PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

१ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ



गोविन्दराज नेपाल

१ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ

२१७ रनको लक्ष्य। ४९ ओभरमा २११-९। जितका लागि अन्तिम ओभरमा रन ए बल आवश्यक। नेपाल बलिङ साइडमा थियो भने नेदरल्याण्ड्स ब्याटिङ साइड। ब्याटिङमा हुँदा नेपालले यस्तो खेल सँधै आफ्नो पक्षमा पारेको थियो।

नेपालको क्रिकेट इतिहासमै नेपाल ऐतिहासिक ओडिआई सिरिज खेलिरहेको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने दाउमा थियो।

त्यस अवस्थाबाट नेपाललाई १ रनको रोमाञ्चक जित दिलाउन क्याप्टेन कुल पारस खड्का अन्तिम ओभरमा नायक बने।

नेपालका मुख्य बलर सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीको स्पेल सकिसकेको थियो। अर्का फास्टर बलर 'डेब्युटान्ट ब्वाए" ललित भण्डारीले ४८ औँ ओभर बलिङ गरेका थिए। उनको ओभर अझै बाँकी थियो। यस्तै ४९औँ ओभर दीपेन्द्र सिंह ऐरीले गरे।

अन्तिम ओभरमा पारससँग धेरै विकल्प थिएन। कि ललितलाई बलिङ गराउनु कि नयाँ नयाँ बलर प्रयोग गर्नु। तर कप्तान पारस खड्का अन्तिम ओभर बलिङ गर्न आफैँ अगाडि बढे। र नेपाललाई पहिलो ओडिआई जित दिलाए। घरेलु समर्थकलाई निराश पारे। भिआरए ग्राउण्डममा उपस्थित २०० भन्दा बढी नेपाली त्यसको प्रत्यक्ष साक्षी बने। दर्शकले पनि नेपाली खेलाडीलाई भरपुर साथ दिए।

अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि ६ रन चाहिएको थियो र क्रिजमा थिए फ्रेड क्लासेन र पउल भान मिकेरेन।

५०औँ ओभरको पहिलो बलमा पारसले क्लासेनलाई १ रन दिए। दोस्रो बलमा मिकेरेनले कुनै रन जोड्न सकेनन्। तेस्रो बलमा मिकेरेनले १ रन जोड्दै ३ बलमा ४ रन आवश्यक बनाए। रन जोड्दा डच खुशी हुन्थे भने डट बल फाल्दा नेपाली। चौथो बलमा क्लासेनले २ रन जोड्दा

नेदरल्याण्डलाई अन्तिम २ बलमा २ रन चाहिएको थियो। यस्तो अवस्थामा खेल नेपालको पक्षबाट लगभग गुमिसकेको थियो। तर त्यस्तो अवस्थामा पनि कप्तान पारसले संयमित भएर अन्तिम दुई बल बलिङ गरे। पाँचौ बलमा पारसले क्लासेनलाई रन दिएनन्। अब अन्तिम बलमा नेदरल्याण्सका लागि खेल जित्न २ रन चाहिएको थियो। १ रनले पनि खेल बराबरी हुने थियो। तर, पारसले अन्तिम बलमा पनि कुनै रन दिएनन् भने स्ट्राइकमा रहेका क्लासेनलाई नन- स्ट्राइक एण्डमा रनआउट गरे। त्यसपछि कप्तान पारस दौडेर अन्य खेलाडी सामु पुग्दै खुशीयाली मनाए।

यस्तो थियो अन्तिम ओभर:

यो जित नेपालको लागि ऐतिहासिक थियो। ओडिआईमा नेपालको पहिलो जित। पहिलो ओडिआई सिरिज नेपालले १-१ को बराबरी गर्दै आगामी ४ वर्षे ओडिआई यात्रामा सुखद सुरुवात समेत गरेको छ। १ रनको रोमाञ्चक जितपछि नेपाली खेलाडी र अफिसियल मात्र होइन नेपाल लगायत विश्वभर रहेका नेपालीहरु एकै पटक उत्साहित भए।

पारसले नेपालको पहिलो ओडिआई जितमा अर्धशतक बनाए भने बलिङमा निर्णायक प्रदर्शन गरे। पारस र सोमपालको अर्धशतक मद्दतमा नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। नेपालको धर्मराएको इनिङ्स सम्हाल्न सोमपाल कामीले ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६१ रन बनाए। ओडिआईमा त्यो नेपाली खेलाडीको उच्च स्कोर हो।

यस्तै बलिङमा सन्दीप लामिछानेले ३ तथा डेब्युटान्ट ललित भण्डारीले २ विकेट लिए। दोस्रो खेलमा १ रनको रोमाञ्चक जितपछि नेपालले ऐतिहासिक पहिलो ओडिआई सिरिज १-१ को बराबरीमा टुङ्गाएको छ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि ओडिआई मान्यता पाएको हो। त्यसको साढे ४ महिनापछि नेपालले पहिलो ओडिआई सिरिज खेलेको हो। अब २ खेल खेलेपछि नेपाल पनि ओडिआई र्‍याङ्किङमा समावेश हुनेछ। अहिले टेष्ट खेल्ने १२ सहित कूल १६ राष्ट्रसँग ओडिआई मान्यता छ। नेपाल क्रिकेट खेल्ने विश्वका १०० भन्दा बढी देशमध्ये शीर्ष १६ राष्ट्रभित्र छ।

नेपालसँग टी-२० इन्टरनेशनल मान्यता पनि छ। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।

अब नेपालले खेल्ने अर्को प्रतियोगिता एसिया कप क्वालिफायर हो। यहि अगष्ट अन्तिमबाट मलेसियामा हुने क्वालिफायरमा नेपालसहित ६ राष्ट्रले खेल्नेछन्। नेपाल र युएई ओडिआई मान्यता प्राप्त राष्ट्र हुन्। यी दुईबीचको खेलले ओडिआई मानन्यता पाउनेछ र नेपालको लागि यो तेस्रो ओडिआई हुनेछ।

६ टोलीबीच राउण्ड रोविन लिगमा प्रतिस्पर्धा हुने क्वालिफायरमा नेपाल र युएई नै फाइनलमा पुगे नेपालले चौथो ओडिआई पनि खेल्न पाउँनेछ। त्यासपछि र्‍याङ्किङमा समावेश हुनेछ।

एसिया कप क्वालिफायरमा नेपाल र युएईसहित हङकङ, मलेसिया, ओमान र सिंगापुर छन्। यस प्रतियोगिताको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कप २०१८ क्रिकेटको लागि छनोट हुनेछ।

जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र हुनेछन्। छनोटको विजेताले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने अवसर समेत पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell