PahiloPost

Nov 20, 2018 | ४ मंसिर २०७५


बाबु घरबाहिर नजानु ल!


भावना शर्मा/पहिलोपोस्ट

बाबु घरबाहिर नजानु ल!
घरको भान्छाको धुँवा जाने प्वालमा केही दिन अघिसम्म रुपी चराको गुँड थियो। एकजोडी रुपीले मिलेर स-साना झिक्रा र मसिना सिन्का बोक्दै लैजाँदै गुँड बनाइरहेको बडो रमाइलोसँग हेर्थेँ म। कहिलेकाहीँ ठीक त्यसकै तल रहेको बेसिनमा फोहोर पारिदिँदा भने रिस उठ्थ्यो। ओबानो भात राखेर नजिकै भुईंमा एउटा प्लेट राखिदिन थालेकी थिएँ। 

केही पछि च्याउँच्याउँ चिउँचिउँ सुनिन थाल्यो गुँडमा। रुपीको बच्चा जन्मिएछ। आमा रुपी र बाबा रुपीको दौडधुप कम्ता थिएन।  छेस्काछेस्की र सिन्का बेसिनमा खस्ने पीरभन्दा म उनीहरुको दौडधुपमा रमाउन थालेँ। प्लेटमा भात सँधै नै थियो उसैगरी। भक्तपुरमा अविरल पानी परेर हनुमन्ते खोलामा बाढी आएकै दिन गुँडबाट एउटा रुपीको बच्चा भुँइमा फ्यात्त खस्यो। आमा र बाबा रुपी च्याच्या चुचुँ गर्न थाले। भर्खर भर्खर रौं उम्रिन थालेको त्यो सानो रुपीको बच्चालाई दौडिँदै आएर कुकुरले कर्याप्प चेपेर कुद्यो। आमा र बाबा रुपी कल्याङ्मल्याङ गर्न थाले। मलाई पनि के गरौं कसो गरौं भयो। रुपीको बच्चा कुकुरको पञ्जामा पर्यो, पँखेटामा प्वाँख नपलाइकनै त्यो बच्चो मर्यो। रुपीले जोगाउन सकेन। न मैले नै मद्दतमा केही गर्न सकेँ। 

केही दिन रुपीको गुँडमा शान्ति छायो। म चुपचाप त्यता हेरिरहन्थेँ। केही दिनपछि गुँडबाट पँखेटा हल्लाउँदै अर्को सानो बच्चोलाई लिएर आमा र बाबा रुपी बाहिर निस्के। उनीहरु त्यो सानो बच्चालाई उड्ने तालीम दिँदै थिए। उनीहरु बडो जतनले बच्चालाई उडाउँथे। बच्चो उड्दै भुँइसम्म झर्न नपाउँदै आमा रुपीले बच्चोलाई तानेर फूलको झ्याङतिर लान्थी। मैले मेरो छोरालाई सडकमा हिँड्दै गर्दा जोगाउन च्याप्प समाएर आफूतिर तानेजस्तै गरी उ पनि आफ्नो बच्चालाई पखेँटाले धपाउँदै झाडीतिर तान्थी, सायद कुकुरबाट जोगाउन।  

आमा र बाबा रुपी दुवैले बडो जतनका साथ त्यो बच्चोलाई उड्न सिकाइरहेका थिए। गुँडमा कतिवटा बच्चा थिए, मैले देखिन। तर, त्यसअघि एउटा बच्चा मेरो आँखा अघि नै खसेर मरेको थियो। यो बच्चा उड्न थालेकोमा म खुशी थिएँ। भक्तपुर दोस्रोपटक पानीले जलमग्न थियो। म लुगा सुकाउन छतमा गएकी थिएँ। यो के! छतमा लछप्प पानीले भिजेको एउटा रुपीको बच्चो कोल्टे परेर तन्किएको थियो। थाहा छैन त्यो रुपीको बच्चो कसरी छतमा पुग्यो कसरी मर्यो! छतमा लुगा सुकाउन गएकी म पानीले रुझुन्जेल छतमै बसेँ। नजाने आमा र बाबा रुपी कहाँ के गर्दै थिए....

अनि त्यसकै भोलिपल्ट भक्तपुरमै कहालीलाग्दो गरी माटोमा गाडिएको अवस्थामा ११ वर्षका बच्चाको शब भेटियो। तस्वीरमा अर्जेन्टिनाको जर्सी लगाएको बच्चा हिलोमा घोप्टो परेको थियो। समाचारले भन्यो - काठमाडौंको काँडाघारीबाट अपहरण परेका ११ वर्षका निशान खड्काको शव थिमिमा फेला परेको छ। 

त्यति नै बेला भक्तपुरकै एउटा चौरमा अर्जेन्टिनाकै जर्सी लगाएर फुटबल खेलिरहने मेरा दुई छोराहरु आँखामा झल्झली आए। ए अपराधी! पैसाको लागि अर्काको सन्तान चटक्क चुँडेर लान सक्नेहरुको मुटु के ले बनेको हुन्छ हँ? छोराहरु कहाँ के गर्दै होलान्! अब मन त्यता मोडियो।  अपहरणका समाचार पढेपछि हरेक आमाबुवाको मनमा यहि प्रश्न उठ्छ, मेरो बच्चा यतिबेला कहाँ होला?

आज बिहानै घरबाट निस्कँदा सानो छोरालाई भने –‘बाहिर खेल्न नजानु ल!’ घरमा टिभी र ल्यापटपमा अल्झिनुभन्दा बाहिर खेल्न जाउ भन्ने म आज उसलाई भनिरहेकी छु, ‘बाबु घरबाहिर नजानु ल!’

उसले अचम्म मानेर सोध्यो, किन? स्वाभाविक हो उसले प्रश्न गर्नु। बाबु चौरमा सर्प हुन्छ आजकल। हिजो पनि एउटा बच्चालाई टोकेछ। तिमीहरुलाई पनि टोक्ला नजानु ल! मैले उसलाई ढाँटेर यसो भने। कसरी भन्नु तिमीजस्ता साना बच्चाहरुलाई अपहरण गरेर लैजानेहरु बाहिर हुनसक्छन् भनेर। बरु सर्पको डर देखाइदिएँ। तर, हामीलाई सर्पलेभन्दा धेरै त्रसित बनाइरहेका छन् अपहरणकारीले। सर्पले भन्दा धेरै बिषालु गरी डसिरहेछ यस्ता घटनाले। 

बच्चाहरुलाई घरभित्रै कैद गरेर राख्न सम्भव छ र? तर, जबजब अपहरणका समाचार आउन थाल्छ मनले भन्छ, होइन यिनीहरुलाई घरबाट बाहिर जान दिनै हुँदैन। अब हाम्रा बच्चाहरुले खुला चौरमा खेल्नु हुँदैन। चकलेट किन्न नजिकैको पसलमा जानु हुँदैन। यिनीहरुले छिमेकका साथीहरुसँग साइकिल कुदाउँदै पर पर पुग्नु पनि हुँदैन। आँखाबाट ओझेल हुने गरी मेरा बच्चाहरु कतै जानु हुँदैन। 

तर, के यही हो त समाधान? हामीले आफ्ना सन्तानलाई ‘के’ बाट अनि ‘को-को’ बाट जोगाउनु! अपराधी ‘को’ मात्रै होलान् वा ‘को’ चाहीँ नहोलान्? आफ्नै निकट भनिएकाहरुबाट अपहरित भएका बालकहरु छन्। कल्पनासम्म नगरेका ब्यक्तिले पैसाको लोभमा बच्चाहरुको ज्यान लिन थालेका छन्। अब भनौं त हाम्रा नानीहरु कहाँ र कोबाट चाहिँ सुरक्षित छन्? 

बिहान घरबाट निस्केका बच्चा बेलुकी स्कुलबाट सकुशल घर फर्किएलान् नफर्किएलान्। घरमा आएपछि एकैछिन खेल्न जान्छु है भनेर गएका बच्चा झमक्क साँझ पर्दासम्म घर फिर्लान् नफिर्लान्। के के मात्रै सोच्नु? कति त्रस्त र भयावह मनस्थितिमा छौं हामी? 

त्यो रुपी चरोलाई आफ्नो बच्चा उड्न सक्ने बनाउनु जतिकै सारो छ हामीलाई पनि हाम्रा नानीहरु जोगाउनु। रुपीका बच्चाहरु अनायसै मारिए, रुपीले जोगाउन सकेन। तर, हामीले त जसरी पनि जोगाउनुपर्छ, सक्नैपर्छ। 

निशानको अपहरण र हत्या गर्नेहरु मारिए। निशानलाई जिवित फर्काउन नसके पनि उसका हत्याराहरु मारिए। सन्तोक लिने यौटा पाटो बन्नसक्छ। प्रहरीले इन्काउन्टरका नाममा मान्छे मार्न हुन्छ/हुँदैन सवाल जवाफ सुरु भइसकेको छ। मेरो मथिंगल भने छोराको यौटै प्रश्नले हल्लाइरहेको छ – भावना, हामी कहिलेसम्म बाहिर खेल्न नजाने? भन्नुस् त म यसको के उत्तर दिउँ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट