PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजाले त के पशुपतिनाथले पनि के सक्लान र?


दिनेश शर्मा/पहिलोपोस्ट

राजाले त के पशुपतिनाथले पनि के सक्लान र?

केटाकेटी हुँदा साथीहरुले अलि ठूलो खाडल देखाएर 'यो खाल्डो नाघ्न सक्छस्?' भनेर सोध्दा असम्भव लाग्थ्यो। अनि भनिन्थ्यो- 'यो त राजाले नि नाघ्न सक्दैनन्।' राजा त विष्णु भगवानकै अवतार हुन् भन्ने सुन्दै आएकाले अरुले नसके राजाले सक्छन् भन्ने बुझाइ गढेको थियो मनमा।
अहिले देशको अवस्था र राजनीतिक दलका नेताहरुले अपनाएको शैली हेर्दा सानामा देख्ने गरेको खाडलभन्दा धेरै ठूलो भड्खालो तयार भएको अनुभूति हुन्छ। यो भड्खालो पार कसले गर्न सक्ला? प्रश्न गर्नु लोकतन्त्रको अविभाज्य अंग हो, त्यसैले प्रश्न गर्न मन लाग्छ। 

बीपी पनि जेल बसे, साहित्य साधना र राजनीतिक विचारमा सक्रिय रहे। गणेशमान सिंह पनि जेल परे, निडर बनिरहे। अनि त्यागी भएर राजनीतिबाट बाहिरिए। एकदलीय पञ्चायती शासनविरुद्ध चौध वर्ष कारागारमा बिताउनु भनेको चानचुने कुरा हुँदै होइन। व्यवस्था विरुद्ध केपी शर्मा ओली त्यसै विद्रोहमा उत्रिएका होइनन्, पक्कै पनि। बागचाल खेलेर पक्कै पनि समय गुजारेनन् होला उनले जेलमा।

प्रधानमन्त्री ओलीको ओठमा फ्याट्टै एउटा जवाफ झुन्डिएको हुन्छ - कांग्रेसले बिगार्दा नबोल्ने, अहिले डाँको हाल्ने? अनि सोध्न मन लाग्छ - के अब बिगार्ने पालो तपाईँको हो? बिहारमा लालु यादवले दशकौं शासन आफू र परिवारभन्दा बाहिर रहन दिएनन्। परिवर्तन हुँदै भएन। अब अरुले बिगार्दा चुप मैले गर्दा बोल्ने भन्दै 'भ्रष्टाचार'को अवसर पाउनुपर्छ भन्ने तर्क गरिरहने। अहिले सरकारका कुनै एक मन्त्रीले कुनै पनि एक क्षेत्रको मुहार फेर्न सक्छ जस्तो लाग्छ? समृद्धिको नारा यति सजिलो छ त?  

राजा महेन्द्रको पालामा विज्ञान र प्रविधिको अहिलेजस्तो अवस्था हुने कुरै थिएन। विज्ञान र गणितका शिक्षकसमेत नेपालको सीमापारीबाट भित्र्याउनुपर्ने अवस्था थियो। आठ कक्षा पढेकाले त वीरेन्द्रकै पालामा पनि पढाउन पाउँथे। प्राविधिकमा उपर - सेठ (ओभरसियर) भनेको त कता हो कता। यसर्थ, राजाले आफूसँग पढेका बेलायती मित्रहरुबाट अलिअलि सहयोग लिएका थिए। फलश्वरुप मुलुकका विभिन्न ठाउँमा नापी, सडक मार्गको पदचाप तयार भयो। सडक बनाउने क्रम सुरु भयो। राजाले बेलायतीबाट प्रभावित भएर केही काम पूरा गरे। एकोहोरो भएर दरबारका हजुरियाकै चिल्ला तारिफमा भुलेको भए महेन्द्र राजमार्गको रेखाङ्कन नै हुने थिएन, पूर्व पश्चिम जोड्ने रोडको कुरा त टाढै।  

'गणेश भगवानले दूध पिए रे!' भन्दै दूधका प्याकेट-प्याकेट लिएर मन्दिरमा लाइन बस्न जाने हामी नेपालीले कमल थापाको कुरा पत्याएनौं कि, सबैलाई शहर-शहरमा फ्ल्याट सित्तैमा भन्ने प्रचण्ड र बाबुरामका कुरा पत्याएनौं कि? सम्मृद्धिको नारा नपत्याउने त कुरै छैन। तर, खोइ त स्रोत? खोइ त आम्दानी? के ले समृद्द बनाउने देश? आलु, चामल, माछा, गोलभेडा भारतबाट ल्याएर समृद्धि आउँछ?

भर्खरै प्रधानमन्त्रीको ताजा सन्देश पढियो - "विदेशको बास्नादार चामल हैन, स्वदेशकै मीठो चामल खाऔं।" हासो उठ्यो। खोइ खेती गर्ने मान्छे? भारतबाट भित्रने ५० रुपैयाँ किलोको चामलको उत्पादन लागत नब्बे रुपैयाँ पुग्छ, यहाँ। खेतीमा काम गर्नेको हाहाकार छ। युवा पलायन हुँदा मलामी पाउन कठिन छ। पहाडका साना तथा मझौला बजारमा ट्रकबाट अनलोडमात्रै भइरहेको छ। केही अपलोड भइरहेको छैन।

यस्तै धरातलमा रहेर सरकार भने विदेशीलाई नेपालमा लगानी गराउन ल्याउने दावी गर्छ। नाथे टेलिफोन कम्पनीले देश फनफन्ती हल्लाइरहेकै त छ। चीनबाट सिल्क किनेर कलकत्ता हुँदै सिमरा ल्याएर कपडा बनाएर निर्यात गरेर कसरी निकाल्ने फाइदा? जनसंख्या नै नभएको मुलुकले त आफूसँग जे छ, त्यही निर्यात पो गर्ने हो त। हामीसँग बिजुलीको सम्भावना छ, ढुङ्गा, गिट्टी र माटो छ। त्यही नै हो हामीले निर्यात गर्न सक्ने।

सयौं होटल पनि चल्छन् यहाँ। तर, विडम्बना पर्यटन मन्त्रीले भिजिट नेपालका नारा दिइरहँदा लैनचौरदेखि दरबारमार्गजस्तो सुगम ठाउँमा पिसाव लाग्दा जाने ठाउँ छैन।

भावनामा बगेर समृद्धि आउँदैन प्रधानमन्त्रीज्यू। अब भावनामै बगे पनि आधार सहितको विज्ञान मिश्रित भावनामात्र बिक्छ। तपाईँले बिज्ञ ठानेका तपाईँका हजुरियाहरुको चौतर्फी उन्नतीबाहेक अरु कसैको विकास हुने अवस्था छैन।

नेपालमा गिरीजाप्रसाद कोइरालाले भ्रष्टाचारको बाटो निर्माण गरेकै हुन्, कांग्रेसभित्रैबाट। शेरबहादुर देउवाहरु पनि त्यही पथमै हिँडिरहे। तर, दुर्भाग्य गिरीजा र देउवाले बनाएको भ्रष्टाचारको गोरेटोलाई सुपर हाइवेको लेनमा रुपान्तरण गरेका छन् ओलीले। गिरीजा र देउवाको शासनभन्दा कयौं गुणा भ्रष्टाचार बढेको छ।  

त्यसो त ओलीले जीवनको क्रिम समय कारागारको यातनामा बिताए। तर, त्यसको प्रतिफल के कुतर्कका लागि मात्र प्रयोग भइरहने?

प्रधानमन्त्री जस्तो गरिमामय पदको ख्याल नगरी पशुपति शर्माको गीतको पछि लाग्ने? ज्यू-हजुरियातिर मात्र प्रेमपोषण गरिरहने हो र दर्जनौ राजनारायण पाठकलाई खुल्लम-खुल्ला नग्न नृत्य गर्न छुट दिएर कस्तो समृद्धि ल्याउने? अब यस्तै अवस्था रहने हो भने यो मुलुकलाई राजाका राजाले पनि बचाउन सक्दैनन्। सायद, पशुपतिनाथले पनि।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट