- उमेश श्रेष्ठ-
'पछिल्लो वर्षहरुमा नेपालले लोकतन्त्र र संघीयतामा प्रशंसनीय सफलता हात पारेको छ। दशकौँको संघर्षपछि नेपालको संविधानको रचना र उसको घोषणा एक महत्वपूर्ण सफलता हो', मोदीले भने।
'यिनै सिद्धान्तको आधारमा राजनीतिक वार्तालापको माध्यमबाट सबै वर्गलाइ साथ लिएर नेपालको संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजकन निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजानुहुनेछ भारतलाई विश्वास छ', उनको भनाई थियो।
मोदीले नेपालको आर्थिक उन्नती, विकास र सम्पन्नता नै भारतको स्थायी रुची भएको बताए। उनले नेपाल र भारतबीच थप दुईवटा ट्रान्जिट प्वाइन्ट खोल्ने सहमति भएको पनि जानकारी दिए। नेपालको जलविद्युतले नेपालमा उज्यालो र भारतको उर्जा अभावलाई पूरा गर्न सुक्ने भन्दै उनले यसको विकासमा मिलेर काम गर्न सकिने बताए।
नेपालले भूकम्पले उत्पन्न त्रास सामना गरिरहेको भन्दै मोदीले यसलाई भारतको पनि पीडा भन्दै पुनर्निर्माणमा १ खर्ब रुपैयाँ सहयोग गरेको पनि स्मरण गरे। जसमध्ये २५ अर्ब रुपैयाँ अनुदान र बाँकी सहुलियत ऋण रहेको पनि जानकारी दिए।
मोदीले नेपालको स्थिरता भारतको सुरक्षासँग जोडिएको भन्दै यसमा दुवै देशको सहयोग आवश्यक रहेको बताए। उनले आतंकवादको दुबै देश मिलेर सामना गर्नुपर्ने पनि बताए। उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पनि पुग्ने आशा ब्यक्त गरेका छन्।
के भने प्रधानमन्त्री ओलीले?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच केही महिनादेखि रहेको असमझदारी अन्त्य भएको बताएका छन्। आफ्नो भारत भ्रमणको उद्धेश्य दुई देशबीचको असमझदारी अन्त्य गर्नु रहेको दाबी गर्दै आएका प्रधानमन्त्रीले सम्झौताको हस्ताक्षर पछि आयोजित घोषणा कार्यक्रममा नेपाल र भारतबीच केही महिनायता रहेको असमझदारी अन्त्य भएको स्पष्ट पारेका हुन्। उनले आफ्नो भ्रमणपछि नेपाल र भारतबीच रहेको असमझदारी हटेको समेत बताए। 'भारत र नेपालबीच केही महिनायता देखिएको असमझदारी अब रहेन', प्रधानमन्त्री ओलीले भने, 'अब नेपाल र भारतबीचको सम्बन्धलाई 'फर्वार्ड लुकिङ एप्रोच' मा हेर्नुपर्छ।
भारत र नेपालबीच भएका सातवटा सम्झौतामा हस्ताक्षर भएपछि शनिबार गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारतले नेपालको शान्ति प्रक्रिया र राजनीतिक स्थायित्वको प्रक्रियामा लगातार गरेको सहयोगका लागि धन्यवाद दिए। नेपाल संविधान निर्माणपश्चात आर्थिक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्री ओलीले उच्च आर्थिक रुपान्तरणतर्फ लम्किरहेको भारतको प्रशंसा गरे।
नेपाल-भारत सीमा दुई देशको हितविपरित प्रयोग हुन नदिनेमा दुबै देश सचेत रहेको उनको भनाई थियो। आफ्नो भ्रमण उपयोगी र उत्पादनशील भएको ओलीले बताए।