PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमाले - माओवादी एकता दक्षिणपन्थीको मेलः हामी यो राज्यसत्ता मान्दैनौँ, जनसरकार थाल्नैपर्छ -मोहन वैद्य



विधुर ढकाल

एमाले - माओवादी एकता दक्षिणपन्थीको मेलः हामी यो राज्यसत्ता मान्दैनौँ, जनसरकार थाल्नैपर्छ -मोहन वैद्य

पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छ। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पूर्व एउटै कम्युनिष्ट केन्द्र बनाउने गरी सुरू भएको वाम गठबन्धन एकताको अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा साना वाम घटकहरू पनि एकीकरणको छलफलमा जुटेका छन्।

यही सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण'सँग वाम एकता, क्रान्तिकारी ध्रुवीकरण र केपी ओली सरकार प्रतिको क्रान्तिकारी माओवादीको दृष्टिकोणका विषयमा पहिलोपोस्टले गरेको कुराकानीः 

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालार्इ कसरी हेरिरहनु भएको छ? 
यसलार्इ हामीले वाम एकता मान्दैनौँ। न त यो वामपन्थीहरूबीचको एकता हो, न त कम्युनिष्टहरूबीचको एकता हो। यो दक्षिणपन्थीहरूको एकता हो। प्रतिक्रियावादी राज्यसत्तालार्इ सुदृढ बनाउने संसदवादी शक्तिहरूको एकताका रूपमा हामीले यसलार्इ लिएका छौँ। 

मूलधारबाट अलग भएको भन्दै प्रचण्डले त तपाईँहरुलाई पनि एकतामा आउन आह्वान गर्नुभएको छ नि?
प्रचण्डहरू मूलधार नै होइनन्। त्यो त संसदवादी धार हो। त्यस कारणले उहाँहरूले आफूलार्इ मूलधार भन्ने आधार गुमाउनु भयो। त्यो संसदवादी धार हो। दक्षिणपन्थी अवसरवादी धार हो। संसदवादमा अहिले मुलभुत रूपमा दुर्इवटा धारहरू छन्। एउटा धारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। अर्को धार एमाले र माकेहरूले गर्छन्। माओवादी आन्दोलन र कम्युनिष्ट आन्दोलन सम्बन्धी मूलधारसँग उनीहरूको कुनै सम्बन्ध छैन। 

यसको मतलव मूलधार तपार्इहरू?
क्रान्तिकारी माओवादी मात्र होइन। क्रान्तिकारी माओवादीलगयतका अन्य समूह पनि हुन्। सच्चा क्रान्तिकारी कम्युनिष्टहरू हुन भन्दा हुन्छ। हामीहरू नेपालको कम्युनिष्ट आन्दोलनका मूलधार हौँ। 

क्रान्तिकारी कम्युनिष्टहरूबीचको ध्रुवीकरणको बहस पनि तपार्इँले चलाउँदै आउनु भएको छ। यो बहस कहाँ पुग्यो त? 
ध्रुवीकरण भन्नुभयो यहाँले। त्यसले मात्र हामीले चलाएको बहसलार्इ समेट्न अलि सक्दैन्। नेपाली कम्युनिष्ट आन्दोलनमा एकीकरण र ध्रुवीकरणको बहस हो यो। क्रान्तिकारीहरूबीचको एकीकरण र क्रान्तिकारी र दक्षिणपन्थीहरूबीचको ध्रुवीकरणको बहस हो यो। यो बहसले क्रान्तिकारीहरू एकातिर र अवसरवादीहरू अर्कोतिर हुने अभियान हो। ध्रुवीकरणले एकतालार्इ सम्बोधन गर्न सक्दैन। यसले फुटलार्इ मात्र सम्बोधन गर्छ। हामीले क्रान्तिकारीहरूबीचको एकतामा जोड दिएका छौँ। यो एकता हुँदै गर्दा दक्षिणपन्थीहरू र अवसरवादीहरू आफै ध्रुवीकृत हुन्छन्। कहाँसम्म पुग्यो भन्ने तपार्इँको जिज्ञासालार्इ सम्बोधन गर्नुपर्दा उहाँहरू दक्षिणपन्थीहरू (नेकपा एमाले र माओवादी केन्द्र)बीचको एकीकरण प्रकृया अन्तिममा पुग्यो भन्नु भएको छ। हामी छलफलकै क्रममा छौँ। हामीले क्रान्तिकारीकाबीचमा एकता गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौँ। चरणवद्धरूपमा छलफल भइरहेको छ। हाम्रा सैद्धान्तिक राजनीतिक विषयहरूमा अलि छलफल र बहसहरू हुन बाँकी छ। हाम्रो प्रकृया सुरू भएको छ। 

मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको नेकपाबीच एकताको बहस चलाइरहनु भएको छ। मोहन विक्रम सिंहले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालार्इ पनि स्वागत गरिरहनु भएको छ त?
यसमा हामीले छलफल चलार्इरहेका छौँ। हामी छलफलकै क्रममा छौँ। उहाँहरूले कसरी स्वागत गर्नुभयो? किन गर्नुभयो हामी छलफलकै क्रममा छौँ। हामीहरूबीच एकता हुने हो होइन भन्ने टुंगो त लागिसकेको छैन। उहाँहरू सरकारमा जाने हो भने उहाँसँग पनि हामी त्यही अनुरूप प्रस्तुत हुन्छौँ। हामीबीच एकता भइसकेको होइन् नि त। हामी सबै विषयमा छलफल चलाउँछौँ। उहाँहरूले के गर्नुहुन्छ उहाँहरूको कुरा हो। सरकारमा जान ठिक हो होइन्रु सरकारमा गएपछि कम्युनिष्ट रहिन्छ की रहिँदैन् भन्ने विषयमा उहाँहरूसँग पनि छलफल गरिरहेका छौँ। 

तपार्इँले माओवादी अन्दोलनमा मूल नेतृत्वले धोका दियो भन्दै आउनु भएको छ, तपाईँको आफ्नो कार्यदिशा के हो? 
नेपालमा अझै क्रान्ति सम्पन्न भएको छैन्। नयाँ जनवादी क्रान्ति नभएको अवस्थामा देश अझै अर्थऔपनिवेशिक, नवउपनिवेशिक अर्धसामन्ती अवस्थामा अझै छ। त्यसकारणले पनि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ। समाजवादी क्रान्तिको दिशालार्इ अगाडि बढाउनुपर्छ भन्ने नै हाम्रो कार्यदिशा हो। हामी त्यही बाटोमा लागिरहेका छौँ। 

के अब तपार्इहरूलार्इ जनताले फेरि विश्वास गर्लान्। यो अवस्थामा तपार्इँले भन्नुभएको क्रान्तिको फेरि उठान हुन सक्ला?
धोका त भएकै हो। गम्भीर प्रकारको धोका भएकै हो। हामीले त्यसको विरोध गर्ने कुरा रह्यो। इतिहासमा भएका यी घटनाहरूबाट आवश्यक पाठ सिक्दै फेरि क्रान्तिको प्रकृयालार्इ अगाडि बढाउने कुरा हुन्छ। अर्को विकल्प छैन। क्रान्तिमा यस्ता धोकाहरू हुन्छन्। नेपालमा पनि भयो। यसबाट पाठ सिकेर जनताकोबीचमा प्रतिवद्धता जाहेर गर्दै थप प्रतिवद्ध हुँदै पुरानो राज्यसत्ताविरूद्ध वैचारिक संघर्ष चलाउँदै क्रान्तिको तयारी गर्ने हो। 

संविधान खारेजीको माग गर्ने तपार्इँहरू निर्वाचनमा भाग लिनु भयो। त्यही निर्वाचनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ?
सरकार मात्रैको कुरा गर्नुहुन्छ भने यो संसदवादी सरकार हो। चुनावको कुरा गर्नुहुन्छ भने, संसदीय चुनावहरू क्रान्तिकारीहरूले कुनै बेला उपयोग पनि गर्छन्। बहिस्कार पनि गर्छन्। हामीहरूले दुबै गर्यौँ। अहिलेको निर्वाचन हामीले उपयोग गरेका हौँ। हामीले वर्तमान राज्यसत्ता पनि मान्दैनौँ। वर्तमान संविधान पनि मान्दैनौँ। हामीले संसदीय व्यवस्था पनि मान्दैनौँ। खाली उपयोग मात्र हो। यसलार्इ यही ढंगले लिनुपर्छ। 
अर्को कुरा जुन सरकारको कुरा उठाउनु भएको छ, यो सरकार प्रतिक्रियावादी राज्यसत्ताको संरक्षक हो।

प्रधानमन्त्रीले त चन्दा उठाएर खान पल्केकाहरूले संविधान नमानेका हुन्, ठीक पार्छौ‌ं भन्दै हुनुहुन्छ नि?
सरकारमा सत्तामा बसेपछि जे गरे पनि हुन्छ। जे भने पनि हुन्छ भन्ने उहाँहरूको मानसिकता हो। उहाँहरूले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान गरेर देखाउनु पर्‍यो। त्यही समस्या समाधानका लागि कम्युनिष्टहरू त्यही दिशामा गएकै हुन्। तर उनीहरू त्यही संसदीय व्यवस्थामा फसे। उहाँले आफ्नो विगत पनि हेर्नुपर्छ। उहाँहरूका विगतहरू पनि हामीले भन्न सक्छौँ नि। उहाँहरू पनि संघर्ष गरेर जानुपर्छ। सामन्तविरूद्ध लड्ने। हिंसाको प्रयोग गर्ने हो नि त उहाँहरूको विगत। विगत विर्सनु भएन उहाँहरूले। 

पछिल्लो समय विप्लवले जनसरकार व्युताएर सरकारमा रहेका मुख्य नेतृत्वलार्इ वारेन्ट जारी गरेको छ। तपार्इँहरूले पनि जनसरकार र जनअदालत व्यूताएर विप्लवले जारी गरेको वारेन्टमा समर्थन दिनु भएको हो?
विप्लवजीहरूले जनसरकार, जनआदलत कहाँ कहाँ के-के भन्नु भएको छ। त्यो हामीलार्इ आधिकारिक रूपमा थाहा छैन। उहाँको कुरा पनि के हो हामी बुझ्छौँ। जहाँसम्म जनसरकार व्युँझाउने कुरा गर्नुभएको छ, हामीले व्युँझाउनेभन्दा पनि जनसरकार स्थापना गर्ने हो। यो प्रकृया त हामीले थाल्नु पर्ने नै। विप्लव जीहरूको कुरा के के हो बुझेर नै उहाँहरूसँग कार्यगत एकतालार्इ अगाडि बढाउँछौँ। हामीले कसले के गरिरहेको छ भन्ने कुरामा पार्टीभित्र छलफल गर्छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell