PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन



पहिलोपोस्ट

एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

काठमाडौँ : प्रधानमन्त्री कप वन डे क्रिकेटको उपाधि एपीएफले जितेको छ। विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै एपीएफ पहिलो पटक च्याम्पियन बनेको हो।आर्मी र नेपाल पुलिस गत संस्करणमा संयुक्त रुपमा विजेता बनेको थियो। 

आर्मीले दिएको २१० रनको लक्ष्य एपीएफले ४१.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।  समूह चरणमा आर्मीसंग मात्र पराजित भएको एपीएफले फाईनलमा आर्मीलाई नै हराउँदै त्यसको बदला लिएको छ।

च्याम्पियन एपीएफले नगद २० लाख हात पार्दा उपविजेता आर्मीले १० लाखमै चित्त बुझाएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो। आर्मीको लागि भिम शार्किले सर्वाधिक ४५ रन बनाए। सोमपाल कामीले ३६, कप्तान विनोद भन्डारीले ३५ तथा राजेस पुलामी मगरले २७ रन बनाए।

बलिङमा एपीएफका करण केसीले ३ तथा बसन्त रेग्मी र भुबन कार्कीले २-२ विकेट लिए। भुवनले १० ओभरमा २४ रन मात्र खर्चँदा करणले १० ओेभरमा २ मेडन राख्दै ३८ रन खर्चे।

२१० रनको लक्ष्य पछ्याउने क्रममा ओपनर सुबास खकुरेल १२ रन बनाउँदा रिटायर्ड हर्ट भएपछि अर्का ओपनर अनिल कुमार शाहले प्रदिप ऐरीसँग शतकिय साझेदारी गर्दै एपीएफलाई गतिलो सुरुवात दिलाएका थिए। अनिल र प्रदिपले पहिलो विकेटका लागि १३८ रनको साझेदारि गरे। दुवैले समान ६३ रन बनाए।

यस्तै पृथु बास्कोटाले ३२ तथा रोहित कुमार पौडेलले १५ रन जोडे। करण केसी १५ तथा सुबास १४ रनमा नटआउट रहे। बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए।

एपीएफका अनिल शाह फाइनल खेलको म्यान अफ द म्याच घोषित भए।


सागर पुन उत्कृष्ट

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सागर पुन घोषित भए। सागरले ६ खेलमा २११ रन जोडेका थिए। उनी सर्वाधिक रन बनाउने एपीएफका प्रदीप ऐरी (३१५) पछि दोस्रो स्थानमा रहे। बलिङतर्फ सागरले ११ विकेट लिए। उनले ५० हजार नगद हात पारे।

यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान एपीएफका प्रदीप ऐरी चुनिए। प्रदीपले ६ खेलमा ३१५ रन बनाए। उनले लिग चरणमा प्रदेश २ विरुद्ध १५८ रन बनाएका थिए। उक्त इनिङ्स घरेलु प्रतियोगितामा एकै खेलाडीले बनाएको व्यक्तिगत उच्च स्कोर हो। यस्तै प्रतियोगिताको उत्कृष्ट बलर आर्मीका सुसन भारी घोषित भए। उनले ६ खेलमा कूल १२ विकेट लिए। प्रदिप र सुसनले ३०-३० हजार नगद हात पारे।

यसैगरी प्रतियोगिताको इमर्जिङ प्लेअर प्रदेश ४ का हरि बहादुर चौहान घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell