काठमाडौं : मंगलवार राजधानीको सभा गृहमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका शीर्ष नेता एउटै मञ्चमा देखिए। तीनै पार्टी मंसिरमा हुने प्रतिनिधि र प्रदेशको निर्वाचनको लागि तालमेल गर्ने र त्यसपछि पार्टी एकता गरेर अधि बढ्ने जानकारी दिने कार्यक्रम थियो। दिउँसो ५ बजे पत्रकार सम्मेलन गर्ने जानकारी गराए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रम स्थानमा साढे पाँच बजेमात्र आइपुगेका थिए। त्यस्तै उनीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक भट्टराई पुगेका थिए। कार्यक्रममा देखिएको पाँच दृष्य यस्ता थिए -
- पूर्व निर्धारित कार्यक्रम भए पनि नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल भने कार्यक्रममा झन्डै ३० मिनेट ढिला पुगेका थिए। अन्य नेताको उपस्थितिमा जुन प्रकारको हुटिङ देखिन्थ्यो खनालकोमा भने त्यो देखिएन।
- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई करिब ३० मिनेटपछि मात्र आसन ग्रहण गराइयो। केपी शर्मा ओली, पुष्पकमल दाहाल र बावुराम भट्टराइसँगै हल प्रवेश गरेका माधव कुमार नेपाललाई एमाले उपमहासचिव बिष्णु पौडेल(उद्घोषक) आसन ग्रहण नै गर्न बिर्सिए। कार्यक्रम भइरहेको ३० मिनेटपछि मात्र उनलाई अघि नै आसन ग्रहण गर्न अनुरोध गरेको भन्दै पौडेलले आसन ग्रहण गराएका थिए।
- पत्रकार सम्मेलन भनेर पत्रकारलाई आमन्त्रण गरिए पनि पत्रकारको हल भित्र प्रवेश गर्न सहज थिएन। निर्धारित समयमा पुगेका पत्रकार हलमा कार्यकर्ताले खचाखच भएपछि बाहिर कित खाली भूईमा नै बसेर रिपोटिङ गर्न बाध्य थिए।
- सबै कम्यनिष्ट एक हुने तयारीको घोषणा कार्यक्रमम भए पनि तीनै नेताको अभिवाद शैली फरक फरक देखियो। सभागृहको हलमा प्रवेश गर्ने बित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले हात जोडेर नमस्कार गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने हात उठाएर अभिवादन मात्र गरे। कम्युनिष्ट छोडेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइले भने हात मुठ्ठी पार्दै लाल सलाम गरेका थिए।
- कार्यक्रम स्थलको स्टेजमा नै खुम्चिए एमाले महासचिव ईश्वर पोख्रेल। माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा पहिले नै स्टेजको अग्रपङ्तिमा आएर आसन ग्रहण गरे। एमालेका महासचिव पोख्रेललाई भने पहिलो पङ्तिमा ठाँउ नै पुगेन। त्यसपछि दोस्रो लहरमा गएर बस्न बाध्य भए। माआवादी नेता जनार्दन शर्माको पहलमा अगाडि एउटा कुर्सी थपेर महासचिव पोखरेललाई अगाडि ल्याइएको थियो। धेरै नेताहरु स्टेजमा ठाउँ अभावको कारण उभिएर बस्न बाध्य भए।