PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आँशुको व्यापार : प्रसंग पुजा र मेनकाको


देबकी बिष्ट/पहिलोपोस्ट

आँशुको व्यापार : प्रसंग पुजा र मेनकाको
  • देबकी बिष्ट -
एका बिहानै मलाइ फोन आयो। उसको (बोलाउने नाम) अनि पुजा (चिन्ने नाम) तिम्रो सम्पर्कमा छ? 

किन? के भो?

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले विस्तार लगाइन्- घटनाक्रम। 
म झसङ्ग भएँ। 

पुजा सुदूर पश्चिमकी थिइन्। त्यसैका कारण हुनुपर्छ मेनुकाले एक किसिमको अपनत्व देखेका कारण मलाइ फोन गरेकी थिइन्। म सन्चो नभएका कारण केही दिनदेखि घरमै आराम गरिरहेकी थिएँ। 

मैले पुजालाई फोन गरेँ। अफ थियो मोबाइल। उनलाई अर्को दिन अनलाइन देखेँ। उनीसँग सोधेँ - के भएको हो? कता तिमी? 
उनले मेसेज हेरिन् तर जवाफ दिइनन्। मेसेन्जरबाट फोन गरेँ, उठाइनन्। त्यसबीच विभिन्नखाले समाचार आइरहे। 

पुजा बोहोराको बारेमा यस्तो न्यूज आइरहेको छ भनेर कान्तिपुरका जनक, गोरखापत्रका देवेन्द्र दाइदेखि धेरै साथीहरुले सोधेँ। यस्ता धेरै कुरा थिए, जुन बोले पनि प्रमाणित गर्न सकिँदैन, तर थाहा हुन्छ। म अस्वस्थ हुँदा नि प्रमाण खोज्ने कोसिस गरे। पुजा बोहोरा यतिखेर आफ्नो आनीबानी थाहा पाएकाभन्दा नयाँ नयाँ व्यक्तिहरुको सम्पर्कमा थिइन्।

आज म जे लेखिरहेकी छु, रक्षा नेपालको बचाउ गर्न वा पुजाको पक्ष वा विपक्षको विषय होइन। पत्रकारिता गर्नेक्रममा मैले पुजा बोहोरा (सामुहिक बलात्कारको शिकार भएकी चेली) र पुजा कार्की (हजुर बुबा र बुबाबाट) बलात्कारमा परेकी बारे धेरै पटक लेखेकी छु र बोलेको पनि। मैले यी दुईपात्र रक्षा नेपालमा पुगेपछि पनि प्रत्यक्ष, अप्रत्यक्ष निगरानी गरिरहेकी थिएँ। अहिले जे लेखिरहेकी छु - सबै देखेर, भोगेरमात्रै। 

६ वर्ष अगाडि म सौर्य दैनिकमा थिएँ। २०६८ साल चैत्रमा पुजा बोहोरा सामुहिक बलात्कारमा परिन्। जब उनी केही निको भइन् ‘अक्कुपाइ बालुवाटार’ अभियान चलिरहँदा प्रधानमन्त्री निवास अगाडि ‘बलत्कारीलाई फाँसी दे! सरकार’ भन्दै चिच्याइरहेकी हुन्थिन्। त्यो बेला पुजा बोहोराको समाचार सहितको तस्बिर छापियो। २०७१ सालको पुजा कार्कीको रेक्यूदेखिको खबर ‘हिमाल’मा प्रकाशित समाचारले उसका बुबालाई १७ वर्ष जेल सजाय दिलायो। हजुरबुबाले बद्नामको डरले आत्महत्या गरे। 

पत्रकारिता गर्नेक्रममै बलात्कृत युवतीको समाचारले “पुजा” अभियान नै चलेको थियो। मैले समाचार लेख्दा पुजा कार्कीकै सहमतिमा उनको वास्तविक नाम थाहा भए पनि ‘पुजा’ नाम नै सार्वजनिक भएको थियो । ‘पुजा पुजिनु पर्ने थियो। तर, लुटिइन्। र, मरेर बाँचेका पुजाहरु’ भनेर नै समाचार लेखेकी थिएँ। जे होस् पुजा बोहोरा वा पुजा नाम र उनीहरुका केस चर्चामा थिए। अझ भन्ने हो भने पुजा बोहोराको केसलाई राजधानीका ठूला संचारमाध्यमले समेत साथ दिएको थियो। 

यो ७ वर्षको अन्तरालमा पुजा बोहोरा र कार्कीलाई हेर्दा एक किसिमको उर्जा आउँथ्यो। लाग्थ्यो, यी दुई जना मरेर बाँचेका अरु पुजाहरुका लागि प्रेरक पात्र हुन सक्छन्। त्यही भएर मैले केही वास्तविक नामका पुजा (बलत्कृत)हरुमाथि वृत्तचित्र बनाउने निधो गरेँ। 

पटक-पटक म जानकारीसहित र बिना जानकारी यी दुई पात्रको बारेमा बुझ्न रक्षा नेपाल गइरहेँ। म दुवै पुजालाई नियालेर हेर्थेँ। पुजा बोहोरा मानसिक रुपले विक्षिप्त थिइन् भने पुजा कार्की शारिरीक रुपले र केही हद मानसिक रुपले पनि विक्षिप्त किशोरी। 

बुबा र हजुर बुबाबाट पटक-पटक बलत्कृत हुँदा कार्कीको पाठेघरमा असर पुगेको थियो। महिनावारी हुँदा रगताम्य भई मुर्छा पर्थिन् र अल्सर समेत भएको थियो उनलाई। यस्ता धेरै पीडाका बीचमा हाँस्ने र आफूजस्तै अरु बलात्कृत र यौन हिंसामा परेका साना भाइबहिनीहरुको ख्याल राख्ने गरेको मैले देखेकी थिएँ। तर, बोहोरालाई कहिले पनि त्यस्तो देखिन। उनको आफ्नै शुर हुन्थ्यो। उनी आफूलाई ठूलो ठान्थिन्। 
‘माइ दिज्जु, ढोग दिया’ भनेर शुरु हुन्थ्यो उनको र मेरो कुराकानी।  दिज्यु भनेर आउँथिन्। हास्थिन्। म सोध्थेँ - तिमीलाइ केही अप्ठ्यारो छ कि? 

छैन भन्थिन्। 

एक दिन उनले मेरोजस्तै जुत्ता मागिन्। तर, मैले उनका लागि त्यो जुत्ता किन्न सकिन। मसँग कलम र क्यामेरा थियो। त्यसैमार्फत् उनीहरुका लागि सकेको सहयोग गरिरहेकी थिएँ, पैसाको होइन। 

पुजा बोहोरा जब ६ महिना एकदमै नराम्रो अवस्थामा थिइन्। नर्स रश्मी रैखोला (हाल अस्ट्रे लिया)ले डोटेली भाषालाई नेपालीमा उल्था गर्थिन् र औषधी खुवाउने गर्थिन्। एक किसिमले मानसिक सन्तुलन गुमाइसकेकी। बोहोरा त्यो समयमा लुगा फुकालेर हिड्थिन्। पटक पटक महिनावारी हुँदा संस्थामा रहेकी मुना (बलत्कृत किशोरी) र रेणु रातभर उसलाइ कुरेर बस्थ्ये। मुनाले बोहोरा महिनावारी हुँदा धेरै पटक रगतले लतपतिएको पेन्टीदेखि सबै लुगा धोएको रश्मीले अष्ट्रेलियाबाट मलाई बताइन्। संस्थामा बस्ने सबैले उनको स्याहार सुसार गरे। मेनुकालाई पनि संस्थागत, राजनीतिक दवाव र बोहोराको स्वास्थ्यको चुनौती त्यत्तिकै थियो। पछि विस्तारै बोहोरा निको हुँदै गइन्। त्यसलाई उनका परिवारका सदस्य देखि काका कमल बोहोरा अहिले पनि चमत्कार ठान्छन्। र, मेनुकालाई त्यसको श्रेय दिन्छन्। 

पुजा बोहोराले रगतको पेन्टी धोएको सन्दर्भ निकाल्दा मलाई सोध्न मन लागिरहेको छ - बहिनी पुजा, मुनाले पनि तिम्रो त्यसैगरी धोएकी थिइन् त। तर, उनले कहिले भनिनन् - मैले पेन्टी धोएँ भनेर। उनले घरको परिवार सम्झेर जहिले तिमीलाइ माया गरिरहिन्। तर, तिमी उनले बनाएको खाना खान पनि मान्दिनौ थियौ। ‘तै डुमुनीको बनायो नाइखानी हुँ,’ भन्थ्यौं। 

मलाई रक्षा नेपालकी अध्यक्ष मेनुकाले ६ महिना अघि बोलाएर तिम्रो पश्चिमको बहिनीलाई सम्झाइदेउ भनेकी थिइन्। दुई दिनदेखि खाना खाएकी रहिनछिन्। ६ वर्षकी मुक्ता र ८ वर्षको भएपनि ४ वर्षे लाग्ने मोहित दुवैप्रति पुजा आक्रमक थिइन्। दुवैलाई पिट्थिन् भन्ने त्यही थाहा पाएँ। पुजा एकदमै आक्रामक बन्दै थिइन्।
 
पुजा बोहोराको अधिवक्ता बन्ने धोको थियो। सरकारी कलेजमा नाम निकाल्न नसक्दा उनलाइ विभिन्न जोहो गरेर बिजुली बजारको ल क्याम्पसमा भर्ना गरेको सन्दर्भ मैले थाहा पाएकी थिएँ। पहिलो वर्ष रक्षा नेपालमै बसेर पढिन्। तर, फेल भइन्। साउनमा दोस्रो वर्षको परीक्षा छ। एक वर्षअघि रक्षा नेपालको अवास गृह मातातीर्थमा सारियो। त्यसपछि बोहोरा र कार्कीलाइ कलेज टाढा हुने भयो। तर, पुजा बोहोरा/कार्की र अरु केही बालबालिका मेनुकासँगै लैनचौर अफिसमै बसे। 

मैले उनलाई सम्झाएँ। तर, उनको मनमा एक किसिमको घमण्ड र आक्रामक व्यवहार पनि देखेँ। त्यो सबै देख्दा पनि मलाई पुजाको मायालु मुहारले आफ्नोपनको झझल्को दिइरहन्थ्यो। उनले भनिन् – ‘दिज्जु मलाई त कसैको एउटा कुरा नि सहने बानी छैन। घरमा नि यस्तै हो। म त मिडियामा नि आइसकेको मान्छे।‘ 

म छक्क परेँ। किन मिडियाप्रति यस्तो क्रेज? सम्झाएपछि उनले खाना खाइन्। मुनाले पनि रीस उठ्दा एक थप्पड हिर्काएको स्वीकारिन्। सामान्य रहेछ घटना। समाचारमा आए जस्तै पुजा बोहोराले पुजा कार्कीको नाम खोलेकी छिन्। वास्तवमा तिनीसँगै कार्कीको एक किसिमको प्रतिस्पर्धा थियो। 

एक अर्कामा प्रतिस्पर्धा हुनु राम्रो हो, तर नकारात्मक प्रतिस्पर्धाले दुर्घटना निम्त्याउँछ। पुजा कार्कीको व्यक्तिगत व्यवहारले उसलाई असुरक्षित महसुस गराइरहेको हुनुपर्छ। यी दुवैलाई लामो अन्तरालसम्म नजिकबाट नियालेकै आधारमा मेरो निश्कर्ष यस्तो निस्केको हो। 

पुजा बोहोरा पटक पटक मनोपरामर्शदाता करूणा कुँवरकोमा जाने गरेको मलाइ जानकारी थियो। बीचमा औषधिको पनि नियमित सेवन गर्थिन्। पछिल्लो समयमा उनले औषधि सेवन छोडेकी थिइन्। 

नयाँ बानेश्वरको होस्टेलमा बस्दा उनी रातीको १२ बजेसम्म पनि कहिले काहिँ अनलाइन हुन्थिन्। फेसबुकमा उनका हाउभाउ दिन प्रतिदिन बद्लिँदो थियो। उनी दोस्रो वर्षमा फेल भइन् तर फेसबुकमा पास भएको स्ट्यास राखिन्। केही दिनपछि मैले थाहा पाएँ उनी फेल भएको। 

यहीबाट अर्को द्वन्द्व शुरु भयो। मार्कसिट आएपछि कलेजमा सबैले थाहा पाए। होस्टेलमा पनि। साथीहरुले जिस्क्याउन थाले। त्यही विषयमा उनले आफ्नै साथीहरुलाई पिटेको कुरा रक्षा नेपालमा पुग्यो। उनी तेक्वान्दो खेलाडी पनि हुन्। 

नयाँ बानेश्वरकी होस्टेल निर्देशक रूपाली गुरागाईँलाइ उनले फोन गरेर रिपोर्टस क्लवमा रक्षा नेपालविरूद्ध बोल्नका लागि बोलाइन्। 
‘नानी तिमी यस्तो नगर। तिम्रै जीवन बर्बाद हुन्छ,‘ गुरागाईँले सम्झाइन्। रुपाली उनले भनेअनुसार गइनन्। रुपाली र उनका छात्रा बोहोराको व्यवहारबाट आजित थिए। रूपाली गुरागाईँ भन्छिन्, ‘तपाईँ बोल्नका लागि आउनुस् नत्र भने भोलि तपाईँलाई ठीक हुनेछैन। सडकमा पुग्नुहुन्छ।’ 

रुपालीले छक्क पर्दै यो कुरा मलाई सुनाइन्।

होस्टेलदेखि कलेजसम्म फिस तिरेको देखिएको छ। तर, उनले संचार माध्यममा फिस नतिरेको हल्ला गरिन्। एउटा सन्तानले घरमा काम बिगारेर आएपछि आमाबुबालाइ रीस उठे झै मेनुकालाई पनि यो सबै घटनाक्रमले रीस उठायो। भनिछन् – ‘जा। जे गर्छेस् गर।‘ 

‘जहाँ जान्छेस् जा’ भन्नु उनको गल्ती थियो। आगोमाथि घ्यू थपियो। म मिडियामा चिनिएको मान्छे हुँ भन्ने एक किसिमको घमण्ड बोहरामा पलाएको थियो। मेनुका विगत सम्झिँदै भनिन् ‘हरेक पटक मलाइ यसको बुबा (रामबहादुर बोहोरा)ले छोरीको अवस्था देखेर मेरो (मेनुका) खुट्टा समातेर मेरो छोरीलाई बचाउ भनेर रोएको सम्झन्थेँ। गल्ती माफ गर्थेँ। यसपटक अति भयो। गल्ती माफ गर्न सकिएन।‘ 

मैले देखेको छु - मेनुका अहिले पनि पुजाप्रति चिन्तित छिन्। उनको भविष्य वर्वाद भइरहेको छ। ‘जे उनले गरिरहेकी छिन् त्यसबाट के मिल्छ? म हिजो पनि सडकमा थिएँ। अझै पनि सडकमा जान तयार छु तर सत्यमा हिडेको छु। म डराउदिन,’ मेनुकाले सुनाइन्। 

मेनकाले अहिले पनि ६५ जना बालबालिका हेरिरहेकी छिन्। 

रक्षा नेपालमा मैले किशोरीहरुको स्वतन्त्रता देखेकी थिएँ। पुजा बोहोरा र पुजा कार्कीलाई अरुभन्दा बढी माया गरेको देखेकी थिएँ। जसरी आमालाई केही हुँदा छोरीले गर्ने कर्तव्य हुन्छ त्यस्तै गरी सबै कर्तव्य निभाउने पुजा कार्की र मुनालाई देखेकी छु। 

सायद बोहोरालाई मेनुकाको मायाको भागिदार आफूमात्र हुनुपर्छ भन्ने थियो। बोहोरा मानोचिकित्सक कपिलदेव उपाध्यायको निगरानीमा कडा खालको मानसिक औषधी सेवन गरिरहेकी थिइन्। डाक्टरले सचेत गराएका थिए - उनको आक्रामक व्यवहारले केही पनि हुनसक्छ। 

उनी बैतडीमै छँदा पनि झगडालु स्वभावकी रहेको उनका काका कमल बोहोराले उनी सम्पर्कविहीन हुँदा मलाई फोनमा भनेका थिए। नयाँ बानेश्वरको होस्टेल होस् वा बिजुली बजारको ल कलेज पढ्दा, उनी बलात्कारमा परेकी भन्ने लुकाउन परिचय फेरिएको थियो। अहिले आएर सबै खुलेको छ। जसले अब पुजा बोहोरालाई निकै असर गर्नेछ।

बोहोराले विशाल नामका किशोर खै भनेर यतिखेर मिडियाबाट सोधिरहेकी छिन्। 

मैले त्यसपछि विशाललाई खोजेँ। उनले फेसबुकमै ज्ञानु (संस्थाको नाम)मा रहेको जनाए। ‘मलाई रक्षा नेपालले कक्षा ९ सम्म बोर्डिङ स्कुलमा पढायो। एसएलसी सरकारीबाट दिँदा राम्रो हुन्छ भनेपछि मलाई अभिभावकको जिम्मा लगाए। अनि मैले रक्षा नेपालमा बस्न छाडेको हो,’ उनले मलाई भने, ‘म अहले पनि रक्षा नेपालकै सहयोगमा स्कुलमा पढिरहेकी छु।‘ 

अर्की किशोरी एन्ड्रियाको बारेमा पनि त्यस्तै सुनियो। उनलाई हजुरआमाको अभिभावकत्वमा घर पठाइएको छ। घर पठाइएका बालबालिकाको जिम्मा संस्थाले लिने त कुरा नहोला। 

यिनैका विषयमा मिडियामा आँशुको व्यापार भइरहेको छ। आँशुभन्दा पछाडि केही छ कि भनेर वास्तविकता बुझ्ने प्रयाससमेत भएको देखिन।  पत्रकार आँशुमा मात्रै डुब्ने हो भने अभिनय गर्नेहरु जति पनि भेटिन सक्छन्। 

प्रश्न धेरै छन् पूजा बोहरामाथि पनि। उनी सोझै प्रहरी आयुक्त कार्यालयमा कसरी पुगिन्? सिधै एसएसपी पूर्णचन्द्र जोशीलाइ भेट्ने आधार के थियो? उनले रिपोटर्स क्लबमा गरेको पत्रकार सम्मेलनको खर्च कसले बेहोर्यो?? कसले प्रेस विज्ञप्ति निकाल्यो? उनले कसरी संस्थाबाट बाहिर पढिरहेका वा घरमा गइसकेका बालबालिका भेटिन्? 

यतिका दिन उनी कसको घरमा बसिरहेकी छिन्? रक्षा नेपालको विरुद्ध बोल्नका लागि यति धेरै खर्च कसले गरिरहेको छ? त्यो भन्दा पनि डरलाग्दो त उनको पढाई विग्रने गरी कसले उनलाई भड्काइरहेको छ? 

यी प्रश्नहरु मनमा उब्जिरहेको छ। पुजा बोहोरासँग १ घण्टा बस्दा यी सबै कुरा थाहा हुन्छ। रिपोटर्स क्लबमा विज्ञप्ति बाचन गर्न लगाउनेहरुलाई मेरो प्रश्न छ - उनको आँशुको व्यापार गरेर कहिलेसम्म खेल्छौ? 

मेनुकाले गल्ती गरेकी छिन् - धेरै स्वतन्त्र छोडेर। धेरै माया दिएर। पुलपुलाएर। 

अहिले पनि सम्झना छ मलाई - होस्टेलमा बस्दा बोहोराले ‘दिज्जु हाम्रो डकुन्ट्री कहिले बन्छ?’ भन्दै विभिन्न व्यक्तिगत कुराहरु मसँग गरेकी थिइन्। मैले पटक पटक रक्षा नेपालकी अध्यक्ष मेनुकासँग प्रश्न पनि गर्ने गरेकी थिएँ। यस्तो अवस्थाबाट गुज्रेका किशोरीहरुलाई अवस्था बुझेर बढी स्वतन्त्रता किन दिएको? 

त्यतिखेर उनले भनेकी थिइन् - म चहन्छु छोरीहरु सबै सिकुन्। भोलि बलात्कारमा पर्दा आफ्नो सुरक्षा गर्न सकुन्। हरेक पक्षबाट सक्षम हुन् भनेर स्वतन्त्र छोडेको। 

मेनुका थापाको विगत सबैलाई थाहा छ। उनी सडकबाट आएकी हुन्। सडकमै बाँच्न पनि सक्छिन्। तर, रक्षा नेपालमा आएका बच्चाहरु सडकमा लुटिएर, बाँच्न नसकेर रक्षामा पुगेका हुन्। उनीहरु सडकमा बाँच्न सक्दैनन्। 

मलाइ मेनुका थापाको होइन, रक्षा नेपालमा हुर्किरहेका ती ६५ जना नाबालकदेखि किशोरीसम्मको चिन्ता लागेको हो। मेनुकाले गल्ती गरेको छ भने सजाय भोग्नु नै पर्छ। मलाई चिन्ता लागेको छ रोर्वट बनेर चलिरहेकी पुजा बोहोराको। भोलि ऊ सडकमा पुगेपछि कसैले हेर्नेछैन। उसले बुनेका सपनाहरु सबै तुहिने छन्। 

धेरैलाई लाग्ला यसले धेरै जान्ने बनेर लेखेकी छे। तर, मैले सिकेको पत्रकारिता अनुसार म सबै प्रमाण सहित आज लेखिरहेकी छु। तपाईँहरु भन्दा पुजा बोहोराको चिन्ता सबै हिसाबले मलाई पनि छ। तर यसको उपाय आँशुको व्यापारमात्र होइन। पुजा बोहोरा सत्य होस् वा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा त्यो ढिलोचाडो बाहिर आउँछ नै। सायद, म पनि वृत्तचित्रको क्रममा रक्षा नेपालमा जाने आउने नभएको भए तपाईँहरु जस्तै समाचारमा आँशुको व्यापार एकहोरो गर्थे होला। समाचार संकलनमा आँशु बगाएर बस्थेँ होला। तर, मैले धेरै ठूलो पाठ सिकेकी छु - दिलशोभा श्रेष्ठको केस, कंचन रेग्मीको केसबाट। आज पुनः बुझेर लेखेकी छु।

(लेखक पत्रकार तथा डकुमेन्ट्री मेकर हुन्। उनको डकुमेन्ट्री 'इन सर्च अफ देवकी' ले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डसमेत पाएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट