छन्, जो सबैले भन्न सक्दैनन्। यिनै नभनिएका–नलेखिएका मान्छेका भावना, संवेदना, प्रेम, आवेग, दुःख, पीडा, वैराग्य र खुशीका कथाहरु छन् अघोरीमा।
 
‘मान्छे पढ्नु–कथा पढ्नु अथवा मान्छे लेख्नु–कथा लेख्नु मलाई उस्तैउस्तै लाग्छ,’ कथाकार पराजुली भन्छन्, ‘नेपाली समाजको मान्यता बनिबनाउ तथा स्थिर खालको छ। त्यसमा अलिकति भएपनि हलचल ल्याउन मैले शव्दका ढुङ्गा हान्ने प्रयत्न गरेको छु।’

पराजुलीले यसअघि कथा, कविता र उपन्यासका आधा दर्जन पुस्तक लेखिसकेका छन्। 

अघोरीको कुनै पात्र राजनीतिक पराजयपछि शान्तिको खोजीमा एकान्तवासमा हराएकी हुन्छिन्। एकजना आधुनिक अघोरी जीवनको सार्थकता खोज्दै आफैं असामान्य अवस्थामा पुगेको हुन्छ। एउटा कथामा भुटानी अन्वेषक राजदरबार हत्याकाण्डको रहस्य बुझ्न आउँदाको अनुभूति छ। अनि कुनै साहित्यकार मदन पुरस्कार प्राप्तिको उपाय खोज्दै भौंतारिएको रमाइलो कथा पनि छ।
 
मधेश आन्दोलन चल्दै गर्दा लेखक एउटा युवा जोडीको जीवनमा प्रवेश गर्छन्, जसले ‘केमिस्ट्री’ जन्माएको छ। हिजोको ‘रातो छाता’ समयक्रममा कसरी लिलामीमा चढ्यो; यो प्रतिकात्मक कथाले क्रान्तिकारी राजनीतिको अवरोहलाई झल्काउँछ। अनि एउटा कथामा चाहिं नायिकाले सपनामा प्रश्न गर्छिन्, ‘तिमीले मेरो हत्या किन गर्यौ लेखक ? तिमी लेखक हौ कि हत्यारा?’

अघोरी किताब पब्लिसर्सको दोस्रो प्रकाशन हो। यसले अघिल्लो महिना निकालेको पुस्तक, दुर्गा सुवेदीद्वारा लिखित ‘विमान विद्रोह’ बेस्टसेलर भएको थियो। ‘हामीले राजनीतिक गैर–आख्यानपछि साहित्यिक आख्यान प्रकाशन गरेका छौं,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘अघोरीले पाठकहरुलाई छुट्टै स्वाद दिने हाम्रो अपेक्षा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell