PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अवैध रूपमा युएईमा रहेका कामदारलाई आम माफी : कसरी लिने सुविधा, के-के छन् फाइदा?



विधुर ढकाल

अवैध रूपमा युएईमा रहेका कामदारलाई आम माफी : कसरी लिने सुविधा, के-के छन् फाइदा?
Photo: GulfNews

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले गैर कानुनी रूपमा बसेका कामदारलाई स्वदेश फर्काउने या कानुनी मान्यता लिन तीन महिने 'आममाफी' अभियान सञ्चालनमा ल्याएको छ।

युएईले ल्याएको यो अभियानले गैर कानुनीरूपमा त्यहाँ बसिरहेका नेपालीसमेत लाभान्वित हुने छन्। 

युएईले आफ्नो मुलुकमा गैर कानुनी रूपमा रहेका 'ओभरस्टे' विदेशी कामदारलाई स्वदेश फिर्ता हुने मौका स्वरूप तीन महिनाको समय दिएको हो। 

गैर कानुनी हैसियतमा रहेका विदेशी कामदारलाई वैध हुन दिने वा स्वदेश फर्किन दिने गरी एम्नेस्टी कार्यक्रम ल्याइएको हो। अगस्ट १ देखि ३१ अक्टोबरसम्म लागू हुने गरी विदेशी नागरिकका लागि आममाफीको कार्यक्रम ल्याइएकाले विदेशी कामदारलाई ठूलो राहत पुग्ने गल्फ न्युजले जनाएको छ। 

युएईले नयाँ भिसा कानुन ल्याएर गैर कानुनी रूपमा बसेका कामदारहरूलाई यस्तो सुविधा दिएको हो। 

युएईले देशको भिसा कानुन, कामदार बिमामा सुधारको घोषणा गत साता गरेको थियो। सोमबारको युएईको मन्त्रिपरिषद्को बैठकले अवैध रूपमा रहेका कामदारहरूलाई भिसा स्टाटस परिवर्तन गर्न तथा एक वर्ष स्टे परमिटको आवेदन दिन तीन महिना समय दिने प्रस्ताव पारित गरेको युएईको अनलाइन दी नेसनलले जनाएको छ। 

युएईका परिचय तथा नागरिकता सम्बन्धी संघीय निकायका अध्यक्ष अली मोहम्मद विन हमादले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि 'प्रोटेक्ट योरसेल्फ बाइ मोडिफाइङ योर स्टाटस्' अभियान चलाएको बताए। 

'जो अवैध रूपमा रहेका छन्, उनीहरूले कानुनी समस्या बेहोर्नुपर्ने छैन। उनीहरूको जरिवाना मिनाहा गरिने छ,' युएईको सरकारी समाचार एजेन्सी वामले जनाएको छ। 

अभियानलाई 'घर फर्किने अन्तिम बस समात्नु' (क्याचिङ दी लास्ट बस होम)को रूपमा लिइएको छ। यसैबीच नेपालले त्यहाँ रहेका अवैध नेपाली कामदारहरूलाई यो सुविधा उपयोग गर्न आग्रह गरेको छ।

अवुधावीस्थित नेपाली दूतावासले वक्तव्य जारी गरी युएईमा अवैध रूपमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गरी राहदानी तथा ट्राभल्स डकुमेन्ट बनाउन अनुरोध गरेको छ। 

भिसाको अवधि सकिएर म्याद भन्दा बढी बसेका  र कम्पनी छोडेर भागेका कामदारहरू यस आममाफीबाट लाभान्वित हुन सक्नेछन्।


कसरी बनाउने राहदानी र ट्राभल्स डकुमेन्ट ?

अवैध रूपमा युएईमा रहेका नेपाली कामदारले राहदानी नभएको भए, बनाउनुपर्ने छ। त्यसका लागि पुरानो राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, राहदानी हराएको भए प्रहरी रिपोर्ट सहित राजदूतावासमा गएर नयाँ बनाउन सकिने छ। 

त्यसका लागि नियमिततर्फका लागि २०० दिरहाम शुल्क लाग्ने दूतावासले जनाएको छ। त्यस्तै हराएर/बिग्रिएको भए ४०० र नाबालकको लागि १०० दिरहाम लाग्ने छ। 

त्यस्तै दूतावासले नि:शुल्क ट्राभल्स डकुमेन्ट जारी गर्ने छ। त्यसका लागि पुरानो राहदानीको प्रतिलिपि आवश्यक पर्ने दूतावासले जनाएको छ। 
राहदानी नभए नेपाली कामदारहरूले नेपाल फर्कनका लागि ट्राभल्स डकुमेन्ट बनाउन दूतावासमै पुग्नुपर्ने छ। यूएई मै काम खोजेर बस्न चाहनेहरूले राहदानीको लागि आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि र पुलिस रिपोर्टसहित दूतावासमा पुग्नुपर्ने छ।

तीन महिने अभियानको फाइदा के?

  • अध्यागमनको जरिवाना मिनाहा हुने
  • प्रतिबन्ध नलागी यूएई छोड्न पाइने
  • पुनः यूएई आउनको लागि स्थायी प्रतिबन्ध नलाग्ने
  • ५०० दिरहाम सहित आवेदन दिएर नयाँ काम खोजी वैधानिक रूपमा यूएईमा रहन सकिने छ। त्यसका लागि म्याद बाँकी रहेको एमआरपी राहदानी आवश्यक हुन्छ।
  • ६ महिने 'जब सिकर' भिसाका लागि मानव संशाधन तथा इमिरताइजेसन मन्त्रालयको वेभसाइटमा 'भर्चुअल जब मार्केट'मा दर्ता गर्न सकिने छ।
  • यसरी यस कार्यक्रममार्फत् युएईमै काम गरेर बस्न चाहनेका लागि युएईले ६ महिनाको जब सिकर भिसा दिनेछ। यसरी दिइएको भिसा अवधिमा पनि काम नपाएमा उक्त भिसाको अवधि सकिन १० दिन अगावै नेपाल फर्किनु पर्नेछ। 

आममाफीको लागि कहाँ कहाँ सम्पर्क गर्ने ?

अवैध भएका कामदारले पछिल्लो भिसा जुन इमिरेट्सबाट जारी भएको हो सोही त्यही इमिरेट्सबाट आममाफी पाउने छन्। ती इमिरेट्समा रहेका एम्नेस्टी सेन्टरमा सम्पर्क गरी आवेदन दिन सक्ने छन्। 

त्यसका लागि अवुधावीको लागि शाहमा, अल एन र पश्चिम अवुधावीको अल घार्वियामा रहेका इमिग्रेसन अपिसमा सम्पर्क गर्नुपर्ने छ। 

त्यस्तै दुबईका लागि अल अवीर मा रहेको इमिग्रेसन अपिसमा पुग्नुपर्ने छ। त्यस्तै अन्य इमिरेट्समा रहेकाहरूले इमिरेट्सको मुख्य इमिग्रेसन कार्यालयमा सम्पर्क गर्नुपर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell