PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सडक सकस : पर्व, जुलुसदेखि आन्दोलन र जन्तीसम्म


दीपज्योति श्रेष्ठ/पहिलोपोस्ट

सडक सकस : पर्व, जुलुसदेखि आन्दोलन र जन्तीसम्म
  • दीपज्योति श्रेष्ठ -

सोनाम ल्होसारका दिन टुँडिखेल म्युजिकमा झुम्दै थियो। चर्का आवाजमा घन्किरहेको कन्सर्टको म्युजिकले त्यसको ठीक सामुन्ने रहेको सुन्धारालाई कत्ति पनि तताउन सकेको थिएन। भिडभाड र गाडि नआएको आक्रोशको बीचमा त्यो कन्सर्टको म्युजिक फिका लागिरहेको थियो, धेरैलाई। अफिस-टाइम सडकमा गाडी-गाडी देखिनु पर्नेमा सडकभरि मान्छे यत्रतत्र थिए। कोही हतारमा जेब्राक्रसिङ नै नभएको काठमाडौं मल अगाडिको बाटोबाट टुँडिखेलतिर बाटो काट्न हतारिँदै थिए भने कोही गाडी नै नआएर निराश हुँदै भौतारिरहेका थिए। कतै गुड्दा गुड्दै गाडीमा मान्छे चढाइरहेका थिए भने कतै एम्बुलेन्सले बाटो देउ भन्दै साईरन बजाउँदै कन्सर्टको आवाजलाई चुनौती दिँदै थियो। सडक कोलाहलमय थियो। मानौं सडकमा मान्छे र गाडीको प्रतियोगिता भइरहेको छ। 

भनिन्छ उसै पनि भिडको कुनै इथिक्स हुँदैन। सडकलाई व्यवस्थापन गर्न बसेका ट्राफिकलाई भने हम्मे हम्मे परिरहेको थियो गाडी र मान्छे दुवैको भिडलाई व्यवस्थापन गर्न। 

सधैं झैं अफिसबाट, कलेजबाट र कामले बजार निस्केकाहरु घर फर्किन हतारिँदै थिए भने ल्होसार मनाउन आएका पनि कोही घर फर्किन त कोही टुँडिखेल पुग्ने चटारोमा। जति साँझ छिप्पिँदै थियो, भिड त्यति बढ्दै थियो। फरक यति थियो अरु दिन गाडी र मान्छेको भिड बराबर जसो हुन्थ्यो त्यस दिन भने मान्छेको भिडले गाडीलाई ठप्पै बनाएको थियो। गाडी कुर्ने जमातमा केही वृद्ध वृद्धा, केही साना नानी बोकिरहेका आमाहरु पनि थिए। त्यहीको भिडमा अपाङ्गता भएका व्यक्तिहरु पनि थिए। तर, त्यो भिडले कसैलाई दया गरिरहेको थिएन। चेपाचेप, धकेला धकेल, कसैले कसैलाई सहानुभूति दिन पनि भ्याइरहेका थिएनन् या दिन चाहँदैनथे। कोही गाडी रोक्ने-कुर्ने ठाउँमा नै आनन्दले बाइक रोक्दै गफमा मग्न थिए। कोही भने सडकमै बाइक पार्किङ गरेर गायब। सदाझैं फुटपाथमा पसल लगाउन व्यस्त हुनेहरु पनि उत्तिकै। सडक र फुटपाथ पार्किङ र व्यापारीले कब्जा गरेपछि सडकको हालत अस्तव्यस्त बन्न पुगेको थियो।

सुन्धारा उसै पनि प्राय: भिड भइराख्ने ठाउँ हो। किनकि यहाँबाट काठमाडौंका धेरैजसो ठाउँ पुग्ने गाडीले मानिसहरु चढाउने र ओराल्ने गर्दछ। बेलुकाको समयमा गाडी कुर्ने, चढ्ने र ओर्लनेको साथसाथै फुटपाथ पसलहरुले यो ठाउँ अतिनै अस्तव्यस्त बनाउँछ। अहिले भृकुटीमण्डपको बस स्टप त्यता सारेकाले र पिक - ड्रपको नियम सुरु भएदेखि गाडी र मान्छेको चाप बढेर यो ठाउँ झन् बढी अव्यवस्थित हुन थालेको छ। त्यसमाथि हिजोको ल्होसारले यो ठाउँको हालत निकै भयावह थियो। जामले गाडी सबै रत्नपार्क, भृकुटीमण्डपसम्म अड्केको थियो। बल्ल-बल्ल आएको गाडीमा चढ्न मुश्किल। कोहि झ्यालबाट पस्दै थिए, कोही पेलपाल गर्दै जबर्जस्ती चढ्दै थिए। कोही गुड्दा गुड्दैको गाडीमा चढ्न दौडँदै थिए। 

चाडबाडहरु मनाउनुपर्छ, हरेकको चाडबाडको सम्मान पनि गर्नुपर्छ। तर, यो कुरा चाडबाडमा मात्र होइन हामीले गर्ने हरेक सेलिब्रेसनमा मतलब  राख्छ। चाहे त्यो बिहेमा ब्याण्ड बाजा सहित बाटै छेकेर जन्ती जाँदा होस् या दिवस मनाउनका लागि गरिने र्यालीहरुमा। अझ त्यो झन् त्यतिबेला चासोको विषय बन्छ जब त्यो सडकसँग जोडिन्छ। सेलिब्रेसन गरिरहँदा सडक आफ्नै अधिनमा छ भनेर सोच्नु कति ठीक हो? आफ्नो मात्र सुविधा हेर्ने हाम्रो बानीले अरुलाई निकै दु:ख दिएको छ भन्ने भुल्नु कसरी ठीक हुन सक्छ। 

सडकको प्रमुख उपयोगिता भनेको हिँड्न र सवारीसाधन आवतजावतको लागि हुनुपर्छ तर अक्सर हाम्रोमा सडकहरू सवारी आवतजावत र बटुवा हिँड्डुल भन्दा इतर सवारी साधन पार्किङ, पसल र निर्माण सामग्री राख्ने ठाउँका रुपमा प्रयोग भएको पाउछौं। 

सडक संवेदनशील ठाउँ हो। किनकि सडकमा बिरामी बोकेको एम्बुलेन्सदेखि लिएर आगलागी भएको ठाउँमा जान हतारिएका दमकलहरु कुदिरहेका हुन्छन्। सडकप्रति हामीले देखाएको सानो बेवास्ताले धेरैलाई विपद् पर्न सक्छ, धेरै कुराको क्षति हुनसक्छ। 

नेपालमा धेरै जातजाति छन्। हरेक जातजातिको चाडबाडहरुलाई आधार लिने हो भने पनि यहाँ महिनैपिच्छे कुनै न कुनैको चाडहरु पर्ने गर्छ। टुँडिखेलमै मात्र मनाउने चाडहरु हेर्ने हो भने पनि ल्होसार, उधौली, उभौली, माघी लगायतका छन्। यस्ता चाडबाडहरु टुँडिखेलमा मनाइन थाल्नु सायद लोकतन्त्र आएपछिको सुन्दर पाटो पनि होला तर यस्ता चाडबाडहरुलाई अझ व्यवस्थित गर्नसके सुनमा सुगन्ध हुने थियो। काठमाडौंमा खुला ठाउँको कुरा गर्दा टुडिखेल अग्रपंक्तिमा आउँछ। यो सम्भवत: सबैभन्दा ठूलो पनि छ र सबैलाई पायक पर्ने ठाउँमा पनि छ। त्यसैले पनि होला प्राय: सार्वजनिक कार्यक्रमहरु यहाँ भइरहन्छ। चाडबाडहरुको सेलिब्रेसन मात्र होइन राजनीतिक सभा, कन्सर्टहरु पनि हुन्छ यहाँ। तर यस्तो पब्लिक कार्यक्रम पब्लिक ठाउँमा भइरहँदा अरु पब्लिक कुराहरुलाई पनि बेवास्ता गरिनु कसैगरी पनि जायज हुन सक्दैन।

आउँदा दिनहरुमा टुँडिखेलमा मनाइने यस्ता कार्यक्रमहरुमा व्यवस्थापनले धेरै कुराहरुमा ध्यान दिनुपर्ने देखिन्छ। विभिन्न कार्यक्रमहरुको अवसरमा टुँडिखेलभित्र टेन्ट र स्टलहरुले सजाउनुमात्र कार्यक्रम आयोजना गर्नु होइन। कार्यक्रममा आउने सवारीसाधनहरु कता कता पार्किङ गर्ने, इन्ट्री र एक्जिट गर्ने ठाउँहरु तोक्ने, जथाभावी बाटो काट्न नदिने, स्वयम सेवकहरु खटाउने बाटो काट्नका लागि। अनि काठमाडौं महानगर र महानगरीय ट्राफिक प्रहरीले पनि पूर्व तयारीहरु गर्नुपर्ने देखिन्छ। मान्छेहरुलाई दु:ख नहुने हिसाबले कसरी त्यो दिनको सडक व्यवस्थापन गर्ने भन्ने तय हुन आवश्यक छ किनकि यस्ता कार्यक्रमहरु प्राय: पहिले नै तोकिएका हुन्छन्। त्यसैले यस्तो कुरामा सकिएन, आज फलानो कुराले गर्दा जाम भयो भन्नुले जहिले हाम्रो स्मार्टनेसलाई चुनौती दिइरहेको छ। 

त्यसैले अब एउटा सिस्टम बसाल्न जरुरी छ। अबका दिनमा यसरी चाडबाड मनाउने कार्य होस् या अन्य केही कार्यक्रम हुँदा काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी र कार्यक्रम आयोजक समिति मिलेर अन्य नागरिकलाई असर नपर्ने खालको तयारी गरी व्यवस्थापन गर्न जरुरी छ। टुँडिखेलमा गरिने यस्ता ठुला कार्यक्रमले मात्र होइन बिहेमा प्रयोग गरिने ब्याण्ड बाजा र जन्तीहरुले पनि सडकलाई अनायासै जाम गरिरहेको हुन्छ। यति मात्र होइन विभिन्न दिवस पारेर आयोजना गरिने र्यालीहरुले पनि प्राय: सडक अवरोध गरिरहेको हुन्छ।

त्यसैले यस्तो कुरालाई पनि व्यवस्थित गरिनुपर्छ। यति मात्र होइन सडक व्यवस्थापनमा हामी गाडी कुर्ने, गाडी चढ्ने, गाडी चलाउने, बाटो काट्ने, जथाभावी सवारीसाधनहरु पार्क गर्नेहरुको पनि उत्ति नै जिम्मेवारी छ। त्यसैले हामी आफू पनि यस्ता कुराहरुमा सजग हुनुपर्छ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट